भतुवालाई गाली गरेर एउटा लेख लेखिएको थियो यसरी: नगरीक अगस्ट १३ अर्थात साउन २९ मा प्रकशित गरेछ तर अलिकति सेन्सर गरेर। ओरिजिनल चै यस्तो थ्यो ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
विदेशमा बसोबास गरेक नेपालीहरुको पनि एउटा संगठन बनाउन आवश्यक छ भनेर सन् २००३
मा परिकल्पना गर्दा सायदै आजको यो विरूप एनआरएनको कल्पना गरिएको हुदो हो। कुनै संजोगले यसका सुरुवाती अभियन्ता मध्ये उपेन्द्र
महतो या अरु कोहीसंग भेट भएछ भने यो प्रश्न सोधुला नै। या कुनै माध्यमबाट उहाँहरुले
उत्तर दिने दिनु भएछ भने आभारी हुनेछु। एनआरएन स्थापना भएको करीब १५ बर्ष भएको छ र
यस अवधिमा करीब ७५ देशमा यसको संगठन विस्तार भएको छ। कुनै पनि संगठन विकासको
हिसाबले १५ बर्ष अवधि पक्कै पनि कम हैन। तर के यसले आफ्नो शुरुवाती अवस्थामा
राखेको लक्ष्य,उदेश्य हासिल गर्न सफल हुदैछ त? के साच्चै नै यो विदेशमा बस्ने
नेपालीको प्रतिनिधि सस्था हो त? के यसले उनीहरुको हक हितको संरक्षण गरेको छ त?
समीक्षा गर्ने बेला भै सकेको छ र यदि छैन भने कोर्ष करेक्सन गर्न पनि अबेला गर्न हुन्न।
एनआरआइ (Non Resident Indian) को सिको गरेर गठन भएको यो संस्था शुरुवातका
वर्षहरुमा बिदेशी नेपाली र नेपालीहरुमा समेत राम्रै आकर्षणको केन्द्र थियो। किनकि माओबादी
द्वन्द कालमा लगानी गर्न कोही पनि इच्छुक नभई रहेको बेला समेत यसले जलबिद्धुत र
भौतिक पुर्वाधारमा लगानी गर्ने आकर्षक नारा अघि सारेको थियो। बाहिरी संसार राम्रोसंग
नदेखेका नेपाली, राजनीतिक दल र सरकार समेतले यो कुरा पत्याई दिए। हालाकी बर्तमानमा
यो अर्कै तथ्य हो, संस्थाको हरेक २ बर्षमा हुने अन्तराष्ट्रिय सम्मेलनमा समेत नेपाल
सरकारले खर्च बेहोर्नु परेको छ र बिगत १५ बर्षमा खाडी मुलुकमा गएर श्रम गरेर
पठाएको रेमिट्यान्सको ५ प्रतिशत पनि एनआरएन मार्फत संगठित लगानी भएको छैन। बोली र
ब्यबहार बीचको फरक थाहा पाउन त भर्खरै भूकम्प पछि एनआरएन मार्फत भूकम्प पिडितलाई
बनाइ दिने भनेको घर हेरे मात्र पनि उदाहरण काफी छ।
“एक पटकको नेपाली सधैको
नेपाली” भन्ने नारा त बिदेशमा बस्ने नेपालीको लागि आकर्षक छदै थियो। यसको
निहितार्थ थियो दोहोरो नागरिकता। कुनै कारणले नेपाली नागरिकता त्यागेका नेपालीलाई
यही मेसोमा बिदेशी नागरिकता वा स्थाई बसोबास पत्र नत्यागी फेरी नेपाली नागरिकता
लिन पाए दुवै हातमा लड्डु हुने नै भयो। एनआरएन यो उद्देश्यमा सफल पनि भयो, नागरकिताको
नयाँ प्रावधान संबिधानमा राख्न। त्यो आफैमा नेपालको दीर्घकालीन हितमा छ कि छैन वा
त्यसले नेपाल र नेपालीलाइ के फाइदा हुनेछ,केही बर्ष पछि थाहा हुने नै छ। सुरुवाती
अवधिको यिनै आकर्षक नारा,तत्कालिन नेतृत्व तुलनात्मक रुपमा राजनीतिक रुपले
निरपेक्ष, सार्वजनिक/सामाजिक रुपमा कम विवादित र आर्थिक रुपमा सम्पन्नशाली भएको
कारण एनआरएन बिबाद रहित र लक्ष्य/उदेश्य उन्मुख थियो भन्दा फरक नपर्ला। तर समय
संगै यस्ले आफ्नो लक्ष्य अनुसार काम गरेको छैन भन्न हिच्किचाउनु पर्दैन। ठाउँ र
आस्था अनुसार अमुक राजनीतिक दलको गोटीको रुपमा विकास हुदै गएको जग जाहेर छ। अहिले
आएर त यस्तो अवस्थामा पुगिसक्यो कि यस्तै चालामा एनआरएन चल्ने हो भने यसको औचित्य
र आवस्यकता दुवै सकियो भनेर घोसणा गरिएदिए पनि शतप्रतिशत सही नहोला तर गलत भने
हुने छैन।
एनआरएनको परिकल्पना गर्नु
आफैमा एउटा सार्है सर्हानिय,महत्वपुर्ण र आवश्यक कदम थियो। यसको उद्देश्य अमुक
व्यक्तिहरुको सामाजिक छवि उचो बनाउन मात्र नभई नेपाल र नेपालीको भलोको लागि नै
थियो भन्नेमा पनि शंका नगरौं। कुनै पनि सङ्गठनमा राजनीतिक विचारको कुनै महत्व नै
छैन र विचारले सङ्गठनलाई यो वा त्यो प्रकारले असर गरेकै हुन्न भन्नेमा पनि दुइ मत
नहोला तर के प्रत्येक संगठन राजनीतिक “हनु” हरुको खेलमैदान नै हुनु पर्छ र? के
राजनीतिक संगठनको अभाव भएर नै एनआरएन जन्मिन परेको हो र? के प्रजातान्त्रिक अभ्यासको
नाममा कुनै अमुक राजनीतिक दलको भगिनी संस्थाको रुपमा नै चुनावी मैदानमा उत्रनु
पर्ने हो र? के कुनै अमुक राजनीतिक दलका व्यक्ति किनारमा बसेर समर्थन र बिरोधमा
ताली वा गाली बर्साउनै पर्ने हो र? एनआरएनका अभियन्ताले ठण्डा दिमागले सोच्ने बेला
आएको छ।
केही समय यता एनआरएन स्थापना
भएका हरेक देशका घटना हेरौं। बिबाद नभएको ठाउँ सायदै होला। अमेरिका लगायत अलि
विकसित मुलुकको त झन कुरा गरी साध्य नै छैन। यसको एउतै कारण हो राजनीतिक दलको “हनु”
हुनु। एक मात्र एजेन्डा हो जसरी पनि नेतृत्वमा पुग्नु। यो बाहेक अर्को कुनै
एजेन्डा नै छैन। कसैले केही एजेन्डा ल्याई हाले पनि यति हास्यास्पद भयो कि यो
एजेन्डा एनआरएन कै हो भन्न पनि लाजै लाग्ने। जस्तो कि एनारन मन्त्रालयको माग। हुन
त यो माग समयसंगै आफैँ बिलाएर गयो।
एनआरएन अमेरिकाको मात्रै
कुरा गर्ने हो भने यसमा केही सिमित मान्छे मात्र आकर्षित छन्। ती मध्ये आफ्नो युवा
उमेर नेपालमा नै बिताएका,नेपालमा राजनीतिको कुनै न कुनै नशा लागेका तर नेपालमा
आफ्नो आर्थीक उन्नतिको खासै भविस्य नदेखी आफु र आफ्नो सन्ततिको सुरक्षित भविस्यको
लागि “भतुवा” लागेका र अहिले आएर विदेशिएको केही समय पछि पारिवारिक दायित्व नभएका
पहिलोपुस्ते अधबैसे वा प्रौढहरु पर्छन। यद्दपी ब्यबसायिक वा पेशागत रुपमा आफ्नो
सफल छवि बनाएर सामाजिक छवि बढाउन लागेका एकाध अधबैसें वा प्रौढ पनि सम्लन नभएका
भने हैनन्। राजनीति भन्दा नितान्त अलग तर पेशागत र ब्यबसायिक रुपमा सफल र असल छवि
बनाएका पेशाकर्मी, अनुसन्धान कर्ता, प्रोफेसर,युवा वर्ग, र दोश्रो पुस्ताको नेप्लिज
अमेरिकनको संलग्नता एनआरएनमा प्राय सुन्य छ भन्दा पनि हुन्छ। अमेरिकामा बसोबास
गर्ने नेपाली मुलका नेपाली वा नेपालमा जन्मेका करीब एक लाख पचास हजार भन्दा बढी
नेपाली मध्ये करीब पन्ध्र हजार मात्रै सदस्य भएकोबाट पनि बुझ्न सकिन्छ यो संस्था
प्रतिको अनाकर्षण। यसका अरु धेरै कारण हुन सक्छन तर एउटा मूल र प्रथम कारण भनेको
यो संस्थालाई राजनीतिक भगिनी संस्थाको रुपमा विकास गर्दै लानु र प्रजातान्त्रिक अभ्यासको
नाममा प्रतक्ष्य राजनितिक सहभागिता हुनु हो। अझ प्रस्ट भनौं,केही राजनीतिक “हनु”
हरुले आफ्नो स्वार्थ सिद्द गर्नका लागि एनआरएनलाई माध्यमको रुपमा प्रयोग गर्नु।
अन्य कारण हरु मध्ये, नेतृत्वकर्ताहरुको बोली र ब्यबहारमा एक रुपता नहुनु,मूल
एजेन्डाबाट बिमुख हुनु, पेशागत र सामजिक रुपमा उचो छवि भएकालाई संगठनमा आकर्षण
नगर्नु र भएकालाई समेत अपमान गरी पार्टी भजनमण्डली “हनु” हरुको निर्माण गरी त्यसैबाट
परिचालित हुनु, र पारदर्शिता र जवाफदेहिता पटक्कै नहुनु आदि हुन।
संस्थालाई नेतृत्व दिने
क्षमता के हुनु पर्ने? यसको विकास कसरी गर्ने? कसरी नयाँ बिचारहरुलाई आकर्षित
गर्ने?नवीतम प्रविधिसंग अध्यावधिक युवापुस्ता र अनुसन्धानकर्ताहरुलाई कसरी आकर्षित
गर्ने?दोश्रो पुस्ताका युवाहरुलाई आकर्षित गरी नेपालमा स्वयंसेवीको रुपमा कसरी
पुर्याउने? भन्ने बारे कुनै ध्यान नै पुगेको छैन। यस्तो लाग्छ केहीलाई एनआरएन हुनु
भनेको चुनाव जित्ने र आफ्नो स्वार्थ पुरा गर्ने नै एक मात्र उद्देश्य हो र अरु
सदस्य तिनका माध्यम मात्र।
र अन्त्यमा,
बिगत केही बर्षहरु देखी एनआरएन स्थापना भएका
प्राय: सबै ठाउहरुको गतिबिधि नियाल्दा के भन्न सकिन्छ भने यो संस्था यसरी नै चल्ने
हो भने केही सिमित पहिलो पुस्ते “भतुवा” “हनु” हरुको राजनीतक क्लब मात्रै हुनेछ र
उनीहरुको बहिर्गमनसंगै यो संस्थाको आवस्यकता र औचित्य दुवै समाप्त भै अवसान समेत हुनेछ। एनआरएनले साच्चै परिकल्पना गरेको लक्ष्य
प्राप्त गर्ने हो भने अमुक पार्टीको राजनीतिक गन्ध आएका प्राणीलाई अलग्गै गरी,
सामाजिक/सार्वजनिक छवि उच्च भएका, र नयाँ सोच भएका युवा पुस्तालाई नेतृत्व गर्ने
गरी आकर्षित गर्न सक्नु पर्छ। यो पनि भनी हालौं, पवित्र उद्देश्य राखेर नेपालमा
सामजिक काम गर्न,ब्यबसाय गर्न वा प्रतक्ष्य र परोक्ष रुपमा जहाँ रहेका भए पनि नेपाल
र नेपालीको हित गर्न एनआरएनमा आवद्दता एकमात्र शर्त वा बिकल्प हुदै होइन। एनआरनएनले अहिले भै रहेको चर्तिकला समयमै करेक्सन नगर्ने
हो भने सबैले दुद्कार्दै भन्नेछन् “ ए! नारा’न!! यी एनआरएन.!!