Wednesday, January 7, 2015

समीप


सरलाको मासिक धर्म रोकिएपछि ऊ र पदमले घरबाट भागेर बिहेको औपचारिकता दिइकन सदरमुकाम तिरै बसे । उसो त पदमका तीनै दाजु-भाई र दुवै दिदी-बहिनीको बाउआमाले बिहा गरिदिन परेको थिएन वा भनौं पाएका थिएनन् । या त यस्तै दुर्घटनामा परे पछि सम्हाल्नु परेको थियो या त समाजले अजात भनी दिएकासंग थान्का लागेका थिए ।

सरला र पदम भागेर गएको सातै महीनामा सरलाले घोर्ले छोरो पाई, साढे ४ किलोको । हेर्दै खाइलाग्दो । छोरो नै जन्माई सकेपछि बिहा अघि नस्वीकारेका घर माइती दुवैतिरका भेट्न भने आए । आफ्ना साथी भाई पनि फुर्सत मिलाएर भेट्न आए । आउन नभ्याउनेले फेसबुकमै बधाई दिए । उसो त जन्मेकै दिन उसले फेसबुकमा तस्बिर उपलोड गरी सकेकी थिई । भेट्न आउने सबैले कस्तो ठ्याक्कै आमा जस्तो भन्थे । सरला मक्ख पर्थी । फेसबुक प्रतिक्रिया पनि उस्तै थियो । काटी कुटी आमा गोता, कस्तो आमा जस्तै क्युट ,नाक र आँखा त झन् ठ्याक्कै आमाकै ल हेर.... । ऊ बेला बेला फेसबुकमा लग इन गर्थी र फेसबुकका कमेन्ट हेर्थी । उसो त कमेन्ट आउने बितिकै उसले लाईक ठोक्न भ्याई हाल्थी। तैपनि बेला बेला लग इन गरेर पुन कमेन्ट हेर्थी । जुकेले मल्टी लाइक बटन बना’को भए अरु कति पटक लाईक हान्दी हो । ११औ दिनका दिन पण्डितले नाम “स”बाट जुराउदा सरला कम्ती खुशी भईन । छोराको नाम जुराए “समीप” अर्थात सरलाको “स” र पदम “प” ।

आज सरलाको अर्को खुशी थपियो कारण आज समीपले जानेर नजानेर आमा भन्यो । खुशी हुदै भनी । म यो दिन देख्न कम्ती आतुर थिइन छोरा । पदमतिर फर्केर भनी, देख्यौ! छोराले पहिलो पटक आमा भन्यो । आखिर छोरो कसको? हैन छोरो । उसले चेपारे पारेर छोरालाई म्वाई खाँदै भनी । ....तर मेरो छोरोले पछी चै मामु नै भन्छ है, आमा भन्यो भने त फेरी बाबुलाई साथी भाइले जिस्काउलान नि, तर अहिलेलाई ठिकै छ,.. है बाबु... । उसको चेपारे सिलसिला रोकिएन । छोरोले पनि बुझे जस्तै गरी हिहि गरेर हाँस्द्यो । ऊ अझ मक्ख परी ।

सरला समीपको हरेक आवाज, बोली, चाल ढाल, हिडाई, नखरा आदि इत्यादि सबैमा आफुलाई देख्थी । छोराको सासमा आफु महसुस गर्थी । छोराको चोटमा ऊ रुन्थी, अनि खुशीमा तीन हात माथी उफ्रिन्थी । पदमलाई भन्थी, हेर यो छोरोमा हामी दुबैको आधा आधा रगत छ तर पनि किन हो किन मलाई मेरो चै अलि बढी छ कि जस्तो लाग्छ । पदम मुसुक्क हाँस्थ्यो मात्र ।

समीप बढ्दै गयो । पढ्दै गयो । एसएलसी पास गर्यो र पढ्न सहर पस्यो । छोरो सहर पसे पछि पनि सरला उसंग दैनिक जसो फोनमा कुरा गर्थी । दिनकै हालखबर बुझ्थी । उसो त छोरो र उ फेसबुकमा साथी पनि भैसकेका थिए । फेसबुकमा छोराले राख्ने स्टेटस र फोटाहरुले पनि उसको हालखबर बुझ्न मद्दत गरेको थियो । छोरोले सहरमा के गर्थ्यो उ देख्दिन थिई। तर उसंगको कुराकानी र फेसबुक हेरेर अनुमान लाउथी कि छोरोले राम्रै गरी रा’छ ।

एकदिन सरलाले समीपको फेसबुक देखिन । उसले फेसबुक डिएक्टिभेट गरको थियो । फोन गरी । फोन पनि स्विच अफ थियो । अतालिदै समीपको नजिकको साथी राजलाई फोन गरी र बेली बिस्तार लगाई । उसो त राज र समीपको भेट नभएको हप्ता दिन बढी भै सकेको थियो । राजले सोझै समीपको कोठा गएर कुरा बुझ्ने र सरलालाई फोन गर्ने कुरा गर्यो ।

करीब १ घण्टा पछि सरलाले खबर पाई । समीपले त उनीहरूकै घरपेटी साहुजीको घरमा बिहान बेलुका भाँडा माझ्न सहयोग गर्ने माल्दिदीकी छोरी चन्द्रा बिकलाई तीन महिनाकी दोजिया सहित भित्र्याएछ । खबर सुन्नासाथ फोन काटीदिई र कौसीको गमलामा बडो मिहिनेतले हुर्काएका दुई बोट गोलभेंडामा पानी हाल्दै गरेको पदमतिर धारे लाउदै रिसले मुर्मुरिदै भनी “यस्ताको त सन्तान के गतिलो हुँदो हो ?”

अस्तु !!!!!!      
    


No comments:

Post a Comment