Sunday, September 27, 2015

तथ्य आफै बोल्छ र पनि भारत हामीलाई सिकाउने?

दक्षिणको एउटा छिमेकीले कसै कसैलाई पम्प भरेर सकारात्मक विभेद, समाबेशी नीति र जानसान्ख्यिक प्रतिनिधि प्रणाली बारे सिकाउदै गर्दा यस्ता तथ्य भेटियो। के गर्नु र आफ्नै भाइहरु बैरी भए पछि

१. भारतको आन्ध्र प्रदेशको मल्काजगिरी लोकसभा निर्वाचन क्षेत्रमा २९,५३९१५ भोटर र अर्को निर्बाचन क्षेत्र लक्षदीपमा ४७,९७२ भोटर रहेछन। गज्जबको जनंख्याको आधार रहेछ (करिब ६२ गुणा फरक)।

२. भाजपाले जितेको २८२ सिटमा एकजना पनि मुसलमान रहेनछन जबकी १७.२२ करोड (करीब १५%) मुस्लिम जनसंख्या रहेछ।

३. लोकसभामा ५४३ निर्वाचित सदस्य मध्ये ६६ जना मात्र महिला(१२.१%) रहेछन। ३३ नै कहिले पुर्याउने ४८.५ प्रतिसत (महिला जनसंख्या) त कहिले हो कहिले ।

४. उत्तर प्रदेशको मुस्लिम जनसंख्या ३.८४ करोड (१९.३%) रहेछ, तर त्यहाँबाट लोकसभामा चुनिएर गएका ८० जनप्रतिनिधीमा एकजना पनि मुसलमान रहेनछन।

५. उत्तर प्रदेशबाट निर्बाचित ८० लोकसभा सदस्यमा ७१ सिट जितेको भारतीय जनता पार्टीबाट एकजना पनि मुस्लिम छैनन् किन थाहा छ? भाजपाले एकजना मुसलमानलाई पनि टिकट दिएको रहेनछ।

६. गत लोकसभा निर्बाचनमा देशभरिबाट तेस्रो ठूलो मत(२.२८ करोड)पाएको दलित समुदायको प्रतिनिधित्व गर्ने बहुजन समाज पार्टीले एक सिट पनि जितेको रहेनछ। (हाम्रा कमल काइसाबको हेरम त यता)।

मान गया प्रभु!! आपका चरण छुनेको मन कर रहा हे।

तर यहाँ भुल्न नै नहुने कुरा चै के छ भने नि समय भन्दा बलवान केही छैन। यसले मान्छेलाई नराम्रोसंग चिनाउछ हेर्नुस।अहिले भारतको अघोषित नाकाबन्दीमा सहयोगी भुमिका निर्बाह गर्ने मधेसी हुन भनेर चिच्याउनेहरुले २०४५ सालमा भारतले नाकाबन्दी गरोस भनेर चाहने को थिए भनेर नि संगै भन्दिए चित्र कति सुन्दर र सपाट हुन्थ्यो होला।र यो पनि भन्दिए हुने कि अहिलेको यो परिणाम आउनुमा प्रदेश सिमान्कनमा देउबा,रावल र डाक्टर खडग पर्सादको सानो चित्तले कति काम गरेको छ।
अहिले त बोल्न नि हुन्न,तर्कले नसके पछि घण्टा जस्तो भन्दियो । भैगो ।

जति भने नि क्यार्नु ? यो राष्ट्रियता र रास्ट्रवादको कुरा पडो। ऋतिक कान्डमा त उर्लेको,अहिले त झन नउर्लिने कुरै छैन नि हैन?


अस्तु!!!

संबिधानमा नागरिकता प्राबधान र रडाको

नेपालको संबिधानमा नागरिकता प्राबधानलाई लिएर अहिले २ वटा कोणबाट असन्तोष र आक्रमण भएको छ। महिलाबादी र मधेश बादीबाट। के रहेछ त भनेर मैले नि अलि मजैले हेरें। थापा थरकी एकजना उपबुज्रुकले केनाडामा बसेर "रेकर्ड नेपाल" मा छपाएको " किन जलाएँ मैले संबिधान" भन्ने एउटा लिखोट पनि हेरें। लिखोटमा यो प्राबधानले यसो असर गर्छ भन्ने भन्दा पनि, पितृसत्ता,पुरुषबादी सोच,हिन्दु धर्म,मनुस्मृति,पुरुष राष्ट्रबादी सोच जस्ता शब्द राखेर एउटा आदर्शबादी बुद्दीविलास गरिएको रहेछ। करीब त्यस्तै कुरा मधेसीहरुको पनि छ। थप एउटा शब्द थपे पुग्छ "पहाडे खस अहंकारी महेन्द्रबादी राष्ट्रियता। त्यो भनेको चै के हो भनेर मलाई थाहा नसोध्नु होला। यही बिषयमा मेरो प्रश्न नि :

१. संविधानको कुन धाराको कुन प्राबधानको कारणले कुनै पनि पुरुष वा महिलाले आफ्ना सन्तानलाई नागरिकता दिन सक्दैन? 

२. अहिले नागरकिताको प्रकार बंशज,जन्म र अंगिकृत छ। के सबैको प्रकार एउटै बनाउन पर्ने हो र अधिकार पनि एउटै दिन पर्ने हो? बर्गिकरणको कुन कुराले कहाँनिर विभेद भयो? अपबादका कुरा छाडेर यहाँ भुल्न नहुने कुरा के हो भने हामी छोरी ज्वाइको घर जाँदा र छोराले बुहारी ल्याउने सस्कार र चलनमा रमाउछौ । 

३. बंशजका,जन्म र अंगिकृत नागरिकका अधिकारमा केही समय फरक हुन्छ भन्ने मान्ने हो भने के के मा फरक गर्ने त त्यो ?

४. कुनै महिला वा पुरुषले औंलाले देखाएर यो मेरो सन्तान हो भने जति सबैलाई नागरिकता दिन पर्ने प्राबधान हुन पर्ने हो कि अरु केही शर्तहरु पनि लागु हुन पर्छ?

५. अपवादलाई छाडेर सन्तान बाउ आमा दुवैका उपज हुन् भन्ने कुरालाई आधार मान्ने कि नमान्ने?

६. यदि मान्ने हो भने बाउ या आमा मात्रै उपस्थित भएर सन्तान मेरो भन्ने दाबी गर्दा अर्को पक्ष (बाउ या आमा) को हो भनेर राज्यले सोध्न पाउने कि नपाउने?

७. कुनै महिलाबाट मात्रै सन्तान जन्मेछ वा रहरले जन्माईएको रहेछ भने पनि, र बाउ थाहा छ/भन्न मन लागेको छ भने भन्न, वा थाहा नभए छैन भनेर नागरिकता लिन दिप्ती गुरुङका सन्तान जस्तालाई अहिलेको संबिधानको कुन प्राबधानले रोक्नेछ?

८. बंसजको आधारमा मात्रै देशका बिशिस्ट भनिएका पदहरुमा नियुक्ति पाउने व्यवस्थाले कसरी मधेशीहरुको,जनजातिको,थारुहरुको अधिकार खोस्यो त?जो आफु यहाँ सदियौ बर्षदेखि बसोबास गरिरहेका भूमिपुत्र र आदिबासी ठान्छन।

कसैले बुझाई दिए आभारी हुने थिएँ।

अस्तु!!!!!

Tuesday, September 22, 2015

यो कस्तो स्वाभिमान/अभिमान हो?

आमाको नामबाट नागरिकता पाउनु पर्छ भन्नका लागि तयार पारिएको सत्य घटनामा आधरित कथा। कथा यस प्रकार छ। 


एउटी केटीको एउटा केटासंग (ख्याल गर्नुस है,केटाको केटीसंग हैन नि) लब पर्छ (यो अहिलेको कथा हैन त्यही भएर लब चै केटा केटीकै होनि)। केटीको गर्भ बस्छ (लभ परेर मात्र चै गर्भ बसेको हैन नि फेरी)। केटाले नचाहे पनि १८-२० बर्खको उमेरमा बिहे गर्न( बिहे त के भन्नु भगाउन) बाध्य हुन्छ। केटाको परिवारले स्विकार्दैनन। केटाले अन्तै कतै राख्छ। केटोले यसो विचार गर्छ अहिले नै जन्मायो भने त पालन पोषण गर्न हम्मे पर्छ बा। लु केटा गर्भ फाल्न लगा। केटो केटीलाई गर्भ फाल्न कर गर्छ। केटी मरिगए मान्दिन/फाल्दिन। केटोलाई मन पर्दैन। केटोलाई रिस उठ्छ र फरार हुन्छ। केटीले छोरीलाई जन्म दिन्छे,दुख सुख पाल्छे । 

अलि बर्ख पछि केटो निहुर मुन्टि न हुदै आइ पुग्छ र केटी संग ख गर्दै भन्छ: हेर प्यारी!!गल्ती भो, मलाई माफ गर। केटीको मन न हो,पग्लिन्छ र माफ गरीदिन्छे । फेरी गर्भ बस्छ (यसपाली नि कसरी बस्यो चै नसोध्नु ल)। अर्की पनि छोरी नै जन्मिन्छे । 

एक दिन केटीले पत्ता लगाउछे कि केटोले पहिला गायब हुदा त मोही खाने ठाउ अर्को नि बनाएको रैछ। केटी केरकार गर्छे। 
केटो लास्यांग लुसुंग गरेर कुरो चपाउन खोज्छ । हुदै हो थ्यो, ढाटेर के हुन्थ्यो। केटीले किक हानेर गुडबाट निकाली दिन्छे । केटीका लागि केटो सधैका लागि सिन बाट नै गायब हुन्छ। मरेको छैन तर यही संसारमा कतै अरु कसैको मोही खादै बसेको छ ।

यता केटीका छोरीहरु बढ्दै गए पछि नागरकिता बनाउन पर्ने हुन्छ। यही बिचमा कानुन परिबर्तन भएर आमाको नामबाट पनि नागरिकता बनाउन सकिने कानुन बनी सक्छ ।

खुसी हुदै आमा नागरिकता बनाउन अफिस जान्छे।

सरकारी अधिकारी:आमा त तपाइँ, बाउ खोइ?
आमा: उत्तर छैन।
सरकारी अधिकारी: बाउ नभएको कि पहिचान नभएको?
आमा: उत्तर छैन।
सरकारी अधिकारी: आमाको नामबाट नागरिकता बन्छ। समस्या छैन। सन्तानमा दुबैको हक लाग्छ। त्यसैले तपाइले कि बाउको पहिचान भएको छैन भन्न पर्यो, पहिचान छ भए यो हो बाउ भनेर भन्दिए मात्रै मात्रै पुग्छ। हामी घिच्याएर ल्याउछौ। चाहेमा नाता कायम गरिदिन्छौ। समस्या हो भन्ने लाग्छ भने समाधान गरी दिन्छौ।
आमा: मलाई अरु थाहा छैन। मेरा छोरीहरुको नागरिकता मेरो नामबाट बन्न पर्यो ।
सरकारी अधिकारी: फेरी पनि भन्छु, बन्छ। समस्या नै छैन। सन्तान बाउ आमा दुबैका उपज हुन्। त्यसैले कि बाउ पहिचान/थाहा छैन भन्न पर्यो, कि बाउ यो हो भनेर देखाउन पर्यो। बाकी काम हाम्रो भो।
आमा: म अरु (बाउको) उत्तर किन दिउ? यी मेरा छोरी हुन्। मैले (हामीले हैन है,बुझी राखम) पाएँ /जन्माएँ। मैले हुर्काएं। यिनले मेरो नामबाट नागरिकता पाउन पर्यो। मलाई यत्ति थाहा छ।

अरे बाबा!! यिनलाई नि सन्तान चाहिने, तिनलाई नागरिकता पनि बनाउन पर्ने (चाहियो पनि), अनि बाउ थाहा भए छ भन्न वा थाहा नभए छैन भन्न किन नहुने ? कि फुतुफुतु झर्ने हुन् तुन्तुरोबाट आफै।
यो कस्तो स्वाभिमान हो? कि अभिमान हो? कि आमाले मात्रै यी मेरा सन्तान हुन् भनेर औल्याए जति सबैलाई राज्यले नागरिकता भन्ने खोस्टो दिन पर्ने हो?

मेरो भेजामा घुसेको भए मार्दिनु ल !!


अस्तु!!

Wednesday, May 27, 2015

सेल्फी, अवसर र बिस्मात

  • ..................................................................................................................... बागमती सफाई अभियानको त्यत्रो लाssssssssssssssssमो लाइनमा बसेर एउटा सेल्फी लिन नि पाइन त्यत्रो महाभूकम्प गयो दुइ चार पोका चाउ चाउ,चामल र त्रिपाल बाडेको सेल्फी नि खिच्न पाइन
    यत्रो बिपतीलाई अवसरमा बदल्नको लागि त्रिपाल बेचेर हजार कमाउन नि पाइन अझ सरकारी कर्मचारी भर नि त्रिपाल कमिसनको अवसर नि पाइन एउटा डियसलार लिएर मान्छेको विपतको पीडाको व्यापार गर्ने अवसर थ्यो त्यो नि खुलित भयो
    अझै पुनर्निमाण गर्ने भन्दै जिम्मेवारीको लडाई हुदै गर्दा एउटा न एउटा अवसर त आउथो होला एउटा न एउटा स्वार्थ त पुरा हुन्तो होला त्यो पनि गुम्ने भो सेल्फी त गुमो गुमो मेरो सम्पूर्ण अवसर नि गुम्ने भो सार्है बिस्मात भो हजुर नहुनु हुने भो tongue emoticon

Saturday, March 28, 2015

आरोहको पहिलो बार्षिक जन्मदिन मनाउदा

 तारिखको हिसाबले छोरो आरोहको जन्मदिन आज। गतेको हिसाबले जन्मेको भन्दा १ दिन बढी भैसकेछ ।तिथिको हिसाबले चैत्र ४ गते अर्थात मार्च १८,आज भन्दा १० दिन अगाडी नै हुन पर्ने । थाहा छैन कुन हिसाबले गणना गर्ने हो। तर सबैको चलन यही छ कि तारिखको हिसाबले नै गणना गर्ने र जन्म दिन मनाउने।

उसो त यो जन्म दिन मनाउने नै किन? भन्नेमा मलाई खास कारण नै थाहा छैन । आजका दिन सम्म सकुसल बाँचियो भनेर हो कि वा एक बर्ष मृत्युको नजिक पुगिएर यो सांसारिक दुखबाट चाडै मुक्ति मिल्ने भएर हो कि वा अरु नै कुनै खास कारण छन् । मलाई कारण खास थाहा भएन । यद्दपी मेरो अनुमानमा जन्म दिन मनाउनु भनेको
१. आफु खुशी हुन वा खुसी हुन बहाना खोज्न।
२. आफ्नो जन्मको कारणले अरुलाई खुसी दिन ।
३. जन्म दिन मनाईएको कारणले अरुलाई खुशी हुन ।

खासमा भन्नुपर्दा मलाई यो जन्म दिन मनाउने कुरा मलाई त्यति मन पर्दैन । एउटा खास उमेर बाहेक अरु कसैलाई पनि उति रमाइलो होला जस्तो लाग्दैन । उसै पनि यो खुसी भएर मनाउनु पर्ने नै किन हो अहिलेसम्म मैले बुझेको छैन । मैले खास उमेर किन भनेको हो भने कि एउटा उमेर आउछ रमाइलो गरौँ,साथी भाई होउन,सबैले मजाक गरुन,भेला हुन्,आफना नातागोताले सम्झिउन,अलिकति भए पनि गिफ्ट आओस भन्ने । हो त्यो उमेरमा जन्म दिन मनाउनुको मजा अलि बेग्लै हुन्छ होला । अनि अर्को चरण हुन्छ बुढ्यौलीको। जुन उमेरमा आफ्नाले सम्झिउन,छोरा छोरी,नाति नातिना नजिक आइदिउन वा मेरा पनि आफन्त छन् भन्ने एउटा अनुभूति होस्। अनि त्यसले जीवनमा उर्जा र सन्तोष दुवै प्रदान गरोस । यो दुवै उमेरमा जन्म दिन मनाउने कुराले अलि खास महत्व राख्ला । बाँकी जीवनमा मलाई चै खासै मजा होला जस्तो लागेको छैन,कम्तीमा मेरा लागि । हुन त मेरो जीवन भोगाइमा त्यो बाँकी उमेरको रस नै बस्न सकेन होला कि त जिम्मेवारी र कर्तव्यले  जसले गर्दा यो वा त्यो बहानामा रामाउने कला नै म मा रहेन कि त। खयर त्यो अर्कै पाटो हो ।

मेरो १ बर्षे बालखा छोरोमा माथिका १ नं र २ नं  दुवै कारण लागु हुदैनन,जन्म दिन मनाउनको लागि । आफु खुसी हुने वा खुसी हुने बहाना खोज्ने उमेर  त्यसको भएकै छैन। आफुले जानेर अरुलाई खुसी दिने उमेर पनि पनि त्यसको भएको छैन । नजानीकन अबोध हाँसो वा अभिनयले अरुलाई खुसी दिन्छ वा हुन्छन भने त्यो अबोधको बशको कुरा भएन । आफैं अलि बुझ्ने वा विवेक प्रयोग गर्न सक्ने भए पछि उसले कुन कारणले जन्म दिन मनाउछ उसको मर्जी तर अहिले अब बाँकी एउटा मात्रै कारण रह्यो जन्म दिन मनाउने वा मनाई दिने, तेश्रो कारण। उसको जन्म दिन मनाएर वा मनाइदिएर अरु खुसी हुनु खास गरेर बुबा आमा । त्यसैले यहीं तेश्रो कारण खोजेर अर्थात हामी खुसी हुनका लागि उसको जन्म दिन मनाउने।

मनाउन त मनाउने तर कसरी ? मलाई खुसी दिने कुराले उसकी आमालाई खुसी नदिन नि सक्छ अक्सर दिदैन नै किनकी हाम्रो स्वभाव नै त्यस्तै छ । एक हप्ता अघि उसले सोधी छोराको जन्म दिन कसरी मनाउने ? मैले भने खै थाहा छैन । उ ठुस्की । खासमा मैले थाहा नभएर नै थाहा छैन भनेको थिएँ । तर पनि आरोहकी आमाले खास खास मान्छेलाई बोलाएर ,खाना खान दिएर, गिफ्ट लिएर/दिएर र फोटो खिचेर मनाउने विचार गरी। मैले त्यसलाई यो कारणले हुदैन  भन्ने कारण नै थिएन । कार्यक्रम स्वीकृत भयो । उसले मन लागेका मान्छेलाई बोलाई,खुवाई,फोटो खिचाई । राम्रै भो । जन्म दिन आयो गयो सक्कियो ।

यता मलाई भने यही बहानामा अर्को खुसी खोज्नु थियो।अलि अविस्मरणीय बनाउनु थियो । अलि अगाडिको घटना सम्झे ।

अलि अस्ति नै ताकाको कुरा हो । एक जना मित्रले ट्वीटरमा यस्तै आशयको ट्वीट गरेका थिए: "कुनै महिला अर्काको घरमा भाँडा माझेर छोरी पढ़ाउदी रैछन,छोरीले नर्सिंगमा नाम निकालिछन् तर पढ्नका लागि आर्थिक अभाव रेछ, कुनै उपायले सहयोग गर्न पाए कति राम्रो हुन्थ्यो" । कता कता मलाई चिसिक्क भो अनि मैले भने म अलिकति सहयोग गर्न सक्छु । म जस्तै हृदय भएका अरु २-४ जना जम्मा भएछन । ती मित्रले अगुवाई गर्नु भो र ती महिला सम्म कुरा पुग्यो । हामी जस्तै कुनै सहृदयीले भर्ना गर्ने खर्च करीब ७० हजार हो क्यारे दिएछन तर मासिक खर्चको जोहो गर्न गाह्रो भएको कुरा ती दिदीले गरिछन । हाम्लाई पनि हाम्रो गच्छे अनुसार त्यती हुँदा झन् राम्रो भयो । त्यही महीना देखी मासिक ४००० जति पालै पालो दिने सहमति भो । मेरो पालो चैत्रमा परेको थियो । सम्झेको थिए यही नै मेरो छोरोको जन्म दिनको उपहार हुनेछ । त्यही मेरो दिमागमा थ्यो । तर श्रीमतीजीले सोधेको बेला भुसुक्कै बिर्सेछु भन्न ।

अर्को घटना
यो घटना पछि तर अलि अगाडी नै यसो समाचारमा आँखा लगाउदै जाँदा यहाँनिर [ नेपालगञ्ज बसपार्कमा देखियो दारुण दृश्य (चैत्र ६ २०७१ मा प्रकासित)] गएर टक्क अडियो । मनै अमिलो भयो । केही सहयोग गर्न मन आतुर भयो । तर म यहाँ सात समुद्र पारी । के गर्ने कसो गर्ने हुदै जाँदा तिनै मित्रलाई मेसेज गरें । उनले तत्काल खबर गरे कि "त्यो खबर लेख्ने मान्छे मैले चिनेको छु, के रैछ म बुझेर खबर गर्छु" । मन अलि ढुक्क भो । अलि दिन पछि खबर आयो कि उपचार हुदैछ । अरुले पनि सहयोग गरी रहेका छन् । मैले नगद भन्दा पनि औषधी किनीदिए राम्रो भन्ने उनको सुझाव थियो । मैले भने, जे राम्रो हुन्छ म गर्छु । त्यो कुरा त्यतिकै रही रहेको थ्यो । ठ्याक्क आज मित्रले मेसेज गरेर भने "बच्चो राम्रो हुदैछ । औषधी खर्च रु १०००० जति रैछ सहयोग गर्न सक्नुहुन्छ?" मैले हत्त न पत्त हुन्छ तर कसरी भनें। मित्रले उपाय सुझाए ।

मित्रले दिएको सुझाव अनुसार आज उनलाई  करीब उनैले भने जति रकम पठाएं । सोचें पछि छोरो आफै कुरा बुझ्ने भए पछि कुन कारणले कसरी उसको जन्म दिन मनाउछ उसको मर्जी तर मैले (र उसले पनि) उसको पहिलो जन्म दिन उसकी एउटी दिदीलाई पढ्ने खर्च र एउटा दाजुको उपचारको सानो अंश पठाएर मनाएँ,मेरा लागि मेरो छोरोको जन्म दिन तेश्रो कारणले मनाएँ अर्थात् उसको जन्म दिन मनाउदा अर्को खुशी भेट्टाए । र मनमनै ती भविष्य कि नर्सको उत्तरोतर प्रगति र त्यो बालकको स्वास्थ्य लाभको कामना गरें । आशा छ मेरो आरोहसंगै ती दुबैको भविष्य सुन्दर हुनेछ ।

अँ साच्ची मलाई मागेर समाज सेवा गर्नेहरु फिटिक्कै मन पर्दैन। मेनुका थापा, जो मेरो फेसबुक साथी पनि हुन्,ले सानो तिनो माग्ने पसल थापेकी छन्। राम्रो पनि गरेकी छन् । बेला बेला फेसबुकमा कुरा हुन्छ। आज उनलाई सम्झीए। सोचें पछि आरोह जे सुकै गरोस,आज उनलाई पनि सम्झिन्छु । त्यसैले मनिग्राम गएर अर्को $२०० पठाएँ र भने यो तपाईका बच्चालाई। तर मेरो नाम कही कतै नआओस । उनले स्विकारिन। र धन्यबाद पनि दिइन। कुनै दिन आरोह आफै बुझ्ने हुनेछ र मेनुका आन्टिलाई भेट्न मन लागे भेट्नेछ।

अस्तु !!!!

पुन:
आज अर्थात चैत्र २६ गते,२०७१ (अप्रिल ६,२०१५ ) का दिन यो समाचार(समाचार प्रभावः उपचारपछि घर फर्किए रुपेन्द्र) पढें।सार्है खुशी लाग्यो । १२ बर्षका रुपक घर फर्केछन् । मैले नाम उल्लेख नगर्न भनेको थिएँ । मान्ठा साबले (डाक्टर बद्री चापागाईं) ले राम्रो गर्नु भएछ,मेरो नाम उल्लेख गर्न दिनु भएनछ  । मेरो बिचारमा सहयोग वा दान दिने भनेको कुनै शर्त राख्नु वा आफु ठुलो छु वा मैले यसो गरेको छु भनेर दुनियाँलाई देखाउन हैन । कम्तिमा मलाई यो चाहना छैन । मेरो एउटा मात्रै चाहना छ कि पछि आरोह ठुलो भए पछि यो समाचार हेरोस र आफै बुझोस् । अहिलेलाई रुपेन्द्र घर गएर राम्ररी गरी खान सकुन । उनको भविष्य राम्रो बनोस ।
शुभकामना!!!


अस्तु !!!!




Tuesday, March 17, 2015

मोडर्न आमाका नाममा

सेतोपाटीमा “मोडर्न आमा” नामका दुइटा सेरिज आए । एउटामा (मोर्डन आमाहरूसँग यो आँट होला?) पुराना आमा राम्रा अहिलेका असल आमा नै होइनन्/छैनन् भन्ने आसयको छ भने अर्कोमा (एउटा ‘मोर्डन आमा’को बयान) अहिलेका आमाको बाध्यता छ । पहिलोमा प्रस्टसंग किटानी गरिएको छ अहिलेका आमा स्वार्थी भए । अनि दोश्रो लेखमा प्रस्ट लेखिएको छ,पहिलेका आमा र अहिलेका आमा बाँचेको समय फरक छ, भोगाई फरक छ र अनुभवजन्य मातृत्व पनि फरक छ । तर समाजको संकीर्ण सोचले मातृत्वलाई हेर्न दृस्टीकोण फरक नभएको हुँदा अहिलेका आमाको उचित मुल्यांकन भएन तर उनीहरु असल हुन । समय फेरियो त्यसैले अहिलेका आमा असल हुन् भन्ने आसय छ ।
दुवै लेख लेख्ने आमा नै होलान भन्ने अनुमान गरियो । दुवै सन्दर्भ सन्तान जन्माउने र हुर्काउने र परिवार बन्ने/बनाउने सन्दर्भसंग जोडिएको छ, जसमा आमा र बाबु दुवैको प्रतक्ष्य भूमिका हुन्छ तर दुबैमा बाउको भूमिका बारे लेखक मौन छन् मानौ सन्तान जन्माउन र हुर्काउन बाउहरुको कुनै भूमिका नै छैन उनीहरु भनेका खाली बीउका राँगाहरु हुन् एक पटक लगाए पछि काम तमाम् । अहिलेको जमानामा त झन् बाबुको भूमिका बढी छ/हुन्छ । घर बसाउने र सन्तान हुर्काउने कुरा केवल आमाको मात्रै हैन भन्ने कुरा दुवै लेखमा जानेर/नजानेर चर्चा नै गरिएको छैन । अनि आमा भनेका सर्बेसर्बा निर्णयकर्ता बच्चा र परिवारको मामलामा । उनीहरुले चाहे सन्तान जन्मे,परिवार बन्यो नत्र ठण्डाराम भने जस्तो गरी प्रस्तुत गरिएको छ ।

दुवै लेखको मूल शिर्षक प्रति आंशिक सहमति भए पनि प्रस्तुति प्रति मेरो असहमति:

१. आमा शब्दलाई नै बर्गिकरण गर्न खोजिएको छ जस्तो मोडर्न,पुरातन,अझ तरुनी,बुढी,निर्बल,सबल,उतर आधुनिक यस्तै यस्तै हुने होला । आमालाई यसरी विभक्त गर्नु नै आमाको अपमान हो । हुन त यो उतर आधुनिक समाजका उपभोक्ताबादी पुजिंबजारका शब्दका ब्यपारीहरु के बुझुन यी भावनात्मक सम्बन्धका कुराहरु । बरु यसको सट्टा उपयुक्त शब्द हुनसक्थ्यो “घर बाहिरका कामकाजी आमाहरु” । दोश्रो लेखम यो शब्द त प्रयोग गरिएको छ तर आरोपको खण्डन गर्ने निहुमा त्यही मोडर्न आमा दोहोर्याएको छ पुरै आलेख भरी।

२. सन्तान जन्माउने/हुर्काउने कुरा पूर्णत दुई जना (बाबुआमा) वा दुइ महिला पुरुष को सरसल्लाहमा भर पर्ने कुरा हो । उनीहरुले उपुयुक्त ठानेको बेला बिहा र सन्तान प्राप्ति र हुर्काउने बढाउने गर्नु पर्छ । गरेका होलान । जमाना फेरियो । महिला पहिलेका भन्दा कामकाजी बने । सन्तानसंगको भावनात्मक सम्बन्धमा सम्झौता गरियो । बाबुको र घरका अन्य सदस्यको भूमिकाको खोजी हुन थाल्यो । कतिले राम्रै गरेका होलान, कतिलाई गाह्रो भा’को होला । यसमा पत्रिका बजारमा आएर उहिलेका आमा ठिक,मोडर्न आमा बेठिक अथवा मोडर्न आमाका अरु नि काम छन् सन्तान जन्माउने मात्रै हैन भन्नु भनेको हामीलाई हुर्काउने आमा, अहिलेका बाबु र तिनका सन्तान सबैको अपमान गर्नु हो । मेरा उमेरका कतिपय साथी, जो अहिले बाबु/आमा नि बनिसके, अहिले पनि तिनका बाबु आमा प्रति गुनासो यसकारण गर्छन कि तिनलाई तिनका बाबुआमा संग बस्ने समय मिलेन । कारण बाबु आमा दुवै कामकाजी थिए/बने आफ्नो सन्तानको भविष्य राम्रो होस् भनेर । परिणाम त अहिले देखियो नि । तर म जस्ता आर्थिक अभावमा हुर्किएर पनि बा-आमा दुबैको साथ पाउनेले कमै आफ्ना बा-आमा प्रति गुनासो गरेको सुनेको छु । त्यसैले करियर र सन्तानको भविष्यको नाममा उनीहरुसंग भौतिक एबं भावनात्मक सम्बन्ध राख्न सकिन्न भने तिनका सन्तानले पनि त्यही भन्छन/त्यही गर्छन । त्यसैले त्यो गल्ती नगरेकै राम्रो । दोश्रो लेख यसको विपक्षमा देखिन्छ । दोश्री लेखिकाले भने जस्तो करियर र काम पनि भन्दै जाने हो र सन्तानसंगको भावनात्मक सम्बन्ध बलियो नबनाउने हो भने भबिस्यमा यस्तो नि दिन आउने छ जुन दिन “मैले मेरा सन्तान म संगै राखेर हुर्काएको हो” भन्नु पनि एउटा योग्यतामापन हुनेछ । अम्रिकामा प्रेसिडेंन्सियल क्यान्डीडेटले “आइ एम ३० एअर ह्यापिली म्यारिड विथ २ किड्स” भने जस्तो । J

३ हो हरेक महिला आमा बन्ने कि नबन्ने भन्ने उनको स्वतन्त्रताको कुरा हो । तर यो कुरा आमा र सन्तान हुर्काउने कुरासंग किन चर्चा गर्न पर्ने? यदि चर्चा गर्ने हो भने बाउको कुरा किन नगर्ने ? के यसमा बाउको सहमति छ कि छैन त उसो भए । बाउ पनि सहमत छ र सम्बन्ध त्यसरी नै राम्रो छ भने टाउको दुखाइको बिषय भएन । तर केटालाई सन्तान चाहिएको छ केटी चै चाहन्न भने त्यो सम्बन्ध किन रही राख्नु पर्ने? जब सम्म केटी चाहन्छे? यो प्रसङ्ग सन्तान जन्माउने र आमा बाउको भूमिकामा नगरेकै भए हुन्थ्यो । यो अर्कै छलफलको पाटो हो । यस्ता एकांकी तर्कले नत घर बन्छ न त समाज । 

४. मैले खुदै मेरै आँखाले यस्ता कामकाजी महिला देखेको छु जसले सन्तानलाई न-नुहाइदिई,बच्चाको कपडा नमिलाइदई, खुवाई पियाई देखी स्कुलको होमवर्कसम्म नगरी बच्चा हुर्केका छन् ।ती सबैमा बाउको भूमिका देखेको छु,बाउले केही नगर्ने हो भने सन्तानको कन्त-बिजोग हुने पनि देखेको छु तर बाउले गुनासो गरेको भेटेको छैन । अनि तिनै आमा बाहिर समाजमा गएर भन्छन आमा हुन गाह्रो छ । तिनै मध्येकी होलिन दोश्री लेखिका । बजारु हल्लाखोर हरु । माफ गर्नुस यो मेरो अनुभवजन्य अभिव्यक्ति हो ।

५. पहिली लेखिका चै या त उनी आमा हुन नसकेको पिडा पोखी रहेकी छिन या त उनका आफ्ना सहकर्मीले गरेको प्रगतिको डाहा । अहिले आमा व्यस्त छन् । पैसा कमाउ अभियानमा सन्तानसंग चाहे जति भावानात्मक/शारीरिक रुपले नजिक नहोलान् तर अहिलेका नराम्रा भन्न पहिलेका राम्रा भन्न जरुरी नै छैन । पहिला पो कौनसा राम्रो थियो होला र दिनभरी रोएर बित्थे होला, आमा मल बोक्न व्यस्त हुदाँ । यद्दपी सन्तान रुँदा रुनलाई उनि पनि संगै भने हुन्थिन ।

६. समग्रमा आमा/बा न त पुरानी हुन्छिन न त नयाँ या मोडर्न नै । सन्तानको सुख उनको एक मात्र ध्येय हुन्छ । अहिलेका कथित उतर आधुनिक समाजका केही गतिछाडाले गति छाडे भन्दैमा सामान्यीकरण गर्न मिल्दैन । तिनलाई पनि पछि आफ्ना सन्तानले गति छाड्दा वा बाटो बिराउदा ढिला भैसकेको हुन्छ ।

७. अँ अनि परिवार बनाउने, सन्तान पाउने/हुर्काउन कुरा भनेको न त स्त्री प्रजातीको एकल निर्णय हो न त तिनको सनक नै । बहुलठ्ठी कुतर्क गर्नेको भने यो संसारमा कुनै औषधी छैन ।

   अन्तमा एक मित्रको भनाई 
"  वेश्यालयमा जन्मेको बच्चालाई उसकी आमा, आमै लाग्छ अरुलाई फगत वेश्या । कसैको आस्था माथी प्रहार गर्नु पूर्व सोचने बानी बसालौ ।"

अस्तु !!!!!

Thursday, February 12, 2015

यसरी भयो मेरो लाईसिन नबिकरण

गत साल म नेपाल गएको थिएँ काम बिशेषले,काम बिशेष नि के भन्नु स्वार्थ बिशेषले । नेपाल यात्रा फलदायी नै भा’थ्यो भन्न पर्ला । एक दुइ वटा सम्झन लायक घटना थिए/छन् । आत्माकथा लेखेर चर्चित हौंला भनेको थिए
यो समाचारले (बिहानी सेवामा झर्को फर्को) कुत्कुत्यायो र पहिला नै खेस्रा गरेको तर नपोस्टिएको जस्ताको तस्तै पोस्टिन मुन लायो । म किन नेपाल गएँ र कसरी काम गरें त्यो पछि कुनै बेला । अहिले भने मैले लाईसिन कसरी नबिकरण गरें भन्ने कुरा ।
****************************************************************************************************************
नेपाल जाने बितिकै यता उति गर्नलाई यहींबाट मोटरसाइकल जोहो गरेको थिएँ, कहिले साढु दाइको त कहिले बहिनी ज्वाइको । तर फसाद लाइसिन थेन । यतैको देखा’र भा’नि जरिवानाबाट उम्किला भनेर १ दिन यसै चलाएँ र अर्को दिन नबिकरण गर्न के गर्न पर्दो रैछ भनेर बुझ्न लागें एकान्त कुना तिर । दिम्सो १:३० बजेको हुँदो हो, अफिस गेट भित्र पस्ने बितिकैको देब्रे पट्टीको एउटा झ्यालबाट भित्र एकजना भलाद्मी देखिनु भयो । झ्यालको ग्रिल समाएर(किनकि आफु परियो ५ फिट अलि बढी, झ्याल हुँदो हो साढे पांच फिट माथी) भलाद्मी मित्रलाई सोधें। सर मेरो लाइसिन रिन्यु गर्नु पर्ने थ्यो,म्याद कटेको २ बर्ष बढी भएछ, के गर्न पर्छ होला? भलाद्मीले बोल्न नि पैसा पर्ला जस्तो गरी भने आज टाइम सकियो । मैले सानो हुदै भनें, ए..... ठिक छ नि त, भोली नै आउला तर के के चाहिन्छ त ? कति खेर सम्म आउन पर्ने हो ? म तिर हेर्दा नि नहेरी भने त्यहीको झ्यालमा देख्नु भएन? त्यही हेर्नुस के के चाहिन्छ । झ्यालको शिशामा टाँसेको तर आधा च्यातीई सकेको र आधा बाँकी रहेको कागजको टुक्रामा मुस्किलले बुझ्न सकिने गरि केही लेखेको देखिन्थ्यो । मैले फोटो खिंचे र एउटा भिडियो पनि । त्यसमा उहाँ भलाद्मी पनि कैद हुनु भएछ संजोगले, जहाँ अर्को कोही एकजनासंग कानेखुसी गरेर टाउको हल्लाउदै हनुहुन्थ्यो । मेरो फोनमा डेटा हुँदो हो त तत्काल सामजिक संजालमा राखीदिन्थें । बेलुका घर पुग्दा रीस अलि मत्थर भैसेको थ्यो । त्यसमा नि आफु पनि बिदामा नै सही, सरकारी नुन खा’को कर्मचारी, आफ्नो आङको छारो के उडाउनु जस्तो भो त्यो बेला सम्म । पोस्टिन मुन लाएन ।

एक छिन पछि जेठान साबको निम्ता भो र लागियो ससुराली । लाइसिनको बारे जेठान सा'ब बाट सोधनी भयो । अचेल जरिवाना अलि कडा छ, होस् गर्नु पर्ला ज्वाई सा’ब । मैले नि रिन्यु गर्न गा’को कथा सुनाएँ । जेठानी दिदीबाट मर्जी भो, ससुराली गाउँकै एक जना दिदी हुनु हुँदो रहेछ,लाइसिन दिने ठाममा । झ्याप्प फोन लाउनु भो । यसो कुरा मिला’र मेरो लाइसिनको कुरा उठ्यो । अलिकति चिप्लो चाप्लो घस्ने काम भो । हजुर भा’बेला नि हाम्रो ज्वाई साबले दुख पाउने कुरा होला त? त्यो नि अम्रिकाबाट आइसेको । उता बाट के मर्जी भो कुन्नि, यता मेरो भने लाइसिन बन्ने भो भनेर नाक फुल्यो कि टाउको सानो भो ठम्याउन सकिन ।

भोली पल्ट १०:३० पुग्ने उर्दी थ्यो । हुलिया र फोन छदै थियो, ठ्याक्क ट्याममा अफिस गेटमा पुगियो र फुनाइयो । दलेहरु गेटमा तानातान गर्दै थिए । आफ्नो रयांग ठ्यांग मिलि सकेको थ्यो, बाल नदिकन भित्र गइयो । चट्ट ला’र दिदी हजुर ज्वाईलाई लिन ढोकासम्म सवारी भो । मैले नमस्कार संगै आबस्यक कागज  टक्राएं । ल्याप्चे लाउन पर्ने ठाउमा ल्याप्चे ठोकें,राजस्व र जरिवाना तिरें,दिदीको पछि पछि लागेर,सबै भित्रै बाट । बाहिर सेवाग्राहीको तछाड मछाड थ्यो । मैले बिजयी भएको ठानें वा पराजय ठम्याउन सकिनं ।

१० मिलिक जति कुर्ने मर्जी भो । ढड्डा भिडाउनु र कम्पुटरमा इन्ट्री गर्नको लागि । १० मिनट यता उति अफिस तिर आँखा लगाएँ र अफिसको लठीभद्र हेरें। मेरी आमोई नि, भो नकुरा गरम । भन्नु उसो हैन, सेवा ग्राहीलाई कसरी सजिलो पार्ने भन्दा पनि कसरी अप्ठ्यारो पार्ने जस्तो ,दराजले बाटो छेकेको,तेत्रो बडेमाको अफिस हेर्दै कन्तबिजोग । लाग्थ्यो दले मार्फत काम गर्न जानी जानी असजिलो बनाइएको। के गर्ने? भन्न भएन । बाहिर लाइनमा मान्छे तछाड मछाड थ्यो भने भित्रबाट दले मार्फत खुसुखुसु काम पनि भै रा’थ्यो । चट्ट ला’र १० मिनटमा मेरो लाइसिन मेरो हातमा आयो । औपचारिकता लागि चिया वा चिसोको अफर गरें । बदलामा नो थ्यांक्स मिल्यो । अफिस बाहिर आएँ र रु २० तिरेर लेमिनेशन गराएँ ।

मनमनै म आफु (नेपाल सरकारको कर्मचारी) लाई धिक्कारें, र सरकारी नुन खाएर सेवा गर्न बसेका कर्मचारी मार्फत मेरो लाइसिन बनाई दिन सहयोग गर्ने मेरी जेठानी साहेबको जय जयकार गरें ।

अस्तु !!!!


Monday, February 9, 2015

शुभ र शुभानी

शुभ र शुभानी दिदी बहिनी हुन तर आनी बानीका हिसाबले बिपरित दुई ध्रुब । दुवै बिबाहित, दुबैको लगभग उही उमेरमा बिहे । शुभानी अलि पछी जन्मेकीले देश दुनियाँ देख्न पाई भने शुभानीको शब्दमा दिदी शुभ कुवाको भ्यागुतो । दिदी शूभ सानो तिनो जागीर खान्छे,नेपालमा। एक छोरी र छोरो छोरो छन् । बहिनी शुभ अमेरिकामा छे,करीब १००K कमाउछे । दिदी शुभको कान्छो छोरो र बहिनी शुभानीको एउटै छोरो लगभग संगैका छन यतिखेर र संयोगले आज माइतमा भेट भएको छ दुबैको। शुभानी अमेरिकाबाट आएकी छे भने शुभ पनि घर र अफिसबाट फुर्सत मिलाएर माइत आएकी छ,केही दिनका लागि ।

सधैं झैँ आज पनि बिहानै छोराहरु हल्ला गर्दै उठे । शुभले छोराहरुलाई लिटो बनाई । छोराहरुलाई खुवाई । सरसफाई गरी । उठेर स्नान र पुजा नगरी चिया पनि नखाने नराम्रो बानी छ उसको । माइतमा भए पनि त्यो कर्म पुरा गरी र चियाको धन्दा गर्न थाली । ७५ बर्षे बुढी आमालाई शुभ के के गर्दै छे भन्ने अघि देखी थाहा थियो तर उठ्न सक्नु भएको थिएन, बिस्तारै उठ्नुभो । शुभले एक कप दुध आमालाई ठिक्क पारी सकेकी थिई, त्यो दिई । चिया र दुधसंगै आमा छोरी गफिन थाले । छोराहरु पनि खेल्दै थिए, घरी घरी झगडा गर्थे अनि उसले मिलाई दिन पर्थ्यो ।

यति खेरसम्म ९ बजी सकेको थियो । सधै जसो भए शुभको अफिस जाने तयारी पुरा भैसक्थ्यो तर अहिले एक हप्ताको छुट्टी लिएकी थिई उसले । यतिकैमा शुभानी पनि उठी र कोठा बाहिर निस्की । दिदु! तिमी त कस्तो ? हातमा स्मार्ट फोन भएर पनि मेसेज चेक नै गर्दैनौ । झन् अघि नै बेडबाट मेसेज पठाकी, चियाको अवस्था बुझ्न, यहाँ एक एक पलको महत्व छ दिदु, एक एक पलको । तिमीलाई त बेकारमा ल्याइदेको यो स्मार्ट फोन । शुभले बिस्तारै भनी, ए हो र?,.... अँ म अलि टाइमको ख्याल गर्न जान्दिन । ब्यङ्ग मिश्रित झटारो हानी । तर शुभनीलाई यो आफ्नो स्तरको कुरा लागेन ।

यतिन्जेल बुढी आमाले तयार भएको चिया ल्याएर शुभानीको टेबलमा राखीदिन भ्याई सक्नु भएको थियो ।अनि, शुभानीले दिदी बहीनी र आमाको एउटा सेल्फी हानी र अघि नै लग इन गरेर एक लट चहारी सकेको फेसबुकमा अपलोड गरी ।
“ Having awesome time with my lovely didu, mom, and handmade morning tea, I LOVE YOU MOM”

अस्तु !!!!!!

Tuesday, January 27, 2015

नेपाल नाइट २०१५ खबरमा

सेतो पाटीअमेरिकाको डाकोटामा नेपाल सम्झना प्रकाशित मिति: मंगलबार, माघ १३, २०७१ १९:२५:४०
फरक भूगोल र संस्कृतिमा पुगे पनि आफ्नो संस्कृति र रितिथिति भुल्न सकिन्न, ती साथै रहन्छन। अमेरिका, साउथ डाकोटाको ब्रुकिन्ग्स सिटीमा रहेका नेपाली समुदायले  पनि गत आइतबार नेपाली संस्कृति र स्वादको सम्झना गरे । ब्रुकिन्ग्स सिटीमा रहेको साउथ डाकोटा स्टेट यूनिभर्सिटीमा उनीहरुले नेपाली खाना खाँदै नेपाली साँस्कृति झल्किने कार्यक्रम गरे।
कार्यक्रममा त्यहाँ अध्ययन गरिरहेका नेपाली विधार्थी एवम् सो नगरका बासिन्दाहरु गरि करिब ४५० जना कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा सहभागीहरुलाई साउथ डाकोटा स्टेट यूनिभर्सिटीमा  अध्ययन गरि रहेका बिद्यार्थी तथा तीनमा आश्रित परिवारले नेपाली खाना पस्किएका थिए।
डेढ घण्टा चलेको सो कार्यक्रममा विभिन्न गीत तथा नाचका साथमा पृथ्वी नारायण शाहको जीवनीमा आधारित ‘अनेकतामा एकता’ नामक नाटक पनि मञ्चन गरे। कार्यक्रममा साउथ डाकोटा स्टेट यूनिभर्सिटीका अध्यक्ष डेभिड एल चेस्वान, उपाध्यक्ष प्रोभोस लेरी एस निकोल्स तथा सो सहरका उपमेयर केथ कोर्बेट अतिथि थिए।  
यस सहरमा करिब ७५ जना बिद्यार्थी,दुई नेपाली प्रोफेसर र तीनका आश्रित परिवार गरी करिब १३० को संख्यामा नेपाली रहेका छन् ।

पहिलो पोस्ट (अमेरिकामा ‘नेपाल नाइट’) 26th January 2015 | १२ माघ २०७१ |
  • गोविन्द कार्की-
अमेरिकाको साउथ डाकोटामा आइतबार ‘नेपाल नाइट’ कार्यक्रमको आयोजना गरियो। ‘अनेकतामा एकता’ नाम दिइएको नेपाल नाइटमा नेपाली संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम र नेपाली खानाको स्वाद पस्किइयो।
 
साउथ डाकोटा स्टेट युनिभर्सिटीका विद्यार्थी र साउथ डाकोटाका नागरिकहरुलाई नेपाली संस्कृति र खानाको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको नेपाल नाइट विद्यार्थी र नगरबासी गरेर साढे ४ सयभन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा डाकोटामा पढिरहेका विद्यार्थी तथा उनीहरुका आश्रित परिवारले नेपाली खानाका परिकार बनाएर पस्किएका थिए। पुलाउ, कुखुराको मासु, नेपाली स्वादको मिक्स्ड तरकारी, अचार, दही सलाद लगायतका खानेकुराले नाइटमा विशेष चर्चा पाए।
 
साँझ ६ बजेदेखि डेढघण्टा चलेको कार्यक्रममा स्टेट युनिभर्सिटीका अध्यक्ष, सह अध्यक्ष, साउथ डाकोटा स्टेटका  उप-मेयर, नेपाली विद्यार्थी समाजका सभापति, फ्याकल्टी एड्भाजर लगायत विशिष्ट पाहुनाको उपस्थिति कार्यक्रममा थियो।
 
कार्यक्रममा पृथ्वीनारायण शाहको जिवनीमा आधारित अनेकतामा एकता नाटक, १० वर्ष मुनिका बच्चाहरुको नाच, नेपाली ब्याण्डले गीत संगीत प्रस्तुत गरेका थिए।

साउथ डाकोटामा करिब ७५ जना नेपाली विद्यार्थी, नेपाली प्रोफेसर र तीनका आश्रित परिवार गरी एक सय ३० को संख्यामा नेपाली रहेका छन्।




- See more at: http://www.pahilopost.com/content/-2042.html#sthash.vwfcyayo.dpuf

Wednesday, January 7, 2015

समीप


सरलाको मासिक धर्म रोकिएपछि ऊ र पदमले घरबाट भागेर बिहेको औपचारिकता दिइकन सदरमुकाम तिरै बसे । उसो त पदमका तीनै दाजु-भाई र दुवै दिदी-बहिनीको बाउआमाले बिहा गरिदिन परेको थिएन वा भनौं पाएका थिएनन् । या त यस्तै दुर्घटनामा परे पछि सम्हाल्नु परेको थियो या त समाजले अजात भनी दिएकासंग थान्का लागेका थिए ।

सरला र पदम भागेर गएको सातै महीनामा सरलाले घोर्ले छोरो पाई, साढे ४ किलोको । हेर्दै खाइलाग्दो । छोरो नै जन्माई सकेपछि बिहा अघि नस्वीकारेका घर माइती दुवैतिरका भेट्न भने आए । आफ्ना साथी भाई पनि फुर्सत मिलाएर भेट्न आए । आउन नभ्याउनेले फेसबुकमै बधाई दिए । उसो त जन्मेकै दिन उसले फेसबुकमा तस्बिर उपलोड गरी सकेकी थिई । भेट्न आउने सबैले कस्तो ठ्याक्कै आमा जस्तो भन्थे । सरला मक्ख पर्थी । फेसबुक प्रतिक्रिया पनि उस्तै थियो । काटी कुटी आमा गोता, कस्तो आमा जस्तै क्युट ,नाक र आँखा त झन् ठ्याक्कै आमाकै ल हेर.... । ऊ बेला बेला फेसबुकमा लग इन गर्थी र फेसबुकका कमेन्ट हेर्थी । उसो त कमेन्ट आउने बितिकै उसले लाईक ठोक्न भ्याई हाल्थी। तैपनि बेला बेला लग इन गरेर पुन कमेन्ट हेर्थी । जुकेले मल्टी लाइक बटन बना’को भए अरु कति पटक लाईक हान्दी हो । ११औ दिनका दिन पण्डितले नाम “स”बाट जुराउदा सरला कम्ती खुशी भईन । छोराको नाम जुराए “समीप” अर्थात सरलाको “स” र पदम “प” ।

आज सरलाको अर्को खुशी थपियो कारण आज समीपले जानेर नजानेर आमा भन्यो । खुशी हुदै भनी । म यो दिन देख्न कम्ती आतुर थिइन छोरा । पदमतिर फर्केर भनी, देख्यौ! छोराले पहिलो पटक आमा भन्यो । आखिर छोरो कसको? हैन छोरो । उसले चेपारे पारेर छोरालाई म्वाई खाँदै भनी । ....तर मेरो छोरोले पछी चै मामु नै भन्छ है, आमा भन्यो भने त फेरी बाबुलाई साथी भाइले जिस्काउलान नि, तर अहिलेलाई ठिकै छ,.. है बाबु... । उसको चेपारे सिलसिला रोकिएन । छोरोले पनि बुझे जस्तै गरी हिहि गरेर हाँस्द्यो । ऊ अझ मक्ख परी ।

सरला समीपको हरेक आवाज, बोली, चाल ढाल, हिडाई, नखरा आदि इत्यादि सबैमा आफुलाई देख्थी । छोराको सासमा आफु महसुस गर्थी । छोराको चोटमा ऊ रुन्थी, अनि खुशीमा तीन हात माथी उफ्रिन्थी । पदमलाई भन्थी, हेर यो छोरोमा हामी दुबैको आधा आधा रगत छ तर पनि किन हो किन मलाई मेरो चै अलि बढी छ कि जस्तो लाग्छ । पदम मुसुक्क हाँस्थ्यो मात्र ।

समीप बढ्दै गयो । पढ्दै गयो । एसएलसी पास गर्यो र पढ्न सहर पस्यो । छोरो सहर पसे पछि पनि सरला उसंग दैनिक जसो फोनमा कुरा गर्थी । दिनकै हालखबर बुझ्थी । उसो त छोरो र उ फेसबुकमा साथी पनि भैसकेका थिए । फेसबुकमा छोराले राख्ने स्टेटस र फोटाहरुले पनि उसको हालखबर बुझ्न मद्दत गरेको थियो । छोरोले सहरमा के गर्थ्यो उ देख्दिन थिई। तर उसंगको कुराकानी र फेसबुक हेरेर अनुमान लाउथी कि छोरोले राम्रै गरी रा’छ ।

एकदिन सरलाले समीपको फेसबुक देखिन । उसले फेसबुक डिएक्टिभेट गरको थियो । फोन गरी । फोन पनि स्विच अफ थियो । अतालिदै समीपको नजिकको साथी राजलाई फोन गरी र बेली बिस्तार लगाई । उसो त राज र समीपको भेट नभएको हप्ता दिन बढी भै सकेको थियो । राजले सोझै समीपको कोठा गएर कुरा बुझ्ने र सरलालाई फोन गर्ने कुरा गर्यो ।

करीब १ घण्टा पछि सरलाले खबर पाई । समीपले त उनीहरूकै घरपेटी साहुजीको घरमा बिहान बेलुका भाँडा माझ्न सहयोग गर्ने माल्दिदीकी छोरी चन्द्रा बिकलाई तीन महिनाकी दोजिया सहित भित्र्याएछ । खबर सुन्नासाथ फोन काटीदिई र कौसीको गमलामा बडो मिहिनेतले हुर्काएका दुई बोट गोलभेंडामा पानी हाल्दै गरेको पदमतिर धारे लाउदै रिसले मुर्मुरिदै भनी “यस्ताको त सन्तान के गतिलो हुँदो हो ?”

अस्तु !!!!!!      
    


Tuesday, January 6, 2015

शुभानीको करिअर

“शुभानी बिहे गर्ने हैन त अब? अन्डरग्य्राडुएट गरीहालिस, उमेर पनि तेरो र मेरो उस्तै हो केरे, यी मेरो छोरो टुकुर टुकुर हिड्ने भैसक्यो । अब सिंग जुरो पलाउने हैन केरे, के कुरेर बस्छेस ? यो उ गरेर बिहे गर्छु भन्न लागेकी होस् भने बुढीकन्या बस्छेस, यी सब समानान्तर हुँदै जान्छन, सबै कुरा टाइममा गर्न पर्छ, बुझिस्?” सबिनाले अलि अलि जानेको ज्यामितीय भाषा प्रयोग गरेर खर्रर आफ्ना कुरा राखी । शुभानीले झोक्किदै भनी, “भर्खर बुबाको यस्तै गन गन सुनेर यसो मुड फ्रेस हुन्छ कि भनेर यो केटीसंग भेटम भनेर बोलाकी । फेरी यसको नि उही गन गन । हैन यिनीहरुलाई मान्छेको करिअर (Career) सरिअर पनि हुन्छ भन्ने थाहा छैन कि के हो ?” एलिना बेकरीका सबैले सुन्ने गरी कराएको सुनेर सबिनाले चुप लाग्ने इशारा गर्दै भनी । ल भैगो यो टपिक बन्द, भन् के अर्डर गर्ने?

साँझ शुभानी घर गए पछि पनि बुबाको कुरो उही बिहेको । छोरी.. मेरो उमेर कति भयो तिमीलाई थाहा छ? त्यसमा नि दमको रोगी, के भर छ र? अब यहि तिम्रो बिहे त हो । यो गरिदिन पाए मलाई ढुक्क हुन्थ्यो । आरामले सास जान्थ्यो । के तिमी मेरो सास घिटि घिटि भा’को हेर्न चाहन्छेउ ? बरु तिमी जोसंग भन्छौ उसैसंग गरिदिन्छौ । बुबाले एक किसिमको इमोसनल ब्ल्याकमेल गरे । शुभानीले बुबाको अनुहार नै नहेरी भनी। म रातभर सोच्छु र भोली जबाफ दिन्छु ।

शुभानीले रात भर के मात्र सोचिन र? त्यसै पनि उसलाई नानाथरी सोच्न कुनै बहाना मात्र भए पुग्छ । धेरै सोच् पछि उ निस्कर्षमा पुगी । बिहे न हो जोसंग गरी दिंदा नि के नै फरक पर्छ र? आखिर गरी खान आफै सकीहाल्छु, कसैको भर पर्नु पर्ने हैन केरे? बिहे गरे पनि एउटा स्टेटस चेन्ज हुने त हो “ फ्रम अन्म्यारिड टु म्यारिड”, अरु के नै लछारपाटो लाग्ने हो र? अब २५ बर्ख सम्म भोगेको जिन्दगी स्वात्तै अर्को हुने हैन केरे, आनी बानी अर्काको लागि चेंजिने कुरा पनि हैन, जे त होला ।

शुभानीले भोलि पल्ट बुबालाई जबाफ दिई। बुबा म बिहे गर्छु। मेरो कोही केटो छैन ।

पर्सिपल्ट एउटा केटोसंग उसको भेट गर्ने कार्यक्रम बन्यो, घरमै । केटाकेटी दुबैको भेट एउटा कोठामा भयो । शुभानीलाई केटो ल्यांग्रे ल्यांग्रे लाग्यो । तै पनि उसलाई माग्न आउने केटो ठुलै आँट भा’को हुनुपर्छ भन्ने लागेर उसले केटासंग अरु खास कुरा नगरी ओके भनिदीई । केटाले पनि खासै केही सोधेन । कारण उसले पनि बिहे गर्ने मनस्थिति बनाई सकेको थियो । यसै पनि पारिवारिक छनौटमा सोध्नु पर्ने कुरा नै के हुन्छ र? वा भनौ सोधेर नै के हुन्छ र? आफैलाई पिडा दिनु बाहेक । उसको एउटा मात्र चाहना थियो । कुनै इतिहास भए बिर्सेर आओस र घर राम्रो बनोस, बस । त्यसमा किन हो कुन्नी उ कसो कसो कन्भिन्स थियो र कुनै कुरा सोध्ने कुचेस्टा गरेन ।

बिहे गरेको भोलीपल्ट शुभानीले भर्खरै बिहे गरेको पति साइनो लाउन पर्ने त्यो केटालाई भनी । “भर्खर दाजुले फोन गरिसेको थियो । भन्दै होइसिन्थ्यो कि पढाईको चिन्ता नगर । बिस्तारै सबै राम्रो हुन्छ । घर बस्नु ठुलो कुरा हो । त्यो चै ख्याल गरेस् ।" बुझेउ दादालाई मेरो पढाई र करिअरको कति चिन्ता छ । शुभानीले दादाको कुराको अर्थ लगाई कि अनर्थ राम जाने तर पति पवनले अनुमान लगायो कि शुभानी पढ्न चाहन्छे वा भनुम उसकै भाषामा करिअर बनाउन चाहन्छे । उसले कुनै रोकटोक गर्न चाहेन । उसकी पत्नी शुभानीलाई उसले चाहे अनुसार करिअर बनाउन दिनु नै बुद्दिमता देख्यो र भन्यो मैले तिम्रो कुरा बुझें,भलै पवनले बुझेको करीअर अर्कै थियो । शुभानीले पवनको अरु भावभंगी बुझ्ने चेस्टा गरिन। खुसी वा दुख केही व्यक्त गरिन । धन्यबाद पनि भनिन वा भन्न आबश्यक ठानिन । उसलाई त केवल उ आफैद्वारा परिभाषित करिअरको चिन्ता थ्यो। बिहे चै एउटा बाध्यताको एउटा ट्याग, जुन उसंग अब छदै थियो ।

झन्डै एक दशक समय बित्यो । सुभानीले उसकै भाषामा उसले छानेको करिअर बनाउदै गई । शुभानीको पति पवनको समय अफिस र घर धाउदै बित्यो । उसो त उसका जिम्मेवारी र कर्तब्य पनि थिए । बस पति र बाउ हुनुको जिम्मेवारी र कर्तब्य उसले बुझ्न वा बोध गर्न सकेको थिएन वा भनौ पाएको थिएन । एक दिन अचानक सुभानी र सविनाको फेरी एलिना बेकरीमा भेट भयो । भर्खर ना.सु.पदमा मा बढुवा भएकी सबिना आफ्नो १२ बर्से छोरो, १० बर्से छोरी र बैंकर पतिसँग १५ बर्खे म्यारिज एनिभर्सरी मनाउदै थिई भने यता शुभानी चै रिसर्च स्टुडेन्ट मेटसंग ग्रुप मिटिंगमा । सारीमा सजिएकी सबिनासंग सानो हाते ब्याग थियो भने जिन्स र स्पोर्ट्स सुज संग रमाएकी शुभानीसंग पछाडी एउटा लामो झोला अर्थात क्यारियर (Carrier) थियो ।


अस्तु !!!!!!

Monday, January 5, 2015

धनीराम र उनको ट्रक

धनीराम संग यो विन्टरमा एउटा ट्रक थियो सवारीका लागी । उसो त यो ट्रक उनले रहरले हैन बाध्यताले किनेको थिए, $५०० मा, ग्रोसरी जानको लागि । किनकि यहाँ सार्बजनिक सवारी साधन फिटिक्कै पाइदैन । यो हिउँमा १० मिनट परको वाल्मार्ट बाट हिडेर ग्रोसरी गर्न कम कस्ट हुन्छ र? समरमा त उनले र उनकी श्रीमती धन कुमारीले जसो तसो हिडेरै काम चलाएका थिए तर विन्टरको कस्ट पार लगाउन भने धनीरामले यो जोहो गरेका थिए ।

गाम्ले सबैले थाहा पाएका थिए कि धनीरामसंग ट्रक छ । त्यसैले केहि सानो ठुलो सामान यता उता गर्न पर्यो कि धनीरामको ट्रक सम्झिन पुग्थे । धनीराम पनि कसैले सम्झेर फुनाए भने खाँदा खाँदै को भातको गाँस छोडेर पनि हाजीर भै हाल्थे । गाउँलेको मर्का बुझ्न सकेकोमा मक्ख पर्थे । उसो त गाउमा अरुका पनि साना तिना गाडी नभएका हैनन तर गाडी हुने/नहुनेले सबैले किन हो किन धनीरामलाई नै सम्झिंथे । गाउँमा कोही नयाँ आए भने पनि सामान ओसार पसार गर्न सबै जसो धनीरामकै ट्रक सुझाउथे, उनी जहाँ जत्खेर पनि हाजीर भैहाल्थे ।

धनीराम $५०० को यो ट्रकसंग खुशी थिए किनकी यही ट्रकले धनीरामलाई उसकी दोजिया श्रीमतीलाई अस्पताल लान ल्याउन सजीलो बनाएको थियो । र यही ट्रकको सहयोगमा घरमा लक्ष्मी पनि भित्र्याएक थिए, छोरीको रुपमा । यता ट्रक र धनीरामले गाउँको सेवा गर्न जत्खेर पनि हाजिर हुन जाँदा कहिले काँही उनकी श्रीमतीलाई लाग्थ्यो कि यो ट्रक नभईदेको भए नि अलि आनन्द त हुन्थो कि? छोरीले पनि अलि चाकर पाउथिन कि? तर धनीरामलाई यो कुराले खासै छुदैन थियो । धनीरामलाई लाग्थ्यो कि यो ट्रक कारण नै सही, उनले गाम्लेको सेवा गर्ने मौका पाएका छन् अनि थोर बहुत इस्ट मित्र कमाउन पाएका छन् । उनलाई मान्छे कमाउन पाउनु जतिको आनन्द धन कामाउनुमा लाग्दैन थियो । त्यसैले धनीराम र ट्रकको जोडा खुब मिलेको थियो मामलामा ।

हरेकी चिजको सिमित आयु न हुन्छ । जति चाकर गरे पनि बुढो ट्रक एक दिन थला पर्यो । धनीरामलाई पीर पर्यो । मर्मत गरुम कि साल्वेजमा दिम कन्फ्युज भयो । उनले श्रीमतीको र सानी छोरीको तोते बोलीको सल्लाहमा आखिर ट्रक साल्वेज्मा दिए र सानो कार किने । गाम्लेले यो कुरा अलि पछि मात्रै थाहा पाए ।

अचेल धनीराम संग त्यो ट्रक छैन । तर हरेक गाम्लेले धनीरामलाई सानो तिनो कार्जे, बर्थडे,मिठो मसिनो खाना खाँदा वा भनौ मोमो खाँदा उनलाई र उनको परिवारलाई कहिल्यै कसैले छुटाउदैनन । धनीरामलाई थाहा छैन यो उनको कमाइ हो कि त्यो बुढो ट्रकको? कारण जे भए पनि अहिले ऊनी सानी छोरी र श्रीमतीजीलाई सानो गाडीमा राखेर गाम्लेकोमा उपस्थित हुन भ्याई नभ्याई हुन्छ, निम्ता मान्न ।

अनि ......


छोरी पनि मक्ख बाबु झनै मक्ख!!