Thursday, September 27, 2018

निजगढ विमानस्थल : निबन्धजस्तो प्रतिवेदन



असोज ११ ,  २०७५ अर्थात २७ सेप्टेम्बर २०१८ मा नयपत्रिका  दैनिकमा प्रकाशित मित्र केशव शर्मा र मेरो विचार जस्ता को तस्तै  नयाँ पत्रिका दैनिक
देशलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ । पोखरा र भैरहवामा निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रियस्तरका होइनन् । यसैले यिनलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल होइन ।
पर्यटन उद्योग अर्थतन्त्रको प्रमुख अवयव भएको मुलुकमा अन्तर्राष्ट्रियस्तरकै विमानस्थल चाहिन्छ, र त्यो पनि एउटाले पुग्दैन । यसैले अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः हरेक प्रदेशमा बन्नुपर्छ, अहिलेका लागि कम्तीमा एउटा त बनिहाल्नुपर्छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कत्रो, कस्तो, कसरी बनाउनुपर्छ, कति रुख काटिनुपर्छ र कति बिरुवा रोपिनुपर्छ भन्नेतिर यो लेखमा नजाऔँ । अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा मात्र यहाँ चर्चा गरिनेछ । नेपालमा विकास योजनाका प्रतिवेदनमा कतिसम्म लापर्बाही हुन्छ, कति हचुवामा काम अघि बढाइन्छ भन्ने बुझ्न एउटा नमुना हो यो प्रतिवेदन ।
वातावरण संरक्षण ऐन– ०५३ मा ‘वातावरणीय प्रभाव मूल्यांकन’ भन्नाले कुनै परियोजनाको कार्यान्वयन गर्दा सो परियोजनाले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने, त्यस्तो प्रभावलाई कुनै उपायद्वारा न्यूनीकरण गर्न सकिने वा नसकिने सम्बन्धमा यकिन गर्न तयार गरिने विस्तृत अध्ययन तथा मूल्यांकनसम्बन्धी प्रतिवेदन सम्झनुपर्छ’ भन्ने उल्लेख छ ।
तर, यस योजनाको वातावरणीय अध्ययन प्रतिवेदन भाका नपुर्‍याई लेखिएको एउटा लामो निबन्धजस्तो मात्रै देखिन्छ, अध्ययन प्रतिवेदनमा पाइने अन्तर्वस्तु यसमा भेटिन्न । नेपाली परामर्शदाता कम्पनीले तयार पारेर सरकारले स्वीकार गरेको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पूर्णतः कर्मकाण्डी छ ।
केही तथ्यांकलाई छाडेर भन्ने हो भने वातावरण विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई ‘निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले वातावरणमा पर्ने असर’ विषयमा लामो निबन्ध लेख्नुहोस् भन्ने हो भने योभन्दा निकै राम्रो स्तरको निबन्ध लेखिदिन सक्छन् ।
प्रतिवेदनमा विमानस्थल निर्माणले पार्ने वातावरणीय प्रभावको सामान्य टिप्पणी मात्र गरिएको छ, वैज्ञानिक विवेचना र समीक्षा छैन । वातावरणीय प्रभाव मूल्यांकन भनेको मात्रात्मक (क्वान्टिटेटिभ) विश्लेषण हो, गुणात्मक (क्वालिटेटिभ) विश्लेषण होइन । जस्तै, वन मासेर विमानस्थल बनाउँदा भूमिगत पानी पुनर्भरणमा कमी आउँछ भनिएको छ ।
भूमिगत पानी पुनर्भरणमा कमी आउँछ भनेर लेख्न कुनै अध्ययन गर्नुपर्दैन । वन मासेर विमानस्थल बनाउँदा भूमिगत पानी पुनर्भरण लगभग यति मात्रामा कमी आउन सक्छ भन्नुपर्‍यो । यस्तै प्रस्तावित क्षेत्रमा जमिनको सतहबाट कम गहिराइमै चट्टान छ त्यसैले यो ठाउँमा विमानस्थल बनाउन योग्य छ भनिएको छ । कम गहिराइ भनेको कति मिटर हो ? अनि त्यो ठाउँमा कस्तो चट्टान छ त ?
यस्ता तथ्य प्रतिवेदनमा भेटिन्नन् । प्रतिवेदनमा विमानस्थलमा पावर प्लान्ट हुने भनिएको छ, तर कस्तो पावर प्लान्ट हो, कति क्षमताको, केबाट चल्ने हो र यसले पार्ने असर के–के हुन् भन्नेबारे उल्लेख छैन । इन्धन भण्डारण निर्माण गरिने भनेको छ, त्यसले पार्नसक्ने असरबारे अध्ययन खोइ ? इन्धन भण्डारण चुहियो भने भूमिगत पानीमा के असर पर्छ उल्लेख छैन ।
प्रतिवेदनमा भूगर्भशास्त्र (जियोलोजी) को अध्ययन नै भएको छैन र अति सामान्य कुरा मात्रै उल्लेख छ । प्रस्तावित विमानस्थल दुई खोलाको बीचमा छ, दुवै खोलामा वर्षायाममा ठूलो बाढी आउँछ भनिएको छ, तर सो बाढीले के कति क्षेत्र डुबानमा पर्छ, ती खोलामा पानीको बहाव कति हुन्छ, केही अध्ययन गरिएको छैन । यसै वर्ष मुम्बई विमानस्थलमा जस्तो बाढी पस्यो भने के गर्ने ?
उल्लेख्य मात्रामा वन विनाश हुँदा र जमिनको सतहमा परिवर्तन हुँदा जलविज्ञानमा पर्न सक्ने असरबारे झारा टारेर चार हरफ उल्लेख गरिएको छ । भूगर्भशास्त्र र जलविज्ञान वातावरणीय प्रभाव मूल्यांकनका प्रमुख विषय हुन् ।
विज्ञहरूले प्रस्तावित निर्माणस्थल हात्तीलगायत वन्यजन्तुको हिँड्ने मुख्य बाटो भएको उल्लेख गरेका छन् । तर, प्रतिवेदन वन्यजन्तु करिडोरको महत्व र त्यसको विनाशपछि निम्तिन सक्ने जोखिम न्यूनीकरणबारे केही बोल्दैन, त्यसबारे अध्ययन नै छैन । वन्यजन्तुलाई वैकल्पिक बाटो दिन सकिन्छ, त्यसका लागि पहिल्यै अध्ययन हुनुपर्छ ।
चाहिने अध्ययन नै नभएको प्रतिवेदनमा सरकारले दिएको म्यान्डेटबाहिर गएर टिप्पणी भने गरिएको छ, सुझाब दिइएको छ । सरसर्ती पढ्दा वातावरणीय प्रभाव मूल्यांकनभन्दा ‘आर्थिक प्रभाव मूल्यांकन’ जस्तो देखिन्छ । किन यो विमानस्थल एउटा राम्रो केन्द्र बन्न सक्छ, कतिले रोजगारी पाउँछन्, सञ्चालनमा आएपछि के–कस्ता आर्थिक फाइदा हुन्छन् भन्ने प्रतिवेदनमा लेखिएको छ ।
योजना निर्माण हुने वेला सो क्षेत्रमा के–कस्तो आर्थिक र सामाजिक असर पर्छ, अधिग्रहण गरेको जमिन कसरी जोगाउने, सुकुम्बासीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जोड दिइएको छ । वातावरणीय प्रभाव मूल्यांकनमा परियोजना बन्दै गर्दा प्रयोग हुने स्रोत प्रयोग, पारिस्थितिक अवस्थाको परिवर्तन र परियोजना सञ्चालनमा आएपछि पर्न सक्ने असर र जोखिमको मूल्यांकन गर्नुपर्नेमा ‘परियोजना प्रभाव आँकलन’ जस्तो गरेर प्रतिवेदन बनाइएको छ ।
हदैसम्म लापर्बाही गरिएका केही बुँदा
‘विकल्पको तुलना’ शीर्षकमा विमानस्थललाई जलविद्युत् आयोजनासँग तुलना गरिएको छ । सुरुमै नेपालले सार्वजनिक तथा निजी स्तरमा जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको र आयोजनाबाट वातावरणमैत्री स्वच्छ ऊर्जा उत्पादन भई त्यसले देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने उल्लेख छ ।
यसमा हाइड्रोपावरका संरचना, जस्तै– पावरहाउस, हेडवक्र्सहरूको वैकल्पिक स्थानको कुरा छ । प्रतिवेदनमा विस्फोटक पदार्थको प्रयोग कम गर्ने भनिएको छ, तराईमा निर्माण गर्दा किन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्छ ? हाइड्रोपावरको सुरुङ निर्माण वा बाटो निर्माणमा मात्र यस्तो प्रयोग हुन्छ ।
प्रतिवेदनमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को ऐनसमेत आकर्षित हुने उल्लेख छ । यो बुँदाले गौरीशंकर क्षेत्रको जलविद्युत् आयोजनाको प्रतिवेदन ‘कपी’ गरिएको हुन सक्नेतर्फ संकेत गर्छ । प्रस्ट छ, हाइड्रोपावर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई ‘कपी पेस्ट’ गरेर मिलाइएको भनेर । कतिपय तथ्यांक पहाडी जिल्लास“ग मिल्दाजुल्दा देखिन्छन् ।
विमानस्थलका लागि करिब आठ हजार पाँच सय हेक्टर जग्गा खाली गर्ने हो भने त्यहाँबाट काठ–दाउराको मूल्य नेपाली सारांशमा करिब ५ सय ९६ अर्ब रुपैयाँ भनिएको छ, अंग्रेजीको सारांशमा ५ सय ९६ मिलियन रुपैयाँ (५९.६ करोड) छ ।अनि, प्रतिवेदनको भित्र टेबलमा भने ६९ अर्ब रुपैयाँ उल्लेख छ ।
केही तथ्यांकलाई छाडेर भन्ने हो भने वातावरण विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई ‘निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले वातावरणमा पर्ने असर’ विषयमा लामो निबन्ध लेख्नुहोस् भन्ने हो भने योभन्दा निकै राम्रो स्तरको निबन्ध लेखिदिन सक्छन्
पथलैयाबाट विमानस्थलको दूरी कतै ८ देखि १८ किमिबीचमा भनेको छ, कतै २२ किमि भनेको छ । पूर्व–पश्चिम राजमार्गको उत्तरतिर विमानस्थल पर्छ भनेर उल्लेख गरिएको छ । एक लाख ९८ हजार चार सय ५० वटा परिपक्व सालका रुखबाट १ लाख ९८ हजार ४९ घनमिटर काठ निस्कने भनिएको छ, जसको अर्थ एउटा परिपक्व सालको रुखबाट १ घनमिटर काठ निस्किन्छ भन्ने हो ।
एउटा परिपक्व सालको रुखको उचाइ ३०–४५ मिटरसम्म र व्यास १–२ मिटरसम्म हुने अध्ययनले देखाएको छ । प्रतिवेदनमै उल्लेख सूत्र लगाउने हो भने काठको मात्रा धेरै आउँछ । रुखको आयतन हिसाब गर्दा मूल प्रतिवेदनमा एक सूत्र प्रयोग गरिएको उल्लेख छ भने अनुसूचीमा अर्कै सूत्र प्रयोग गरिएको छ ।
प्रतिवेदनमा रुख काट्नेबाहेक पनि वातावरणीय नोक्सानी धेरै छ । २ खर्ब ३१ अर्ब रुपैया“ त वातावरणीय नोक्सानी छ । त्यसमा पनि ७२ करोड रुपैयाँ त वार्षिक लागत मात्र छ । तर, यसमा प्रस्तुत गरेका धेरै हिसाब र अनुमानित लागत हास्यास्पद छन्, त्यसको सरकारी निकायले परीक्षण नै नगरी प्रतिवेदन पास गरेको देखिन्छ ।
प्रस्तावित द्रुत मार्गलाई कतै काठमाडौं–तराई द्रुत मार्ग त कतै मधेस–तराई द्रुत मार्ग भनिएको छ । प्रस्तावित विमानस्थलको क्षेत्रफल नै फरक–फरक उल्लेख छ, कतै ८०४४.७९ हेक्टर, कतै ८०४५.७९ हेक्टर उल्लेख छ । एक हेक्टर भनेको १० हजार वर्गमिटर हो । बारा जिल्लाको क्षेत्रफल कतै ११९० वर्ग किलोमिटर उल्लेख छ भने कतै १२९४६३ हेक्टर (१२९५.६३ वर्ग किलोमिटर) उल्लेख छ ।
प्रतिवेदनका कतिपय स्थानहरू यति नम्बरको तस्बिर हेर्नुस् भनिएको छ, तर, सो नम्बरको कतै तस्बिर भेटिन्न । जस्तै– प्रतिवेदनमा तस्बिर नम्बर ५.३ ब र ५.४ द उल्लेख छ तर सो नम्बरको तस्बिर छैन । कतै विमानस्थलका संरचनाले मात्र १९ सय हेक्टर जमिन ओगट्ने भनिएको छ भने कतै १३ सय हेक्टर चाहिने भनिएको छ ।
प्रतिवेदनको सुरुमा विमानस्थल निर्माणस्थलमा पहाडी भेगबाट बसाइँ सरेर गएका परिवार धेरै छन् भनिएको छ, तर तथ्यांकमा थारू जातिको बाहुल्य देखिन्छ । पर्सा राष्ट्रिय निकुञ्जमा भएका स्तनधारी, चरा र रुख–बिरुवाको तथ्यांक पनि सही देखिँदैन । जस्तै– निकुञ्जमा २३ थरी स्तनधारी रहेको उल्लेख गरिएको छ । विभिन्न अध्ययनले निकुञ्जमा ३२ भन्दा बढी स्तनधारी रहेको देखाउँछ ।
पत्याउन नसकिने कार्यप्रणाली
प्रतिवेदनले एक हजार वर्गमिटरको ७५४ वटा क्वाड्रेट बनाएर बोट–बिरुवाको नमुना लिइएको भन्छ । त्यसभित्र पनि अझै २५ वर्गमिटर (झाडीका लागि) र एक वर्गमिटर (बुट्यानका लागि) बनाइएको रहेछ । यसका लागि कति समय र मान्छे लाग्यो ? प्रत्येक रुखको उचाइ उपकरण (क्लिनोमिटर) प्रयोग गरेर नापिएको भनिएको छ । विमानस्थलमा आउने ठूला जहाजले हुने ध्वनिको मात्रा १००–११० डेसीबलसम्म केही क्षणका लागि हुने भनिएको छ ।
तर, अध्ययनले ठूला जहाजको ध्वनिको मात्रा १४० डेसिबल हुने बताउँछ । ६ करोड यात्रीलाई सेवा दिन दिनको करिब १२ सय जहाज चाहिन्छ । दिनको १२ सयजति विमान आउने विमानस्थलमा ५–७ मिनेट मात्र ध्वनि प्रदूषण हुने भनिएको छ ।
दिनको १२ सयवटा जहाज आतेजाते हुने विमानस्थलमा कुन मात्राको ध्वनि प्रदूषण हुन्छ र नजिकैको वन र निकुञ्जका वन्यजन्तुलाई कस्तो असर पर्छ भन्नेमा प्रतिवेदन मौन छ । भूमिगत पानीको गुणस्तर विमानस्थल निर्माणका लागि उपयुक्त छ भनिएको छ । भूमिगत पानी कस्तो भयो भने विमानस्थल बनाउन मिल्दैन त भनेर प्रतिवेदन तयार पार्नेलाई सोध्नुपर्ने हुन्छ ।
कार्यकारी सारांशको निचोडमा वातावरणीय प्रभावको कुनै कुरा उल्लेख नगरी विमानस्थल आर्थिक हिसाबले उपयुक्त छ भनेर टिप्पणी गरिएको छ । जुन विषयवस्तुमा अध्ययन गरिन्छ, त्यही विषयकेन्द्रित निचोड हुनुपर्छ । अध्ययनको कार्यदिशा (टिओआर) बनाउने संस्थाले पनि खासै अध्ययन गरेको देखिँदैन ।
योजनाको वातावरणीय अध्ययन प्रतिवेदन भाका नपुर्‍याई लेखिएको एउटा लामो निबन्धजस्तो मात्रै देखिन्छ, अध्ययन प्रतिवेदनमा पाइने अन्तर्वस्तु यसमा भेटिन्न । नेपाली परामर्शदाता कम्पनीले तयार पारेर सरकारले स्वीकार गरेको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पूर्णतः कर्मकाण्डी छ ।
अन्य अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकनलाई अध्ययन गर्दा ६० भन्दा बढी पारामिटरहरू (वस्तु) को अध्ययन गरेको देखिन्छ । यो प्रतिवेदनमा २०/२२ भन्दा बढी पारामिटरको अध्ययन गरिएको छैन । अन्तिम प्रतिवेदन भनेर उल्लेख गरिएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन गरेर दिएको सुझाबसमेत समावेश गरिएको भनेर उल्लेख छ । विज्ञ टोलीले बनाएको प्रतिवेदनलाई तीनवटा सरकारी निकायले परिमार्जित गर्दासमेत यति निम्छरो देखिनु हाम्रो क्षमता र प्रवृत्ति उजागर हुनु हो ।
विवादित विषय
संरचनाका लागि १३ सय हेक्टर र सहरका लागि ६ सय हेक्टर गरी १९ सय हेक्टरबाहेक अन्त कुनै संरचना बन्ने देखिँदैन । सरकारले दिएको कार्यादेशमा १९ सय हेक्टरमा विमानस्थल र सहर बनाउने प्रस्ट उल्लेख छ, बाँकी करिब ६१ सय हेक्टर जमिनमा कुनै संरचना हुनेछैन । केवल जमिन अधिग्रहण गर्ने मनसाय देखिन्छ ।
जुन क्षेत्रमा कुनै संरचना बन्नेछैन, त्यहाँ रुख काट्ने गरी किन अध्ययन गरियो ? किन करिब ८०४५ हेक्टर नै खाली गर्ने गरी करिब २५ लाख रुख काट्नुपर्ने भनेर उल्लेख गरियो ? प्रतिवेदनमा विमानस्थल र सहरका लागि चाहिने १९ सय हेक्टरका लागि साना–ठूला गरी करिब साढे ४ लाख रुख काट्नुपर्ने उल्लेख छ, जुन वैज्ञानिक र व्यावहारिक पनि छ ।
तर, यसबारे प्रतिवेदनको सारांशमा केही उल्लेख छैन । प्रतिवेदनको सारांश मात्र हेर्ने हो भने २५ लाख रुख काट्नुपर्ने, ८०४५ हेक्टर जमिन चाहिने गरी अध्ययनका अन्य तथ्यांक प्रस्तुत गरिनु अत्यन्त ठूलो लापर्बाही हो । प्रतिवेदनको सारांशमा सर्वोत्तम विकल्प प्रस्तुत गर्नुपर्नेमा, खराब विकल्प प्रस्तुत गरियो । यसैले अहिले विवाद उठिरहेको छ ।
समाधान के त ?
राष्ट्रिय गौरवको भनिएको योजनामा सरकारी र परामर्शदाता दुवैलाई यस्तो निम्छरो प्रतिवेदनको प्रतिरक्षा गर्न सुहाउँदैन । परामर्शदाताले कम्तीमा गुणस्तर निर्धारण योजना बनाउनुपथ्र्यो र सोअनुसार गुणस्तर नियन्त्रण र गुणस्तर सुनिश्चितता गर्नुपथ्र्यो ।
यो प्रतिवेदनमा गुणस्तर योजना पालन गरिएको थियो भनेर विश्वास गर्ने ठाउँ छैन । यसैगरी सरकारी निकायले विज्ञ नभए तेस्रो पक्ष नियुक्त गरेर प्रतिवेदन समीक्षा गर्नुपर्थ्याे । प्रतिवेदन परामर्शदातालाई फिर्ता गरी पुनः अध्ययन र पुनर्लेखन गर्नुको विकल्प छैन । यस्तो गरिए भविष्यका लागि मानक हुनेछ ।
(शर्मा क्यानडामा पिएचडी गरिरहेका सिभिल इन्जिनियर हुन् भने डा. कार्की अमेरिकामा ड्रेनेज विज्ञका रूपमा कार्यरत इन्जिनियर हुन्)

निर्माणस्थल कति सुरक्षित ?



भाद्र ४   २०७५ अ मा कान्तिपुर  दैनिकमा प्रकाशित मित्र रामराजा शर्मा र मेरो विचार जस्ता को तस्तै  कान्तिपुर भाद्र ४ २०७५

काठमाडौँ — काठमाडौंको महाराजगन्जमा गत साउन २७ गते इनार सफा गर्दा २ जनाको मृत्यु भयो । गत वैशाखमा डोल्पाको चिप्लेभिरमा सडक निर्माणका क्रममा ब्लास्टिङ गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दुई कामदारको मृत्यु भयो । गत साल मेलम्ची आयोजनाको पाइप बिछ्याउने ट्रेन्च खन्दा तीन जनाको ज्यान गयो ।



राष्ट्रिय व्यवसाय सुरक्षा र स्वास्थ्य नीति २०७३ ले सम्मानजनक कामको अर्थ सुरक्षित एवं स्वस्थ कार्यस्थल समेत बुझिन्छ भनेको छ । साधारण अवस्थामा मानिसले दैनिक एक तिहाइ समय कार्यस्थलमा बिताउँछ । कार्यस्थलको स्वास्थ र सुरक्षा सर्वसाधारणका लागि पनि उत्तिकै महत्त्वपूर्ण र चासोको विषय हो ।
कानुन अनुसार निर्माण कार्यका लागि स्वास्थ्य र सुरक्षा अधिकृतमात्रै नियुक्त गर्ने हो भने दुर्घटना न्युनीकरण गर्न सकिन्छ । निर्माण कार्यमा संलग्न कामदार, कर्मचारी, बटुवा र प्रभावित सर्वसाधारणको न्युनतम सुरक्षा निर्माण अवधिभर के कसरी गर्न सकिन्छ, सम्भावित दुर्घटनास्थल कुन–कुन हुन्, दुर्घटना भइहाले कसरी समाधान गर्ने भन्ने कार्यविधि तयार पार्नुपर्छ । त्यसलाई स्वास्थ्य सुरक्षा अधिकृतको निरन्तर निगरानीमा कार्यान्वयन गर्नुपर्छ । आ यति त हो, यसरी नै चलिहाल्छ, हिजो केही भएको थिएन, आज ’नि केही हुन्न भनेर केही नगर्ने हो भने हरेक निर्माणस्थल दुर्घटनाको मुहान बन्न सक्छ । निर्माण स्थलमा दुर्घटना जहाँ जतिखेर पनि हुनसक्छ ।
निर्माणस्थल र वरपर सर्वसाधारण तथा बटुवाको सुरक्षा जिम्मा निर्माण व्यवस्थापकको जिम्मेवारी हो । निर्माणस्थललाई चारैतिरबाट घेरेर सर्वसाधारण सजिलै जान नसक्ने बनाउनुपर्छ । बटुवालाई वैकल्पिक र सुरक्षित मार्गको व्यवस्था गर्नुपर्छ । ठाउँ–ठाउँमा जानकारीमूलक साइनबोर्ड राख्नुपर्छ । रातको समयमा चम्किने किसिमका बार अथवा टेप लगाउनुपर्छ ।
यसरी निर्माणस्थलमा किन दुर्घटना दोहोरिरहन्छ ? निर्माण व्यवसायसंँग सम्बन्धित सुरक्षा नीति, नियम कमजोर हो ? यस बारेमा यो लेख केन्द्रित छ ।
कानुनले के भन्छ ?
संविधान प्रदत्त नागरिक हक तथा संविधानमा उल्लिखित निर्देशक सिद्धान्तले गरेको मार्गदर्शन एवं राज्यद्वारा घोषित नीतिले समेत व्यवसाय वा आर्थिक तथा सेवामूलक क्रियाकलापमा संलग्न व्यक्तिको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिएको छ । श्रम ऐन २०७४ को दफा ६८–६९ को व्यवस्था अनुसार श्रमिक र कार्यस्थल सुरक्षाको जिम्मा सम्बन्धित रोजगारदाता वा व्यवसायीको हो । श्रम ऐनमा रोजगारदाताले निर्माणस्थलको सुरक्षा र स्वास्थ्य कसरी व्यवस्थित बनाउने भनी उल्लेख गरिएको छ । रोजगारदाताले आफै नियमावली बनाई सुरक्षा व्यवस्था मजबुत गर्नसक्ने प्रावधान पनि ऐनमा छ । ऐन अनुसार रोजगारदाताले हरेक कार्यालय वा निर्माणस्थलमा सुरक्षा जिम्मेवार व्यक्ति तोक्नुपर्छ ।
दुर्घटना न्युनीकरण
कामदारले कामको प्रकृति अनुसार व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग अनिवार्य गर्नुपर्छ । कामदारले आवश्यक उपकरण प्रयोग गरे–नगरेको निरीक्षण स्वास्थ्य सुरक्षा अधिकारीले गर्नुपर्छ । सेफ्टी हेल्मेट, निर्माण पञ्जा, बुट, निर्माण चस्मा, मास्क, ध्वनि नियन्त्रक हेडफोन, रातमा टल्किने ज्याकेट वा वस्त्रजस्ता सुरक्षाका न्युनतम उपकरण निर्माण कम्पनीले कामदारलाई उपलब्ध गराउनुपर्छ । कामको प्रकृति अनुसार उपकरण पहिरन अनिवार्य गराउनु अधिकृतको जिम्मेवारी हो । केही प्रतिष्ठित र ठूला निर्माण कम्पनीले सुरक्षा अधिकृत राखेर कामदारलाई सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराएका छन् । तर अधिकांश निर्माण कम्पनीले यसमा बेवास्ता गरिरहेका देखिन्छन् । मापदण्ड बनाएर कामदार सुरक्षा उपकरण प्रयोग नगरी कार्यक्षेत्रमा प्रवेश गर्न नपाउने प्रावधान नराख्ने हो भने अहिलेको अवस्थामा सुधार हुने देखिन्न ।
धेरै उचाइका काम (अग्ला भवन), चलायमान उपकरण (एक्स्काभेटर, डोजर र क्रेन) तथा तिनीहरूको आसपास, गहिरो खाल्टो वा ट्रेन्च खन्ने काम, बिजुली सम्बन्धी वा बिजुली लाइन नजिक आदि धेरै दुर्घटना हुनसक्ने निर्माण क्षेत्र हुन् । गह्रौं वस्तु उचाल्नुपर्ने, चर्को आवाज तथा थर्कावट आउने र रासायनिक वस्तु सम्बन्धी कामले स्वास्थ्यमा असर पार्न सक्छन् । यी फरक–फरक कामका लागि कामदारले फरक–फरक सुरक्षा उपकरण पहिरिनुपर्छ ।
अग्लो ठाउँमा काम गर्दा हेल्मेट र सेफ्टी हुक अनिवार्य प्रयोग गर्नुपर्छ । निर्माण सामग्री खस्न सक्ने ठाउँमा जाली राख्नुपर्छ । खाल्टो वा ट्रेन्च धेरै गहिरो खन्नुपरे दुवैतिर बलियो टेको राख्नुपर्छ । पानी भए पानी तान्ने पम्प व्यवस्था गर्नुपर्छ । कतिपय ठाउँमा गहिराइ अनुसार अक्सिजन सिलिन्डर र टर्चलाइट चाहिन्छ । गह्रौं वस्तु उचाल्नु र सार्नुपरे उपयुक्त उपकरण प्रयोग गर्नुपर्छ । चर्को ध्वनिबाट बच्न ध्वनि रोक्ने हेडफोन चाहिन्छ । मास्क पनि चाहिन सक्छ ।
वेल्डिङमा उपयुक्त चस्मा पहिरिनुपर्छ । सुरुङ र साँघुरा स्थानमा काम गराउनु अघि विशेष तालिम दिनुपर्छ । सुरक्षाका उपकरण पनि विशेष निगरानीका साथ प्रयोग गर्नुपर्छ । विद्युत सम्बन्धी कामका लागि विशेष सतर्कता अपनाउनुपर्छ । इनार सफा गर्ने क्रममा अक्सिजन सिलिन्डर, कम्मरमा डोरी र बाहिर सम्पर्क गर्नसक्ने सूचकयन्त्र प्रयोग गर्नुपर्छ ।
निर्माणस्थलमा आधारभूत प्राथमिक स्वास्थ्यका समान अनिवार्य राख्नुपर्छ । कामदारलाई सुविधा हुनेगरी चर्पीको व्यवथा गर्नुपर्छ । स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्छ । निर्माण कार्यमा संलग्न सबैलाई सामान्य निर्माण सुरक्षा र स्वास्थ्यको तालिम चाहिन्छ । सुरक्षा उपकरण नलाउनेलाई निर्माण क्षेत्रमा प्रवेश निषेध गरिनुपर्छ ।
विद्युत आयोजनाको डाइभर्सन ड्यामको संरचनागत बनावट र पहाडी क्षेत्रमा सडक निर्माण गर्दा छेउ र भित्तापट्टिको भूगोलको गहन अध्ययन जरुरी छ । कुनै कारणवश डाइभर्सन ड्याम फेल हुने वा सडकमा पहिरो खस्ने हो भने धेरै क्षति हुनसक्छ । ब्लास्टिङ, ड्रिलिङ, पुराना संरचना भत्काउने तथा वेल्डिङ र विद्युतका काम सम्बन्धित क्षेत्रका दक्ष कामदारलाई पनि सुरक्षा उपकरणको प्रयोग अनिवार्य गराउनुपर्छ । आयोजना, निर्माण कम्पनी, परामर्शदाता र अन्य सरोकारवालाको प्रस्ट जानकारी सर्वसाधारणले देख्नेगरी राख्नुपर्छ । विस्फोटक पदार्थ भण्डारण, विद्युतीय लाइन अन्य खतराजन्य स्थान र वस्तुहरूका लागि अतिरिक्त साइनबोर्ड राख्नुपर्छ ।
सर्वसाधारणको सुरक्षा
सडकमा विशेष ट्राफिक चिह्न राख्ने, कतै खाल्टा छन् भने चारैतिरबाट खाल्टालाई छेक्ने प्रबन्ध मिलाउनुपर्छ । छेकबारमा रातमा टल्किने टेप टाँस्नपर्छ । निर्माण कार्यमा कामदारलाई न्युनतम सुरक्षा उपकरण र वातावरण उपलब्ध गराउन नसक्ने कम्पनीलाई कारबाही गर्नुपर्छ । सबैलाई आफ्नो जिम्मेवारी बहन गर्न कानुनी रूपमै बाध्य पार्नुपर्छ ।
संसारका ठूलठूला निर्माण योजना न्युन जनशक्तिको क्षतिबाट सम्पन्न भएका उदाहरण प्रशस्तै छन् । अग्लो भवन बुर्जखालिफा निर्माणका क्रममा एक जनाको ज्यान गयो । दुई वर्षअघि सम्पन्न अद्भुत पनामा नहर विस्तार आयोजनामा नौ वर्षको अवधिमा सात जनाको मृत्यु भयो । स्वीटजरल्यान्डले बनाएको ५७ किलोमिटर लामो रेल सुरुङ निर्माण क्रममा नौ जनाको मृत्यु भएको थियो । हामी पनि काठमाडौं–निजगढ द्रुतमार्ग, भेरी–बबई डाइभर्सन, बूढीगण्डकी, पश्चिम सेती र कर्णाली जलविद्युत जस्ता ठूला आयोजना निर्माण गर्ने क्रममा छौं । लामा–लामा रेलमार्ग निर्माण गर्ने कुरा छ । स्वास्थ्य र सुरक्षाको मापदण्ड बनाएर कडाइका साथ लागु गर्ने हो भने निर्माण कार्यमा दुर्घटना न्युन गर्न सकिन्छ । निर्माण कार्य सुरक्षित उद्योग बन्न सक्छ ।
निर्माण व्यवस्थापनको महत्त्वपूर्ण पक्ष निर्माण सुरक्षा हो । सरोकारवाला निकायहरू निर्माण सुरक्षाप्रति सम्वेदनशील हुनुपर्छ । यसले निर्माणकार्य बेलैमा पूरा गर्न पनि सहयोग गर्छ ।
सिभिल इन्जिनियर शर्मा र कार्की क्रमश: बेलायत र अमेरिकामा कार्यरत छन् ।

Thursday, August 2, 2018

निर्माणमा नेपाली सेना


श्रावण १७,  २०७५ अर्थात २ अगस्ट २०१८ मा अन्नपूर्ण दैनिकमा प्रकाशित मित्र रामराजा शर्मा र मेरो विचार जस्ता को तस्तै  http://annapurnapost.com/news/104480

सार्वजनिक निकायहरू कमजोर भएकै आधारमा निर्माण कार्यमा सेनालाई विकल्पका रूपमा प्रयोग गरिनु घातक हुन सक्छ

रानीपोखरी निर्माणको जिम्मा नेपाली सेनालाई दिने भनिएसँगै यस विषयमा चर्चा सुरु भएको छ। हुन त सेनालाई निर्माण गर्न दिइएको पहिलो सार्वजनिक निर्माण योजना भने होइन यो। विशेषगरी सडक निर्माण कार्यमा करिब विगत दुई दशकदेखि सेना संलग्न हुँदै आएको छ। हालैको तथ्यांकअनुसार विभिन्न २६ वटा सडक निर्माण योजनाका करिब एक हजार ४८ किलोमिटर निर्माणमा सेना संलग्न छ। सेना संलग्न भएका प्रमुख सडकमा सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेंसीसहर–चामे, मुसीकोट–बुर्तीबाङ, बागलुङ–जोमसोम, जोमसोम–कोराला, छिन्चु–जाजरकोट, सल्यान–मुसीकोट, गोर्खा–आरूघाट आदि हुन्।
त्यस्तै भारतीय संलग्नतामा विवादित बनेको काठमाडौं–तराई जोड्ने फास्ट ट्र्याक गत वर्ष मात्रै नेपाल सरकारको निर्णयअनुसार नेपाली सेना संलग्न भइराखेको छ। सुरुवाती चरणमा मूलतः सडक निर्माणमा सेनाका जवान प्रयोग गर्ने भनिए पनि अहिले आएर यसले सार्वजनिक निर्माणकै एउटा निकायजस्तै गरी सार्वजनिक निर्माणमा हुने सम्पूर्ण खरिद प्रक्रियामा संस्थागत रूपमै सहभागी हुँदै छ र गराइँदै छ। साना ठेकेदार र परामर्शदाता नियुक्तिदेखि निर्माण सामग्रीसमेत आफैं खरिदमा संलग्न हुँदैछ। के यसरी नेपाली सेनालाई सार्वजनिक निर्माण कार्यमा संलग्न गराउनु उचित हो ? सार्वजनिक निर्माण कार्यका लागि भनी स्थापित सार्वजनिक अड्डाहरू साँच्चै निकम्मा भएका हुन् ? ती निकायप्रति नागरिक भरोसा र विश्वास कम भएको हो ? वा निर्माण कार्यमा हुने अनावश्यक झमेला र वादविवादबाट क्षणिक रूपमा पन्छिनका लागि मात्रै फौजी संगठानलाई अघि सारिएको हो ? के आन्तरिक सुरक्षा र उद्धार कार्यमा संलग्न हुनुपर्ने फौजी संगठन नाफामुखी र व्यावसायिक कार्यमा संलग्न हुनु उचित हो ? यसको तत्कालीन र दीर्घकालीन असर के हुन्छन् ? सरोकार सबैमा यावत् प्रश्न उठ्न स्वाभाविक हो।
सार्वजनिक निर्माणमा सेना
नेपाली सेना एक फौजी संगठन हो। यो संस्था सार्वजनिक निर्माण कार्यका लागि सांगठनिक, सैद्धान्तिक, पेसागत र दक्षताको हिसाबले पनि गठन गरिएको होइन। त्यसैले सार्वजनिक निर्माणका लागि नेपाली सेना कुनै हिसाबमा उपयुक्त संस्था होइन, यद्यपि यसको निर्माण दक्षता फौजी संगठनलाई तत्कालीन आवश्यक पर्ने अस्थायी वा स्थायी संरचना निर्माणलगायत आपत्कालीन सेवामा नभएको भने होइन। संसारभरि नै सैनिक वा अन्य फौजी संगठन देशको आन्तरिक सुरक्षा र आकस्मिक सेवाका लागि निर्माण गरी तम्तयार राखिएको हुन्छ।
सार्वजनिक चासो र आम सर्वसाधारणको प्रत्यक्ष सरोकार हुने सार्वजनिक निर्माणका लागि गठन गरिएका सार्वजनिक संस्थाभन्दा सैनिक संगठन विल्कुलै फरक हुने गर्छ। सार्वजनिक चासो सम्बोधन गर्ने अन्य नागरिक अड्डामा जस्तो फौजी संगठनमा आम जनताको सजिलो पहुँच पनि हुँदैन। अहिलेको बदलिँदो परिस्थितिमा सार्वजनिक निर्माण भनेको ‘वान वे डेलिभरी’ मात्रै होइन। आम उपभोक्ताको चासो पनि सम्बोधन गरिनुपर्छ। फौजी संगठनको चरित्रले नै यस्तो चासो सम्बोधन हुने सम्भावना रहँदैन। यसर्थ चारित्रिक एवं सैद्धान्तिक रूपले नै फौजी संगठनलाई सार्वजनिक निर्माण कार्यमा संलग्न गराउन मिल्दैन। झन् नाफामुखी कार्यमा संलग्न गराउनु भनेको त फौजी संगठनको उद्देश्यबाटै विमुख गराउनु र संगठनलाई संस्थागत भ्रस्टीकरण गर्नु हो।
पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कुशलतापूर्वक रानीपोखरीको पुनर्निर्माण गरेको भए त्यसमा नेपाली सेनाको संलग्नताको चर्चा चल्थ्यो र ?
त्यसको अर्थ सार्वजनिक निर्माण कार्यमा सेनालाई उपयोग गर्नै नसकिने भन्ने पनि होइन। अमेरिकाजस्ता प्रजातान्त्रिक देशमा पनि त्यस्तो अभ्यास पाइन्छ। तर अमेरिकामा सेनाको नेतृत्वमा इन्जिनियर र निजामती कर्मचारी पनि संलग्न छन्। यूएसएसीई नामक संस्थामार्पmत यस्तो अभ्यास हुने गर्छ। यस्तो कार्यको निम्ति बेग्लै कानुन नै निर्माण गरिएको छ। सेनालाई आवश्यक पर्ने पूर्वाधार निर्माण, आन्तरिक सुरक्षा, प्राकृतिक प्रकोपमा आपत्कालीन उद्धार, सार्वजनिक निर्माण, वातावरण व्यवस्थापन र तोकिएको क्षेत्रमा जलस्रोत व्यवस्थापन र बाँध सुरक्षाजस्ता कार्यमा यो संस्थाले काम गर्छ। यसका अतिरिक्त यो संस्थाले अनुसन्धान गरी विभिन्न इन्जिनियरिङ स्ट्यान्डर्डसमेत प्रकाशन गर्ने गरेको छ।
नेपाली सेनालाई पनि त्यसैगरी निर्माण कार्यमा सहभागी बनाउने हो भने छुट्टै कानुन निर्माण गरी अरू कुनै सार्वजनिक निकाय संलग्न नभएको वा तोकिएको क्षेत्रमा संलग्न गराउन सकिन्छ। अहिले रानीपोखरी निर्माण या कुनै खास निर्माण योजनामा जस्तो पटके निर्णयमा आधारित भएर भने होइन।
कमजोर सार्वजनिक निकाय
सार्वजनिक निर्माण कार्यकै लागि भनी विषयगत दक्षतासहित सडक विभाग, सिँचाइ विभाग, खानेपानी विभाग, भवन विभागजस्ता सार्वजनिक अड्डा विद्यमान छन्। तर यी संस्था प्रभावकारी कार्य सम्पादन गर्न चुकेको र यिनीहरूको कार्यप्रणालीप्रति आम सर्वसाधारणको विश्वास कम हुँदै गएको भने नकार्न सकिँदैन। यसको कारण खोजी गरी निराकरण गर्न सरकार, प्रशासनिक निकाय, संस्थाका प्रमुख र भविष्यका आकांक्षी नेतृत्वकर्ताले सोच्ने बेला भएको छ। बदलिँदो परिस्थितिअनुसार यी संस्थाको सांगठनिक स्वरूप र क्षमता अद्यावधिक गरिनुपर्छ। नयाँ प्रविधिसँग अद्यावधिक हुन नयाँ पुस्ताका विशेषज्ञलाई आकर्षण गर्ने र संस्थामा आबद्ध हुने बाटो खुला गरिनुपर्छ। आफूमाथि लागेको ‘भ्रष्ट’ को आरोपबाट मुक्त हुन यी सार्वजनिक संस्थाले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नैपर्छ। विशेषगरी सार्वजनिक निर्माणमा संलग्न इन्जिनियरहरू भ्रस्टाचारमा बद्नाम भएका छन्।
दक्ष व्यक्तिहरू संस्थाको कर्मचारी नै हुनुपर्छ भन्ने पनि छैन। यसका लागि बाहिरबाट पनि विषयविज्ञ चाहिन्छ। तर कमी कमजोरी छ भन्ने स्विकारेर सुधार गर्न भने तयार हुनुपर्छ। सार्वजनिक निकायका सानातिना कमजोरीले संस्थाले विश्वास गुमाएकै कारण सार्वजनिक निर्माणमा सेनालाई प्रत्यक्ष संलग्न हुने वातावरण बनेको हो। सार्वजनिक निकायका प्रमुखहरू यो तथ्यबाट अनभिज्ञ पक्कै छैनन् होला। आफ्नो कमजोरी सुधार गर्दै सडक विभागले क्षमता विकास गरी दक्षता प्रयोग गरेको भए के सेनालाई सडक निर्माणमा संलग्न गराउनुपथ्र्यो ? पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कुशलतापूर्वक रानीपोखरीको पुनर्निर्माण गरेको भए त्यसमा नेपाली सेनाको संलग्नताको चर्चा चल्थ्यो र ? सार्वजनिक निकायको आफ्नै कमजोरीको कारणले सेनालाई निर्माण र नाफामुखी काममा संलग्न हुनुपर्ने बाध्यताको विकास जानाजान गरिएको त होइन ?
समाधान हो सेना ?
परिस्थिति अनुकूल भएका सार्वजनिक योजना मात्रै सार्वजनिक अड्डामार्फत गर्ने र कुनै पनि विवादित वा परिस्थिति प्रतिकूल भएका सार्वजनिक निर्माण कार्यमा सेनाको संलग्नता खोज्दै हिँड्नु समाधान होइन। अझ अहिलेको प्रजातान्त्रिक युगमा त झन् यो सुहाउने कुरै होइन। सार्वजनिक कार्य एकतर्फी कार्यसम्पादन पनि होइन, जहाँ फौजी डन्डाले विवाद छलफल बन्द गराउँदैमा समस्या समाधान भएको मान्न सकियोस्। सार्वजनिक निर्माण कार्यमा नेपाली सेना प्रवेश नै विवाद समाधानको निर्विकल्प साधन होइन, बरू समस्याको प्रवेश विन्दु हो। सार्वजनिक निकायको जिम्मामा पर्ने हरेक विवादित योजना सेनालाई जिम्मा लगाउनु समाधान होइन। यसले सार्वजनिक निकाय र सेना दुवै संस्थालाई अहित गर्नेछ।
विश्वव्यापी चलनअनुसार नै कुनै खास परिस्थितिमा कुनै खास कामका लागि, विशेषगरी आपत्कालीन उद्धार कार्य र अस्थायी निर्माण कार्यमा, सेनालाई संलग्न गराउनु अपेक्षित सामान्य प्रक्रिया नै हो। सैनिक शक्तिलाई निर्माण कार्यमा संलग्न गराउनु नै छ भने ऐनमा नै व्यवस्था गरी कुनै खास क्षेत्र वा परिधि कोरेर नागरिकसमेत संलग्न हुने व्यवस्था गरी अरू सार्वजनिक निकायजस्तै संसद र जनताप्रति उत्तरदायी हुने गरी गर्नुपर्छ। तर दीर्घकालीन सार्वजनिक निर्माण आयोजना अझ त्यसमा पनि पुरातात्विक महŒवका रानीपोखरी निर्माणजस्तो विषयमा विवाद अन्त्य गर्न नसेकेको जस्ता बहानाकै आधारमा नेपाली सेनाको जिम्मा लगाउनु सार्वजनिक निकायप्रतिको भरोसा झन् कमजोर बनाउनु हो।
सार्वजनिक निकायका कमीकमजोरी हटाई तिनको सुधार गर्नु, क्षमता अभिवृद्धि गर्नु, थप प्रजातान्त्रिक र जवाफदेही बनाउनु नै एक मात्र विकल्प हो। एउटा खास विवादित निर्माण योजना निर्माणमा सेनालाई संलग्न गराउँदा तत्कालीन समस्या तत्काल समाधान त होला, तर यसले निम्त्याउने खतरा र सार्वजनिक निकायको अविश्वासको थप क्षयीकरण र नेपाली सेनामा आउने नाफामुखी सोचेले निम्त्याउने खति अनुमान गरेभन्दा धेरै ठूलो हुनेछ।


– डा. कार्की अमेरिकामा ड्रेनेज विशेषज्ञका रूपमा कार्यरत इन्जिनियर हुन् भने शर्मा बेलायतमा जलस्रोतविद्का रूपमा कार्यरत सिभिल इन्जिनियर हुन्।

Tuesday, July 31, 2018

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

श्रावण १५  २०७५ अर्थात ३१ जुलाई २०१८ मा नागरिक दैनिकमा प्रकाशित मित्र केशव शर्मा र मेरो विचार जस्ता को तस्तै  https://nagariknews.nagariknetwork.com/news/53546/


काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ, जसको वातावरणीय असर त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ।
काठमाडौँ उपत्यकाको प्रमुख सहरी क्षेत्रभन्दा बाहिर रहेको र भूमिगत पानी पुनःभरणका लागि राम्रो मानिएको मूलपानीमा समेत सन् २००१ र २०१३ मा खनिएको डिपवेलले पानीको सतह घटेको पाइएको थियो । सन् २००१ मा जमिनबाट ३३.३ मिटर मात्रै गहिरो थियो, जबकि सन् २०१३ मा करिब ३६ मिटर पुगेको देखियो ।
त्यस्तै टौदह, कीर्तिपुरमा सन् २००१ मा करिब ७.९५ मिटरमुनि पानीको सतह भेटिएकामा २०१४ मा त्यो सतह १०.३४ मिटर तल पुगेको पाइएको थियो । त्यस्तै लुभू, ललितपुरमा २००१ मा ३०.११ मिटर गहिराइमा पानी भेटिएकामा २०१४ मा ४० मिटर तल पुग्यो । ३० वर्षअघि ८ देखि १० मिटर खन्दा भेटिने पानीको स्रोत अहिले ४०–५० मिटरसम्म खन्दासमेत पाउन कठिन छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले सञ्चालन गरेको ट्युबेलबाट केही वर्ष अघिसम्म प्रतिमिनेट हजार लिटर पानी आउँथ्यो, अहिले ७०० लिटर आउँछ । राणाकालसम्म पनि उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो । त्यतिबेला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो । अहिले काठमाडौँमा रहेका करिब ३९० ढुंगेधारा रहेकामा १६० ढुंगेधारा सुकिसकेका छन् । साथै परम्परादेखिका इनारहरू सुकिसकेका छन्।
जमिनमुनिको पानी तानिरहने तर पक्की संरचनाले वर्षात्को पानी जमिनमुनि छिर्न नपाउने भएपछि काठमाडौँको भूमिगत पानीको सतह घट्दै गइरहेको छ । यसैकारणले गर्दा पर्याप्त पानी जमिनमुनि पुग्नुको सट्टा नाली, ढल हुँदै खोलामा बगिरहेको छ, जसले गर्दा उपत्यकाका बाढी तथा डुबानको प्रकोप बढ्दो छ । केही समयअघिको भक्तपुरको डुबानको एक कारण यो पनि हो । सन् १९५० मा काठमाडौँ उपत्यकाको करिब १ प्रतिशत क्षेत्रफलमात्र भवन तथा अन्य पूर्वाधरहरू रहेकामा सन् २०१६ मा करिब २० प्रतिशत पुगेको छ ।
काठमाडौँ महानगरपालिकाभित्रको क्षेत्र मात्र हेर्ने हो भने करिब ८३ प्रतिशत जमिन भवन तथा पूर्वाधारहरूले ढाकेको छ । जसबाट उपत्यकामा वर्षेनि करिब चार करोड लिटर पानी मात्रै रिचार्ज हुनसक्ने आँकलन गरिएको छ । केही वर्ष अघिसम्म उपत्यकाका ढुंगेधारा र इनारमा अटुट पानी आउनुको कारण वर्षाको पानी जमिनमुनि गएर रिचार्ज हुनु नै हो । ठुल्ठूला फाँट तथा खुल्ला स्थानहरूबाट पानी जमिनमुनि छिरेर भूमिगत पानीको सतह घट्न दिँदैन्थ्यो । उपत्यकामा राजकुलाहरूले सिँचाइ र जमिन रिचार्जको काम गर्थे । विना पुनःभरण (रिचार्ज) दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकाल्दा माटोको संरचना बिथोलिएको छ । यसरी जमिनमुनि पानी पुनःभरणको तुलनामा निकै धेरै पानी तानिरहेकाले भूमिगत पानीको प्राकृतिक सन्तुलन बिग्रिएको छ ।
सन् १९९० तिर जाइकाले गरेको अध्ययनले काठमाडौँ उपत्यकामा दैनिक डेढ करोड लिटरभन्दा बढी निकालिएमा भूमिगत पानीको सतह घट्न गई प्राकृतिक सन्तुलन बिग्रने देखाएको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको वितरणको जिम्मा पाएको केयुकेलले २०० मिटर गहिरा करिब ८० वटा डीप बोरिङमार्फत मात्र दैनिक करिब आठ करोड लिटर पानी निकालिरहेको छ, यो उपत्यकाको वर्तमान पानीको पुनःभरण (रिचार्ज) को दुई गुणा बढी हो । निजी क्षेत्रले पनि अवैधानिक रूपमा ठूलो मेसिन तथा गहिरो ट्युबवेल प्रयोग गरी पानी तानिरहेका छन् । आधिकारिक तथ्यांक नभए तापनि करिब ७५० वटा भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ जसमध्ये अनुमति प्राप्त करिब २०० वटा डिप बोरिङहरू छन् ।
यिनै व्यवसायीहरूबाट उपत्यकावासीले दैनिक करिब ३ करोड रुपियाँको पानी किनेर उपयोग गरिरहेका छन् । भूमिगत पानीको दोहन नियन्त्रण गर्न आजसम्म कहीँकतैबाट कुनै कदम चालिएको छैन । कानुनअनुसार दैनिक केही मात्रामा मात्र पानी निकाल्न पाइए तापनि, जति पानी निकाल्यो त्यही अनुरूप पुनःभण्डारण गर्नुपर्ने नियम छ । सरकारी निकाय केयुकेलले आफैँले पानीको दोहन गरेपश्चात् पानी पुनःभण्डारणको काम गरेको छैन । साथै जमिनको सतह भन्दा १०० मिटर मुनिको पानी तथा २ इन्चभन्दा ठूलो पाइप प्रयोग गरेर विनाअनुमति भूमिगत पानी दोहन गर्न प्रतिबन्ध लगाएको छ । यद्यपि यो कुरा कार्यान्वयन भएको छैन । होटलहरूले आठ इन्चभन्दा बढीको पाइप प्रयोग गरी बोरिङमार्फत दैनिक पचास हजार लिटरभन्दा बढी पानी जमिनमुनिबाट झिक्दै आएका छन्।
उपत्यकामा भूमिगत पानीको परिमाण करिब १५ अर्ब घनमिटर रहेको देखिन्छ । यसमध्ये करिब ३ अर्ब (२०–३० प्रतिशत) घनमिटर पानी मात्र उपयोग गर्न सकिने हुन्छ । हालको अनुपातमा भूमिगत पानीको प्रयोग भइराख्ने हो भने भूमिगत पानी अबको १०० वर्षभन्दा कम समयसम्ममा पनि नपुग्ने देखिन्छ । भूमिगत पानीको सतहभन्दा माथि करिब २२६.५ मिलियन घनमिटर खाली ठाउँ रहेको छ । जुन खाली ठाउँलाई समयमै भर्न सके उच्च दोहनबाट निम्तिन सक्ने धेरै समस्याहरूलाई न्यूनीकरण गर्न सकिन्छ।
करिब दैनिक ३६ करोड लिटर पानीको माग रहेकामा औसतमा दैनिक १० करोड लिटर खानेपानी आपूर्ति हुन्छ । वर्षायाममा भने १३ करोड लिटर आपूर्ति हुन्छ । काठमाडौँ उपत्यकाको पानी आपूर्तिको महत्वपूर्ण अंश मेलम्ची हो तर यो आयोजना निर्धारित समयभन्दा धेरै ढिलो भइसकेको छ । मेलम्ची परियोजना सोचेजस्तो भए पनि बढ्दो जनसंख्या र पानीको मागको कारणले यसले अब काठमाडौँको आवश्यकता पूर्ति गर्न सक्दैन।
बढ्दो पानीको माग पूरा गर्न तथा भूमिगत पानीको दोहनलाई नियन्त्रण गर्ने निम्नानुसार गर्न सकिन्छ । काठमाडौँको भूमिगत पानीको अवस्थाको यकिन गर्न राज्यले आवश्यक अध्ययन गर्न आवश्यक छ । अध्ययनले कुन कुन क्षेत्रहरूबाट सन्तुलित रूपमा कति पानी निकाल्न सकिन्छ र कुन कुन क्षेत्रबाट पानीको सहज भरण (रिचार्ज) सकिन्छ त्यसको लेखाजोखा गरिनुपर्छ । पानी निकाल्न मिल्ने ठाउँमा मात्र अध्ययन अनुसारको पानी निकाल्न अनुमति दिनुपर्छ । जथाभावी पानीको दोहन नियन्त्रण गर्नका लागि आवश्यक नियमहरू बनाउने, भएका नियमहरूको प्रभावकारी कार्यान्वयन गराउनु पर्छ । न्यून खर्चमा सामान्य विधिबाट पनि भूमिगत पानीको सतहको अवस्था नापिरहन सकिन्छ जसले भूमिगत पानी असन्तुलित रूपमा निकालेको वा ननिकालेको यकिन गर्न सकिन्छ ।
काठमाडौँको सबै स्थानहरूबाट भूमिगत पानीको पुनःभरण सजिलै हुँदैन ।
माटोको प्रकार जस्तै ग्रेगर, बालुवा, कालोमाटो र जमिनको भिरालोपना तथा बोटबिरुवाको घनत्वजस्ता आदि कुराहरूले पानीको पुनःभरणको सहजतालाई निर्धारण गर्छ । एक अध्ययनले काठमाडौँको भूमिगत पानीलाई उत्तरी, मध्य र दक्षिण गरी तीन तीन खण्डमा विभाजन गरेको छ । यी मध्य उत्तरी भेगका करिब २५ भन्दा बढी क्षेत्रहरू जस्तैः गोंगबु, नेपालटार, सीतापाइला, मूलपानी, थानकोट, सुन्दरीजल, इचंगुनारायण, बोडे र मनहरा खोला आदि क्षेत्रहरू भूमिगत पानी पुनर्भरणको दृष्टिकोणले उचित मानिन्छ । यो बालुवा, ग्रेगानका सतहले बनेको क्षेत्र भएकाले सहजै पानी छिर्न सक्छ जसलाई ‘रिचार्ज क्षेत्र’ भनिन्छ । तर यी क्षेत्रहरूमा केही वर्षदेखि घर तथा अन्य निर्माणहरूको चाप बढ्दै गइरहेको छ जसले गर्दा उपत्यकाको पानी पुनःभरण हुने क्षेत्र विनाश भई जमिनभित्र पानी छिर्ने मात्रामा कमी हुँदै गएको छ ।
यस्ता क्षेत्रमा निर्माणका कार्यहरू नियन्त्रण गरी संरक्षित क्षेत्रका रूपमा विकास गर्नुपर्ने हुन्छ । भूमिगत पानीको पुनः भण्डारणका लागि नगरपालिकाले घर बनाउँदा घरबाहेक खाली स्थान छाड्ने र त्यसको केही प्रतिशत क्षेत्र खुला राख्नुपर्ने नियम कडाइकासाथ लागू गर्नुपर्छ । यसरी खुला राखेको क्षेत्रमा निर्माण कार्यले संकलन हुने अतिरिक्त पानीले रिजार्च पनि हुने र जमिनको सतहबाट बगेर जाने पानी पनि कम हुन गई बर्खा यामको पानी (स्टोर्मवाटर) व्यवस्थापनमा पनि सहयोगी हुने दोहोरो फाइदा हुने हुन्छ । पुराना इनार, ताल, पोखरीलाई रिचार्ज गरेर बढाउन, हरियाली बढाएर खुला क्षेत्रलाई प्रयोग गरी पानीको स्रोत बढाउनुपर्ने आवश्यकता छ।
काठमाडौँ र ललितपुरको सहरी क्षेत्र मध्यखण्डमा पर्छ । यहाँ पानी छिर्न र बग्न सक्ने पातलो बालुवा, ग्रेग्रानलगायत सतहसँगै करिब २ सय मिटर बाक्लो कालिमाटी तह छ । यही क्षेत्रमा सबभन्दा बढी डिपवेल छन् । कालिमाटीबाट पानी छिर्न नसक्ने भएकाले यहाँ कतैबाट पनि रिचार्ज गर्न सकिँदैन । दुई सय मिटर बाक्लो कालिमाटीमुनिबाट अत्यधिक मात्रामा भूमिगत पानी दोहन गरिसकेपछि त्यस क्षेत्र जोखिमपूर्ण हुन सक्छ । दक्षिणी खण्ड सतुंगल, नैकाप, पाटन, चक्रपथ, धोबिघाट, हरिसिद्धि क्षेत्रमा बाक्लो कालीमाटीको सतह भएकाले पानी पुनःभरण हुन सक्दैन यस्ता क्षेत्रहरूबाट डिप बोरिङ गरी ठूलो मात्रामा पानी निकाल्न प्रतिबन्ध लगाउनु पर्छ।
घर बनाउने बेलामा नै पानी जम्मा गर्ने गरी योजना बनाउने हो भने एउटा घरको आवश्यकता केही हदसम्म पूरा गर्न सकिन्छ । यसलाई रेन वाटर हार्भेस्टिङ भनिन्छ । पानी दुई तरिकाले जम्मा गर्न सकिन्छ । पानी टयांकी बनाएर र अर्को जमिनमा इनार बनाएर जमिनमा पानी रिचार्ज गर्ने । इनार बनाएर पानी रिचार्ज गर्ने पद्धति वातावरणीय हिसाबले एकदम आवश्यक छ । यसले भूमिगत पानीको पुनः भण्डारणमा सहयोग गर्छ ।
यस विधिलाई प्रयोगमा ल्याउन नीति निर्माण तहबाट सहयोग हुनुपर्छ । वर्षायामको पानीलाई संकलन गरेर भूमिगत जलभण्डारलाई पुनःभरण गर्न सरकारले काठमाडौँ उपत्यका भूमिगत जलस्रोत व्यवस्थापन नीति स्वीकृत गरे तापनि राज्यस्तरबाट आकाशे पानीको प्रयोगको बारेमा खासै प्रयास भएको देखिँदैन । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सन् २०११ देखि ‘रिचार्ज काठमाडौँ’ अभियान चलाएको भए पनि खासै उपलब्धिमूलक हुन सकेको छैन ।काठमाडौँको खानेपानीको ठूलो समस्या भनेको पानीको वैकल्पिक स्रोतको पहिचान नगरी दशकौँदेखि मेलम्ची कुर्दै बस्नु हो । पहिलादेखि प्रयोगमा आएका स्थानीय स्रोत र मुहानको संरक्षण हुन सकिरहेको छैन । उपत्यका वरिपरि र बाहिरका अन्य धेरै स–साना खानेपानीका स्रोतको अनुसन्धान, संरक्षण र स्तरोन्नति गरी उल्लेखनीय मात्रामा आपूर्ति  बढाउन सकिन्छ।
उपत्यकामा खानेपानी पूर्ति गर्नका लागि बालाजुको मूल, दुधपोखरी, सुन्दरीघाट, नख्खु खोला र शिवपुरी क्षेत्र आदिहरूबाट पानी ल्याइने गरेको छ । तर यीमध्ये केहीबाट आवश्यक संरक्षण र विकास तथा विस्तारको योजना नहुनाले क्षमताअनुसार पानी प्राप्त गर्न सकिएको छैन भने केही स्रोतहरू उपेक्षाका कारण सुकिसकेका छन् । निरन्तर पानी आइरहने ढुंगेधारा र मूलहरूबाट खेर जाने पानीलाई जम्मा गरेर व्यवस्थित वितरण गर्नुपर्छ । साथै, उपत्यकामा रहेका पुराना ढुंगेधारा, इनार, कुवा, पोखरीलगायतका अन्य स्रोतहरूको पनि जगेर्ना गर्नु आवश्यक छ।
अन्त्यमा, काठमाडौँ उपत्यकामा बर्सेनि हजारौँ घर थपिँदैछन्, यसले वर्षको ३ हजार रोपनी जमिन सिल भइरहेको छ, यही दरमा जमिन ढाकिँदै गए आउँदो ३५ वर्षमा उपत्यकाभित्रबाट पानी पुनर्भरण हुन पाउँदैन र उपयोग गर्न सकिने भूमिगत पानी सकिएर उपत्यकालाई चाहिने सबै पानी काठमाडौँ बाहिरबाट ल्याउनुपर्ने हुन सक्छ । भूमिगत पानीको आत्यधिक दोहन रोक्न र पुनःभरण गर्नका लागि तत्कालीन र दीर्घकालीन नीति, कार्ययोजना अपरिहार्य छ । आवश्यक ऐन, नियम तथा कार्यक्रम र त्यसअनुरूपको कार्ययोजना, कार्यान्वयनका लागि आवश्यक स्रोतसाधन, नियमन गर्ने संयन्त्रको विकास गरी समस्या समाधानका निम्ति तदारुकता चाहिन्छ । अन्यथा, हाम्रा सन्ततिहरूले काठमाडौँ उपत्यकामा भूमिगत पानी पनि उपयोग गरिन्थ्यो भन्ने इतिहास चाँडै पढ्नेछन् ।
(शर्मा र कार्की सिभिल इन्जिनियर हुन् ।)

Wednesday, July 25, 2018

गृह मन्त्रालयको डन्डा

श्रावण ९ २०७५ अर्थात २५ जुलाई २०१८ मा नेपाल विक्लीमा प्रकाशित मित्र रामराज शर्मा र मेरो विचार जस्ता को तस्तै http://nepal.ekantipur.com/news/2018-07-25/20180725163508.html

यातायात व्यवसायीको सिन्डिकेट तोड्ने उद्घोष गरेको सरकार अब अरू सिन्डिकेट पनि तोड्ने बताउँदैछ । भलै, यातायातको सिन्डिकेट तोड्ने उसको अभियानले कालान्तरमा सिन्डिकेटकै संरक्षण हुन गएको भनी बीचैमा विवादित बनेको छ । अब सरकार समयमा काम नसक्ने निर्माण व्यवसायी (ठेकेदार) लाई गृह मन्त्रालयमार्फत कारबाही गर्न सूचना संकलन अभियानमा लागेको देखिन्छ । सर्वसाधारणमा यसले सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ भने निर्माण व्यवसायीमाझ त्रास । चौतर्फी जिज्ञासा छन्– सार्वजनिक निर्माणमा रहेको ढिलासुस्ती रोक्न गृहले गरेको कारबाही कति युक्तिसंगत छ ? यो कदम उचित हो होइन ? यसले ढिलासुस्ती हट्ला ? यो कदम कति दिगो होला ?
साधारण भाषामा, सर्वसाधारणको सुविधाका लागि सरकारी र सार्वजनिक निकायबाट गरिने निर्माण कार्य नै सार्वजनिक निर्माण हो । यसमा सामान्यत: तीन पक्ष सामेल हुन्छन्– सरकारी (पब्लिक) निकाय, इन्जिनियर अर्थात् परामर्शदाता र निर्माण व्यवसायी अथवा ठेकेदार । अहिले चर्चामा रहेका प्राय: सार्वजनिक निर्माणका इन्जिनियर र सेवाग्राही अधिकांश एकै हुन् । नेपालमा सार्वजनिक निकायमार्फत गरिने सबै सार्वजनिक निर्माण कार्यलाई (दुईदेशीय वा बहुदेशीय सम्झौताका आयोजनाबाहेक) सार्वजनिक खरिद ऐन र नियमावलीले निर्दिष्ट गर्छन् । हरेक सार्वजनिक निकायले निर्माण, वस्तु र सेवाको खरिद प्रक्रियामा उक्त ऐन र नियमावली अवलम्बन गर्नु अनिवार्य छ । यसबाहेक निर्माण प्रक्रियामा संलग्न सम्बद्ध पक्षको काम–कर्तव्य, जिम्मेवारी, निर्माण प्रक्रिया, सुरक्षाविधि र अन्य सम्बन्धित वातावरणीय कानुन पालना आदिबारे सम्झौता दस्तावेज, विशिष्टीकरण, योजना, लागत आदिमा समावेश गरिएको हुन्छ । कामको प्रगति मूल्यांकन गर्ने निर्माण तालिका र अनुगमन योजना पनि निर्माणका मुख्य दस्तावेज हुन् । यी सबै ऐन, नियम, दस्तावेज परिधिभित्र रहेर सार्वजनिक निर्माण कार्य गर्नु र गराउनु इन्जिनियरको जिम्मेवारी हुन जान्छ ।
सामान्यत: निर्माण कार्य ढिला हुनुमा प्राकृतिक कारण, आर्थिक स्रोत र साधनको सीमितता, निर्माण सामग्रीको आपूर्तिमा समस्या, मानव संसाधनको कमी, ठेक्का सम्झौतापछि कामको प्रकृति वा डिजाइनमा फेरबदल र कतिपय अवस्थामा अरू सानातिना कामका लागि नियुक्त साना निर्माण व्यवसायी भरपर्दा नहुनुजस्ता कारण नै मुख्य हुन् । सार्वजनिक निर्माण ढिला हुनुमा संलग्न यिनै पक्ष संयुक्त वा एकल जिम्मेवार हुन सक्छन् ।
प्राकृतिक कारणले हुने ढिलासुस्तीमा मौसम वा त्यस्तै अन्य दैवीप्रकोप, आतंककारी वा आपतकालीन राज्य अवस्था, बन्द हड्ताल हुने गर्छन् । सेवाग्राही वा इन्जिनियरका कारणले ढिलासुस्ती हुनुमा बारम्बार डिजाइन वा कामको प्रकृतिमा परिवर्तन गरिरहनु, समयमा पीएसई स्वीकृत नगर्नु, आवश्यक गुणस्तर परीक्षण नगरिदिनु, समयमा बिलभर्पाइ सिफारिस र भुक्तानी नगरिदिनु, आवश्यक जनशक्ति नियुक्ति नगरिदिनु, निर्माणसँग आवश्यक अन्य जग्गा अधिग्रहण नगर्नु वा त्यस्तै अन्य आवश्यक कानुनी व्यवधान समयमा सल्टाउन नसक्नु हुन् । निर्माण व्यवसायीका कारण ढिलासुस्ती हुनुमा कानुनी र सम्झौतामा रहेका साना कमजोरीको फाइदा उठाउँदै अनावश्यक क्षतिपूर्ति माग गर्नु, भेरिएसन अर्डर गर्न लगाउनु अनि योजनाको लागत र समय दुवै बढाउनु हुने गर्छन् ।
सार्वजनिक निर्माण ढिला हुनुमा अन्य अदृश्य कारण पनि छन् । राजनीतिक आडमा रहेका ठेकेदार, सम्बन्धित सरकारी अधिकारी र निर्माण व्यवसायीसमेतको मिलेमतो वा मौनता र त्योभित्रको आर्थिक लाभको पाटो कसैबाट छिपेको छैन ।

कारबाहीका समस्या

समस्याको सुरुआत नै निर्माण व्यवसायीका संगठनहरूको कार्टेलिङ बिडिङ (बोलकबोल) बाट सुरु हुन्छ । कहाँ, कसले बिडिङ गर्ने भन्ने निर्णय निर्माण व्यवसायीको संगठनले छनोट गरेको हुन्छ । तोकिएका ठेकेदारबाहेक अरूले बिडिङ गर्नु भनेको गुन्डासँग ज्यानको खतरा मोल्नु बराबर हो । सार्वजनिक खरिद ऐन र नियम बमोजिम रीत पुर्‍याएर आएका बिडलाई कार्टेलिङ हो भन्ने जान्दाजान्दै पनि सम्बन्धित अधिकारीले केही गर्न सक्ने अवस्था छैन र हुँदैन ।
दोस्रो समस्या हो– प्राविधिक क्षमताको । नेपालका सबै सार्वजनिक निकाय गुणस्तरीय पीएसई, कन्ट्रयाक्ट डकुमेन्ट, निर्माण तालिका, गुणस्तर परीक्षण र निर्माण अनुगमन गर्न सक्षम छैनन् । एकै आर्थिक वर्षभित्र सकिने या ३–४ आवभित्र सम्पन्न गरिने सार्वजनिक निर्माण कार्य अधिकांश ‘इन हाउस’ प्रकृतिका छन् अर्थात्, सेवाग्राही र इन्जिनियर आफैँ । यसको अर्थ हो, बिड डकुमेन्ट, कन्ट्रयाक्ट डकुमेन्ट, पीएसई, निर्माण तालिका, निर्माण सुरक्षाविधिलगायत सबै डकुमेन्ट आफैँ तयार गर्नुपर्छ । तर, यी सबै काम गुणस्तरीय रूपमा गर्न सबै सार्वजनिक निकाय सक्षम छैनन् । अधिकांश निर्माण योजनाको अनुमानित परिमाण र रकम अनि सम्झौताका सामान्य दस्तावेजबाहेक अरू बनेकै हुँदैनन् भन्दा पनि फरक पर्दैन । वस्तुगत निर्माण तालिका बनाउने, निर्माणका विभिन्न चरणमा गुणस्तर मापन र त्यसपछि मात्रै भुक्तानी गरिने भनेर ऐनले गरेको परिकल्पना सार्वजनिक निर्माण कार्यको अभिन्न अंग बन्न सकेकै छैन । निर्माण कार्यको गुणस्तर कायम राख्न सम्बन्धित ठाउँमा निर्माण अवधिभर परामर्शदाताको पक्षबाट कन्स्ट्रक्सन इन्स्पेक्टर (अनुगमनकर्ता) हुनुपर्ने कुरा कल्पना मात्रै भएको छ ।
यसैगरी योजना अवधि थप गर्ने सम्बन्धमा सार्वजनिक खरिद ऐन र नियममा ‘मनासिब कारण रहेमा’ सम्बन्धित सरकारी निकायले समयावधि थप गर्न सक्नेछ भन्ने व्यवस्था छ । कुनै वस्तुगत आधार बेगर नै ‘तजबिजी’ अधिकारले निर्माण अवधि थपिने भएपछि सम्बन्धित अधिकारी र निर्माण व्यवसायीको आर्थिक मोलमोलाइ हुने नै भयो । यद्यपि, सबै निर्माण ढिला हुनुमा आर्थिक मोलमोलाइ एक मात्र कारण भने होइन । योजना ढिला हुनुमा प्राकृतिक वा आकस्मिक कारणभन्दा क्षणिक आर्थिक लाभका निम्ति नियोजित र सिर्जित कारण नै प्रभावी हुन्छन् । त्यसैले कतिपय अवस्थामा निर्माण कार्यमा हुने ढिलासुस्ती आकस्मिक नभई नियमित र नियोजित रूपमा सिर्जित समस्या हो भन्दा अत्युक्ति हुँदैन । निर्माण व्यवसायीको आर्थिक लाभ लिएका कुनै अमूक दलको राजनीतिक संरक्षण पाएका व्यवसायीको निर्माण अवधि बढाउने एउटा हस्तलिखित निवेदन र आर्थिक प्रलोभनमा परी सम्बन्धित अधिकारीको ‘मनासिव कारण’ को कृपा पाउन्जेल हरेक योजना निर्माण अवधि बढ्छ । योजनामा अनावश्यक ढिलासुस्ती हुँदा वादविवाद, मुद्दा मामिला, स्रोत–साधनको बर्बादी भएर कतिपय अवस्थामा त निर्माण कार्य नै तुहिएका उदाहरणसमेत छन् ।

औचित्यहीन कदम

अहिले गृह मन्त्रालयमार्फत निर्माण व्यवसायीमाथि गर्न लागिएको भनिएको कारबाही उचित हो । तर, यसले ढिलासुस्ती अन्त्य गर्छ त  ? यसको सोझो उत्तर हुन्छ– होइन र गर्दैन । तर, सार्वजनिक निर्माणको जिम्मेवारी लिएका सम्बन्धित निकायले समयसीमाभित्र निर्माण कार्य सक्ने भनी ठेक्का सम्झौता गरेका तर पूरा गर्न नसकेका निर्माण व्यवसायीलाई समयमै कानुनी कारबाहीको दायरामा ल्याउन सकेको भए सरकारले गृह मन्त्रालयमार्फत सायद यस्तो कठोर कदम चाल्नैपर्ने थिएन । यसो भन्दैमा गृहमार्फत निर्माण व्यवसायीमाथि गर्ने भनिएको कारबाही कुनै पनि हिसाबले युक्तिसंगत र औचित्यपूर्ण छैन र हुन सक्दैन । यसले सार्वजनिक निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य पनि गर्दैन र यदि अहिले भइहाले पनि यो अभ्यास सही र दीर्घकालीन हुन सक्दैन । निर्माण व्यवसायीलाई तत्तत् सार्वजनिक निकायबाटै कानुनी कारबाही हुनुपर्छ ।
सार्वजनिक निर्माणमा भइरहेको र हुन सक्ने ढिलासुस्ती निवारणको एक मात्र अनिवार्य सर्त हो– सम्बन्धित निकायलाई नै जवाफदेही र क्षमतावान बनाउनु । कुनै पनि निर्माण कार्य ठेक्का सम्झौता भएपछि तोकिएको अवधिमा हुन नसक्नुको औचित्य पुष्टि गर्न वस्तुगत आधार तयार गर्ने र समयावधि बढाउन सम्बन्धित निकाय प्रमुखको तजबिजी ‘मनासिव कारण’ पुष्टि गर्ने आधार बेगर सम्झौता अवधि बढाएको पाइए सम्बन्धित प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने । ठेक्का सम्झौता गर्दा नै उचित र तथ्यसंगत आधारमा निर्माण अवधि कायम गर्ने र यसलाई नियमित अद्यावधिक गर्ने, निर्माण कार्य सम्पन्न भएपछि कुनै मोलाहिजा नगरी भुक्तानी व्यवस्था गर्ने, समयमा प्राविधिक अनुगमन र गुणस्तर परीक्षण गर्ने/गराउने र नगरे सार्वजनिक निकाय प्रमुखलाई नै दण्ड–जरिवानाको व्यवस्था गर्ने ।
यी सबै काम गर्न अर्को अनिवार्य सर्त हो– सार्वजनिक निर्माण कार्य गर्ने निकाय निर्माणसँग सम्बन्धित सबै इन्जिनियरिङ पक्षमा क्षमतावान हुनुपर्छ । समयमा गुणस्तर परीक्षण नगर्ने, काम गर्न आवश्यक पीसएसई प्रदान गर्न नसक्ने, निर्माण कार्यमा संलग्न पक्षको जिम्मेवारी र कन्ट्रयाक्ट डकुमेन्ट आदि तयार गर्न नसक्ने, कुनै विवाद भए समयमा समाधान नगर्ने र समयमा भुक्तानी नदिने अनि व्यवसायीलाई मात्र दोष दिएर समस्या सुल्झिदैन । निर्माण कार्यमा हुने ढिलासुस्ती हटाउने हो भने गृह मन्त्रालयमार्फत डन्डा होइन, सम्बन्धित सार्वजनिक निकायलाई क्षमतावान बनाई तिनमाथि निगरानी गर्ने र नगर्नेलाई प्रमुख जिल्ला अधिकारीमार्फत गृहको डन्डा सम्बन्धित निकायमा चलाउँदा समस्या सुल्झिन सक्छ । निर्माण कार्य गराउने सार्वजनिक निकायले बढी भार पार्ने गरी सेवाग्राही र इन्जिनियरको भूमिका वहन गर्न सक्दैनन् भने केही निर्माण कार्यमा इन्जिनियरको भूमिका कुनै परामर्शदाताबाट गराउनेतर्फ पनि सोच्नु उपुक्त कदम हुनेछ ।
प्राकृतिक प्रकोप वा अन्य कारणसँग कसैको केही लाग्दैन । तर, निर्माण कार्यमा संलग्न इन्जिनियर, सम्बन्धित सरोकारवाला अधिकारीले आफ्नो क्षणिक आर्थिक लाभ नहेरी जिम्मेवारी मात्रै पूरा गरिदिने हो भने नियतवस् गरिएको ढिलासुस्ती समस्या न्यूनीकरण हुनेछ । जोरजबर्जस्तीको भाषा मात्रै बुझ्ने र त्यसैबाट समाधान खोज्ने बानी परेकालाई गृह मन्त्रालयको यो कदम सामाजिक खपतकै लागि भए पनि केही राम्रो मान्न त सकिएला । तर, यसले न स्थायी समाधान दिन्छ, न त कानुनी राजको महसुस नै गराउँछ ।
(कार्की अमेरिकामा ड्रेनेज इन्जिनियर तथा शर्मा बेलायतमा जलस्रोतविज्ञका रूपमा कार्यरत छन् ।)
प्रकाशित: श्रावण ९, २०७५

Sunday, July 15, 2018

सडक कि डेथ ट्र्याप ?

मित्र रामराज शर्मा र मेरो लिखोट अन्नपूर्ण पोस्टमा (मिति ३२ असर २०७५ अर्थात् १५ जुलाई २०१८) मा प्रकाशित जस्ताको तस्तै http://annapurnapost.com/news/103078

गत शुक्रबार माथिल्लो मुस्ताङको सडक विस्तारमा खटिएका २० जना मजदुरहरूको दुर्घटना परेर मृत्‍यु भएको दुःखद् खबर आयो। सामाजिक सञ्जालमा समवेदना र दुःख प्रकट गर्ने काम सबैतिरबाट भयो र हरेक दुर्घटनापश्चात हुने सडक सुरक्षाबारे बहस छेड्नपर्ने आवाज पनि आयो। यस्ता दुर्घटना बारम्बार भइरहेका छन् तर सरोकारवाला निकायहरू सधैं मौन देखिन्छन् वा भनौं निकम्मा सावित हुँदैछन्। न त भइरहेका सडकहरूको सुरक्षा बढाउने गरी कुनै काम भएको छ न त नयाँ बन्ने सडकहरू न्यूनतम सुरक्षाका मापदण्डअनुसारकै बनिरहेका छन्। नेपाल प्रहरीका अनुसार २०७४/७५ साउनदेखि जेठसम्म दुई हजार दुई सयभन्दा धेरैले सडक दुर्घटनामा परेर ज्यान गुमाएको तथ्यांक छ। लगभग दस हजार सवारी साधन दुर्घटना भएकोमा ११ हजारभन्दा धेरै घाइते भएको तथ्यांक पनि जारी गरिएको छ।
अर्थात् दैनिक सरदर छजनाले ज्यान गुमाउने र ३१ जनाभन्दा धेरै घाइते भइरहेको देखिन्छ। संसारका सबै देशहरूमा सडक दुर्घटना भइरहेका छन् र हुन्छन् तर सडक सञ्जालको लम्बाइ, सवारी साधनहरूको संख्या र जनसंख्याको अनुपात हेर्ने हो भने हाम्रो देशमा डरलाग्दो अवस्था छ। विश्व स्वास्थ्य संगठनले २०१५ मा जारी गरेको तथ्यांक हेर्ने हो भने सडक दुर्घटना प्रतिलाख सवारी साधनमा नेपालमा चार सय, भारतमा एक सय ३०, भुटानमा एक सय ६७, पाकिस्तान दुई सय ८३, श्रीलंकामा ७१, बंगलादेशमा एक हजार २०, बेलायतमा ३.६ र अमेरिकामा ७.१ छ। अर्थात् दक्षिण एसियामा हामीभन्दा बंगलादेशको अवस्था डरलाग्दो छ भने अति विकसित देशहरूमा यो संख्या निकै न्यून देखिन्छ। विशेषगरी अफ्रिका र एसियाका विकासोन्मुख देशहरूमा सडक सुरक्षा निकै कमजोर देखिन्छ। नेपाल प्रहरीको आँकडा हेर्दा दुर्घटनामा मृत्‍यु हुने संख्या र सवारी साधनको संख्या ग्रामीण सडकमा अत्यधिक छ। सडक दुर्घटनाका केही कारण र तिनका समाधानका उपाय केके हुन सक्छन् त ?
किन भइरहेका छन् दुर्घटना ?       
सडक दुर्घटना हुने मानवीय, प्राविधिक (सडक र गाडी) र प्राकृतिक कारण हुन्छन् तर हाम्रो देशमा हुने दुर्घटनाको मुख्य कारण प्राविधिक कमजोरी र व्यक्तिगत हेलचेक्य्राइँ (मानवीय) रहेको देखिन्छ। हाम्रा अधिकांश सडकहरू अझै विशेषगरी ग्रामीण सडकहरू विनाइन्जिनियरिङ निर्माण गरिएका छन्। गाउँपालिका वा नगरपालिकामा आउने बजेटको ठूलो अंश ग्रामीण सडक निर्माणमा खर्च गरिएको छ, तर कुनै प्राविधिक अध्ययन र मापदण्ड अनुशरण नगरी। यो क्रम निकै वर्षदेखि जारी छ तर सरोकारवाला निकायहरूले सुरक्षित सडक निर्माण गर्न कहिल्यै चासो देखाएको देखिएन। आफ्नो गाउँ आफंै बनाऔं भन्ने कार्यक्रमबाट सुरु भएको गाउँगाउँमा डोजर लगाउने कार्य अहिलेसम्म उत्तिकै जारी छ।
सुरक्षित सडक निर्माण गर्न निश्चित सडक इन्जिनियरिङका मापदण्ड अपनाउनु आवश्यक छ। सडकको एलाइन्मेन्ट एउटा प्रमुख तत्व हो भने घुम्तीमा आवश्यक रेडियस (अर्धचाप), साइट डिस्टेन्ट ( देखिने दूरी), लगत्तै आउने घुम्तीबीचको दूरी, उकाली–ओरालीको ग्रेडिएन्ट र सुपर इलिभेसन (घुम्तीमा हुने भित्री र बाहिरी छेउको उचाइ फरक) जस्ता तत्वहरूको पनि सडक सुरक्षामा उत्तिकै महत्व रहन्छ। हाम्रा ग्रामीण र भित्री सडकहरूमा यी सडक सुरक्षा र इन्जिनियरिङ तत्वहरूलाई कतै पनि अनुशरण गरिएको छैन। त्यसैले यस्ता सडकहरूमा निरन्तर सडक दुर्घटना भइरहेका छन्।
यसका अलवा सुरक्षा संकेतहरूको पनि उत्तिकै महत्व हुन्छ, जुन प्रायः राखिएको हुन्न र राखिए पनि पालना गरिएको छैन। कतिपय राजमार्गहरूमा पनि अन्तर्राष्ट्रिय स्तरका सडक इन्जिनियरिङ तत्वहरू नभएर सडक दुर्घटना भएको इतिहास छ। पोखरा बागलुङ राजमार्गमा कैयौं यस्ता ठाउँहरू थिए, जो सडक गतिअनुसार मिलेका थिएनन् तर विस्तारै ती कमजोरी हटाइएको थियो। अन्य सडकहरूको पनि त्यही हालत छ। सडकको ज्योमेट्रिक डिजाइन गतिले निर्धारण गर्छ– एउटा गतिका लागि डिजाइन गरेको सडक ज्योमेट्रीमा त्योभन्दा धेरै गतिमा सवारी हाँक्दा सडक सुरक्षा निकै बढ्ने हुन्छ, यो अवस्था पनि लगातार दोहोरिरहेको छ हाम्रा राजमार्गमा।
सडक दुर्घटनाको अर्को प्राविधिक कारण सवारी साधनको अवस्था पनि हो। प्रायजसो ग्रामीण सडकमा गुड्ने सार्वजनिक यातायातका साधनहरू (जसले ग्रामीण बस्तीको ठूलो जनसंख्यालाई सेवा पुर्‍याइरहेको छ) निकै पुराना मात्र होइन, सुरक्षाको दृष्टिकोणबाट निकै जोखिमपूर्ण रहेको देखिन्छन्। विदेशतिर सम्पूर्ण सवारी साधनलाई सडकमा गुड्न सुरक्षित छन् कि छैनन भनेर निरन्तर चेकजाँच गरी सुरक्षा पास भएपछि मात्र चलाउन पाउने बाध्यकारी नियम छ। हामीले पनि त्यस्तो प्रावधान राख्नुपर्ने देखिन्छ।
सवारीचालक अनुमतिपत्र दिँदा निकै ध्यान पुर्‍याउनुपर्नेमा कतिपय अवस्थामा केही पैसा बुझाएमा परीक्षाविना घरमै चालक अनुमतिपत्र ल्याइदिने दलालहरू अझै पनि सक्रिय छन्। त्यस्ता नक्कली चालकहरूले यात्रुलाई भनेको गन्तव्यमा होइन कि कालको मुखमा पुर्‍याउने सम्भावना अधिक हुन्छ। मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बाटोमा गति प्रतिस्पर्धा गर्ने, सडक सुरक्षा सूचनालाई अनुशरण नगर्ने चालकहरूका कारण दुर्घटना बढिरहेका छन्। अर्कोतर्फ यात्रीको चेतनाको कमी र हेलचेक्य्राइँ पनि उत्तिकै जिम्मेवार छ दुर्घटना निम्त्याउन।
"सडकमा यात्रा गर्न अनुमति दिने सार्वजनिक निकायलाई कारबाहीको भागीदार नबनाउने हो भने हाम्रा सडकहरू चाहेको गन्तव्यमा पुर्‍याउने माध्यम होइन कि ‘डेथ ट्र्यापकै रूपमा रहिरहनेछन्।"
आफूलाई हतार छ भन्दै जबर्जस्ती चढ्न खोज्ने, चालकलाई गति बढाउन उक्साउने वा दबाब दिने यात्रु पनि दुर्घटनाका कारण हुन्। मुख्य राजमार्गहरूमा समेत जानकारीमूलक र सावधानी अपनाउनुपर्ने आवश्यक सूचना निकै न्यून मात्रामा छन् भने भित्री सडक (फिडर रोड) र ग्रामीण सडकहरूमा त छँदै छैनन् भन्दा पनि फरक पर्दैन। प्रायजसो स्थानीय निकायलाई यसबारेमा जानकारीसमेत छैन। सडकछेउ र लेन छुट्ट्याउने लाइनमा फरकफरक किसिमका रोड स्टडहरू राख्नुपर्नेमा त्यस्तो हुन सकिरहेको छैन। केही राजमार्गमा भर्खर यो कार्य सुरु गरिएको छ। गति नियन्त्रणका लागि आवश्यक भौतिक संरचना र ठाउँठाउँमा सिसिटिभी राख्नुपर्नेमा त्यसो हुन सकेको छैन। पृथ्वी राजमार्गमा बारम्बार तीव्रगतिका कारण दुर्घटना भइरहँदा पनि त्यसतर्फ ध्यान दिन सकिएको छैन।
सडक सुरक्षा भूगोल र मौसममा (प्राकृतिक) पनि भर पर्छ। पहाडी र हिमाली सडकहरू तराईको सडकको तुलनामा निकै सुरक्षा संवेदनशील हुन्छन्। वर्षामा पहिरोले यात्रुवाहक सवारी साधनलाई गुडिरहेकै अवस्थामा पुरिएका घटना भइरहेकै छन्। बुटवलनजिकैको सिद्धबाबा मन्दिरनजिकै धेरै वर्षदेखि दुःखद् घटना भइरहेका छन्, तर अहिलेसम्म सुधार गर्न सकिएको छैन। कर्णाली र सुदूरपश्चिम तथा पूर्वका केही जिल्लामा निर्माण गरिएका सडक भूगोलको दृष्टिकोणले जोखिमपूर्ण छन्।
वर्षात्को बेलामा पहाडी सडकमा पहिरो र तराईका सडकमा जाडोयाममा लाग्ने हुस्सुले निकै धेरै दुर्घटना भइरहेको देखिन्छ। तर चालक र यात्रुले सावधानी अपनाउने हो भने यस्ता दुर्घटना टार्न सकिन्छ। सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको उमेर हेर्ने हो भने अधिकांश १८ देखि ४५ वर्ष उमेरका देखिन्छन्। अर्थात् कर्मशील उमेर जो कामका लागि लगातार यात्रा गरिरहन्छ, यस्तो उत्पादनशील उमेरका धेरै जनसंख्या देशले गुमाइरहेको छ। अर्कोतर्फ आफ्नो थातथलो नछोडी गाउँघरमै कृषि तथा अन्य उत्पादनमा लागिरहेको ठूलो जनसंख्या यस्ता दुर्घटनाबाट पीडित बनिरहेको छ। समग्रमा देशले उत्पादनशील र ऊर्जावान् उमेरका धेरै युवायुवती गुमाइरहेको छ। हाम्रो सरकार सडक सुरक्षामा कहिल्यै पनि संवेदनशील बनेको देखिन्न। अहिलेको सरकार पनि भइरहेका सडकको स्तरोन्नति र नयाँ सडकको निर्माण निश्चित मापदण्डअनुरूप निर्माण गर्नुभन्दा रेल र पानीजहाजतिरै अल्झिएको हो कि जस्तो देखिन्छ।
के गर्नु आवश्यक छ त ?      
जुनसुकै सडक निर्माण गर्दा पनि निश्चित इन्जिनियरिङ मापदण्ड र प्रचलित नियम–कानुनअनुसार मात्र बनाउन आवश्यक छ। नेपाल रोड स्ट्यान्डर्डलाई पूर्णरूपमा कार्यन्वयन गराउनुपर्छ। जथाभावी विनाप्राविधिक डोजर लगाएर सडक निर्माण गर्ने संस्कार तुरुन्त रोक्नुपर्छ र निर्माण भइसकेका सडकहरूको विस्तृत निरीक्षण गरी क्रमिकरूपमा सुधार गर्दै जानुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा कुनै सडक न्यूनतम मापदण्डविना डिजाइन गरिएको भए सम्बन्धित इन्जिनियरलाई उत्तरदायी बनाई कारबाहीको भागी बनाउने कानुन ल्याउनुपर्छ र न्यूनतम मापदण्डविनाका सडकमा गाडी चल्न दिनु हँुदैन र यसको कारण दुर्घटना भएको भए सडकमा गाडी चलाउने अनुमति दिने अधिकारी या सार्वजनिक कार्यालयलाई मुद्दा चलाउन सक्ने व्यवस्था कानुनमै गर्नपर्छ।
प्रत्येक दुर्घटनालाई एउटा पाठका रूपमा लिँदै एउटा स्थायी रूपको सडक दुर्घटना छानबिन समिति बनाउँदा राम्रो हुन्छ। प्राविधिक र विज्ञहरूको त्यस्तो छानबिन समितिले कारण र न्यूनीकरणका उपाय सुझावका रूपमा पेस गरिसकेपछि सोहीअनुरूप आवश्यक कानुन निर्माण तथा भइरहेका सडक मापदण्डहरूमा परिवर्तन गर्दै जाँदा भविष्यमा त्यस्ता दुर्घटना न्यून हुनेछन्।
सवारी चालकको लाइसेन्स वितरणमा कडाइ गर्ने अर्थात् पक्का चालक बनेपछि मात्र अनुमतिपत्र दिने गर्नुपर्छ। लाइसेन्स वितरणमा भइरहेको अनियमितता तुरुन्त रोकिनुपर्छ। सडक मार्किङ, गति नियन्त्रणका लागि आवश्यक संरचना र कडा कानुन, राति प्रस्ट देखिने गरी सडकछेउ र डिभाइडरमा फरकफरक रङका स्टडहरू राख्ने, सवारी साधनको नियमित सुरक्षा जाँच गर्ने गर्दा धेरै दुर्घटना नियन्त्रण हुन्छन्। न्यूनतम सडक मापदण्ड र सूचनाको कारण दुर्घटना भएको रहेछ भने त्यो दायित्व वहन गर्ने सार्वजनिक निकायको अधिकारीमाथि मुद्दा चलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्छ। यसका अलावा सरकारी निकाय र अन्य सरोकारवाला संस्थाहरूले सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी निम्नलिखित सचेतनामूलक कार्यक्रम गर्दा दीर्घकालीनरूपमा सडक दुर्घटना निकै न्यून गर्न सकिन्छ :
क. सामुदायिक सडक सुरक्षा समितिहरू गठन गर्ने,
ख. स्थानीय क्लबहरू, आमा समूहहरू र अन्य संस्थाहरूलाई सडक सुरक्षासम्बन्धी तालिम र जानाकारीमूलक कार्यक्रम सञ्चालन गर्ने,
ग. चालकहरूलाई (विशेषगरी सार्वजनिक यातायातका) सडक सुरक्षासम्बन्धी अनिवार्य तालिम लिनुपर्ने बाध्यकारी प्रावधान राख्ने।
घ. गाउँगाउँमा सडक सुरक्षासम्बन्धी नाटक वा चलचित्रहरू प्रदर्शन गर्ने।
ङ. स्कुलका बालबालिकालाई नियमितरूपमा सडक सुरक्षासम्बन्धी जानकारी र तालिम दिने, विद्यार्थी ट्राफिक क्याडेट निर्माण गर्ने।
च. सबै सडकमा पर्याप्त मात्रामा सावधानीमूलक सूचनाहरू राख्ने
छ. रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
अन्त्यमा,
सडक दुर्घटना पूरै रोक्न नसके पनि न्यूनीकरण अवश्य गर्न सकिन्छ। अहिलेसम्म भएका अधिकांश ग्रामीण सडक दुर्घटनाको कारण न्यूनतम मापदण्ड (जोमेट्रिक र सुरक्षा) विनाका सडक र सवारी चालकका चरम लापरबाही नै हुन्। सरकार र सरोकारवाला निकायहरूले अल्पकालीन र दीर्घकालीन रूपमा सडक सुरक्षा बढाउने कार्यक्रम र नीतिनियम तुरुन्त लागू गर्न अति आवश्यक भइसकेको छ।
यसरी नै न्यूनतम मापदण्डविनाका सडक जथाभावी बनाइरहने र ती नाममात्रैका सडकमा यात्रा गर्न अनुमति दिइरहने, ती कथित सडकमा यात्रा गर्न अनुमति दिने सार्वजनिक निकायलाई कारबाहीको भागीदार नबनाउने हो भने हाम्रा सडकहरू चाहेको गन्तव्यमा पुर्‍याउने माध्यम होइन कि ‘डेथ ट्र्यापकै रूपमा रहिरहनेछन्। दिगो र सुरक्षित सडक मार्ग निर्माणमा सबैको ध्यान केन्द्रित होस्, अरू धेरैले ज्यान गुमाउन नपरोस्।

अस्तु!!