Thursday, September 27, 2018

निजगढ विमानस्थल : निबन्धजस्तो प्रतिवेदन



असोज ११ ,  २०७५ अर्थात २७ सेप्टेम्बर २०१८ मा नयपत्रिका  दैनिकमा प्रकाशित मित्र केशव शर्मा र मेरो विचार जस्ता को तस्तै  नयाँ पत्रिका दैनिक
देशलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ । पोखरा र भैरहवामा निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रियस्तरका होइनन् । यसैले यिनलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल होइन ।
पर्यटन उद्योग अर्थतन्त्रको प्रमुख अवयव भएको मुलुकमा अन्तर्राष्ट्रियस्तरकै विमानस्थल चाहिन्छ, र त्यो पनि एउटाले पुग्दैन । यसैले अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः हरेक प्रदेशमा बन्नुपर्छ, अहिलेका लागि कम्तीमा एउटा त बनिहाल्नुपर्छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कत्रो, कस्तो, कसरी बनाउनुपर्छ, कति रुख काटिनुपर्छ र कति बिरुवा रोपिनुपर्छ भन्नेतिर यो लेखमा नजाऔँ । अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा मात्र यहाँ चर्चा गरिनेछ । नेपालमा विकास योजनाका प्रतिवेदनमा कतिसम्म लापर्बाही हुन्छ, कति हचुवामा काम अघि बढाइन्छ भन्ने बुझ्न एउटा नमुना हो यो प्रतिवेदन ।
वातावरण संरक्षण ऐन– ०५३ मा ‘वातावरणीय प्रभाव मूल्यांकन’ भन्नाले कुनै परियोजनाको कार्यान्वयन गर्दा सो परियोजनाले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने, त्यस्तो प्रभावलाई कुनै उपायद्वारा न्यूनीकरण गर्न सकिने वा नसकिने सम्बन्धमा यकिन गर्न तयार गरिने विस्तृत अध्ययन तथा मूल्यांकनसम्बन्धी प्रतिवेदन सम्झनुपर्छ’ भन्ने उल्लेख छ ।
तर, यस योजनाको वातावरणीय अध्ययन प्रतिवेदन भाका नपुर्‍याई लेखिएको एउटा लामो निबन्धजस्तो मात्रै देखिन्छ, अध्ययन प्रतिवेदनमा पाइने अन्तर्वस्तु यसमा भेटिन्न । नेपाली परामर्शदाता कम्पनीले तयार पारेर सरकारले स्वीकार गरेको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पूर्णतः कर्मकाण्डी छ ।
केही तथ्यांकलाई छाडेर भन्ने हो भने वातावरण विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई ‘निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले वातावरणमा पर्ने असर’ विषयमा लामो निबन्ध लेख्नुहोस् भन्ने हो भने योभन्दा निकै राम्रो स्तरको निबन्ध लेखिदिन सक्छन् ।
प्रतिवेदनमा विमानस्थल निर्माणले पार्ने वातावरणीय प्रभावको सामान्य टिप्पणी मात्र गरिएको छ, वैज्ञानिक विवेचना र समीक्षा छैन । वातावरणीय प्रभाव मूल्यांकन भनेको मात्रात्मक (क्वान्टिटेटिभ) विश्लेषण हो, गुणात्मक (क्वालिटेटिभ) विश्लेषण होइन । जस्तै, वन मासेर विमानस्थल बनाउँदा भूमिगत पानी पुनर्भरणमा कमी आउँछ भनिएको छ ।
भूमिगत पानी पुनर्भरणमा कमी आउँछ भनेर लेख्न कुनै अध्ययन गर्नुपर्दैन । वन मासेर विमानस्थल बनाउँदा भूमिगत पानी पुनर्भरण लगभग यति मात्रामा कमी आउन सक्छ भन्नुपर्‍यो । यस्तै प्रस्तावित क्षेत्रमा जमिनको सतहबाट कम गहिराइमै चट्टान छ त्यसैले यो ठाउँमा विमानस्थल बनाउन योग्य छ भनिएको छ । कम गहिराइ भनेको कति मिटर हो ? अनि त्यो ठाउँमा कस्तो चट्टान छ त ?
यस्ता तथ्य प्रतिवेदनमा भेटिन्नन् । प्रतिवेदनमा विमानस्थलमा पावर प्लान्ट हुने भनिएको छ, तर कस्तो पावर प्लान्ट हो, कति क्षमताको, केबाट चल्ने हो र यसले पार्ने असर के–के हुन् भन्नेबारे उल्लेख छैन । इन्धन भण्डारण निर्माण गरिने भनेको छ, त्यसले पार्नसक्ने असरबारे अध्ययन खोइ ? इन्धन भण्डारण चुहियो भने भूमिगत पानीमा के असर पर्छ उल्लेख छैन ।
प्रतिवेदनमा भूगर्भशास्त्र (जियोलोजी) को अध्ययन नै भएको छैन र अति सामान्य कुरा मात्रै उल्लेख छ । प्रस्तावित विमानस्थल दुई खोलाको बीचमा छ, दुवै खोलामा वर्षायाममा ठूलो बाढी आउँछ भनिएको छ, तर सो बाढीले के कति क्षेत्र डुबानमा पर्छ, ती खोलामा पानीको बहाव कति हुन्छ, केही अध्ययन गरिएको छैन । यसै वर्ष मुम्बई विमानस्थलमा जस्तो बाढी पस्यो भने के गर्ने ?
उल्लेख्य मात्रामा वन विनाश हुँदा र जमिनको सतहमा परिवर्तन हुँदा जलविज्ञानमा पर्न सक्ने असरबारे झारा टारेर चार हरफ उल्लेख गरिएको छ । भूगर्भशास्त्र र जलविज्ञान वातावरणीय प्रभाव मूल्यांकनका प्रमुख विषय हुन् ।
विज्ञहरूले प्रस्तावित निर्माणस्थल हात्तीलगायत वन्यजन्तुको हिँड्ने मुख्य बाटो भएको उल्लेख गरेका छन् । तर, प्रतिवेदन वन्यजन्तु करिडोरको महत्व र त्यसको विनाशपछि निम्तिन सक्ने जोखिम न्यूनीकरणबारे केही बोल्दैन, त्यसबारे अध्ययन नै छैन । वन्यजन्तुलाई वैकल्पिक बाटो दिन सकिन्छ, त्यसका लागि पहिल्यै अध्ययन हुनुपर्छ ।
चाहिने अध्ययन नै नभएको प्रतिवेदनमा सरकारले दिएको म्यान्डेटबाहिर गएर टिप्पणी भने गरिएको छ, सुझाब दिइएको छ । सरसर्ती पढ्दा वातावरणीय प्रभाव मूल्यांकनभन्दा ‘आर्थिक प्रभाव मूल्यांकन’ जस्तो देखिन्छ । किन यो विमानस्थल एउटा राम्रो केन्द्र बन्न सक्छ, कतिले रोजगारी पाउँछन्, सञ्चालनमा आएपछि के–कस्ता आर्थिक फाइदा हुन्छन् भन्ने प्रतिवेदनमा लेखिएको छ ।
योजना निर्माण हुने वेला सो क्षेत्रमा के–कस्तो आर्थिक र सामाजिक असर पर्छ, अधिग्रहण गरेको जमिन कसरी जोगाउने, सुकुम्बासीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जोड दिइएको छ । वातावरणीय प्रभाव मूल्यांकनमा परियोजना बन्दै गर्दा प्रयोग हुने स्रोत प्रयोग, पारिस्थितिक अवस्थाको परिवर्तन र परियोजना सञ्चालनमा आएपछि पर्न सक्ने असर र जोखिमको मूल्यांकन गर्नुपर्नेमा ‘परियोजना प्रभाव आँकलन’ जस्तो गरेर प्रतिवेदन बनाइएको छ ।
हदैसम्म लापर्बाही गरिएका केही बुँदा
‘विकल्पको तुलना’ शीर्षकमा विमानस्थललाई जलविद्युत् आयोजनासँग तुलना गरिएको छ । सुरुमै नेपालले सार्वजनिक तथा निजी स्तरमा जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको र आयोजनाबाट वातावरणमैत्री स्वच्छ ऊर्जा उत्पादन भई त्यसले देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने उल्लेख छ ।
यसमा हाइड्रोपावरका संरचना, जस्तै– पावरहाउस, हेडवक्र्सहरूको वैकल्पिक स्थानको कुरा छ । प्रतिवेदनमा विस्फोटक पदार्थको प्रयोग कम गर्ने भनिएको छ, तराईमा निर्माण गर्दा किन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्छ ? हाइड्रोपावरको सुरुङ निर्माण वा बाटो निर्माणमा मात्र यस्तो प्रयोग हुन्छ ।
प्रतिवेदनमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को ऐनसमेत आकर्षित हुने उल्लेख छ । यो बुँदाले गौरीशंकर क्षेत्रको जलविद्युत् आयोजनाको प्रतिवेदन ‘कपी’ गरिएको हुन सक्नेतर्फ संकेत गर्छ । प्रस्ट छ, हाइड्रोपावर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई ‘कपी पेस्ट’ गरेर मिलाइएको भनेर । कतिपय तथ्यांक पहाडी जिल्लास“ग मिल्दाजुल्दा देखिन्छन् ।
विमानस्थलका लागि करिब आठ हजार पाँच सय हेक्टर जग्गा खाली गर्ने हो भने त्यहाँबाट काठ–दाउराको मूल्य नेपाली सारांशमा करिब ५ सय ९६ अर्ब रुपैयाँ भनिएको छ, अंग्रेजीको सारांशमा ५ सय ९६ मिलियन रुपैयाँ (५९.६ करोड) छ ।अनि, प्रतिवेदनको भित्र टेबलमा भने ६९ अर्ब रुपैयाँ उल्लेख छ ।
केही तथ्यांकलाई छाडेर भन्ने हो भने वातावरण विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई ‘निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले वातावरणमा पर्ने असर’ विषयमा लामो निबन्ध लेख्नुहोस् भन्ने हो भने योभन्दा निकै राम्रो स्तरको निबन्ध लेखिदिन सक्छन्
पथलैयाबाट विमानस्थलको दूरी कतै ८ देखि १८ किमिबीचमा भनेको छ, कतै २२ किमि भनेको छ । पूर्व–पश्चिम राजमार्गको उत्तरतिर विमानस्थल पर्छ भनेर उल्लेख गरिएको छ । एक लाख ९८ हजार चार सय ५० वटा परिपक्व सालका रुखबाट १ लाख ९८ हजार ४९ घनमिटर काठ निस्कने भनिएको छ, जसको अर्थ एउटा परिपक्व सालको रुखबाट १ घनमिटर काठ निस्किन्छ भन्ने हो ।
एउटा परिपक्व सालको रुखको उचाइ ३०–४५ मिटरसम्म र व्यास १–२ मिटरसम्म हुने अध्ययनले देखाएको छ । प्रतिवेदनमै उल्लेख सूत्र लगाउने हो भने काठको मात्रा धेरै आउँछ । रुखको आयतन हिसाब गर्दा मूल प्रतिवेदनमा एक सूत्र प्रयोग गरिएको उल्लेख छ भने अनुसूचीमा अर्कै सूत्र प्रयोग गरिएको छ ।
प्रतिवेदनमा रुख काट्नेबाहेक पनि वातावरणीय नोक्सानी धेरै छ । २ खर्ब ३१ अर्ब रुपैया“ त वातावरणीय नोक्सानी छ । त्यसमा पनि ७२ करोड रुपैयाँ त वार्षिक लागत मात्र छ । तर, यसमा प्रस्तुत गरेका धेरै हिसाब र अनुमानित लागत हास्यास्पद छन्, त्यसको सरकारी निकायले परीक्षण नै नगरी प्रतिवेदन पास गरेको देखिन्छ ।
प्रस्तावित द्रुत मार्गलाई कतै काठमाडौं–तराई द्रुत मार्ग त कतै मधेस–तराई द्रुत मार्ग भनिएको छ । प्रस्तावित विमानस्थलको क्षेत्रफल नै फरक–फरक उल्लेख छ, कतै ८०४४.७९ हेक्टर, कतै ८०४५.७९ हेक्टर उल्लेख छ । एक हेक्टर भनेको १० हजार वर्गमिटर हो । बारा जिल्लाको क्षेत्रफल कतै ११९० वर्ग किलोमिटर उल्लेख छ भने कतै १२९४६३ हेक्टर (१२९५.६३ वर्ग किलोमिटर) उल्लेख छ ।
प्रतिवेदनका कतिपय स्थानहरू यति नम्बरको तस्बिर हेर्नुस् भनिएको छ, तर, सो नम्बरको कतै तस्बिर भेटिन्न । जस्तै– प्रतिवेदनमा तस्बिर नम्बर ५.३ ब र ५.४ द उल्लेख छ तर सो नम्बरको तस्बिर छैन । कतै विमानस्थलका संरचनाले मात्र १९ सय हेक्टर जमिन ओगट्ने भनिएको छ भने कतै १३ सय हेक्टर चाहिने भनिएको छ ।
प्रतिवेदनको सुरुमा विमानस्थल निर्माणस्थलमा पहाडी भेगबाट बसाइँ सरेर गएका परिवार धेरै छन् भनिएको छ, तर तथ्यांकमा थारू जातिको बाहुल्य देखिन्छ । पर्सा राष्ट्रिय निकुञ्जमा भएका स्तनधारी, चरा र रुख–बिरुवाको तथ्यांक पनि सही देखिँदैन । जस्तै– निकुञ्जमा २३ थरी स्तनधारी रहेको उल्लेख गरिएको छ । विभिन्न अध्ययनले निकुञ्जमा ३२ भन्दा बढी स्तनधारी रहेको देखाउँछ ।
पत्याउन नसकिने कार्यप्रणाली
प्रतिवेदनले एक हजार वर्गमिटरको ७५४ वटा क्वाड्रेट बनाएर बोट–बिरुवाको नमुना लिइएको भन्छ । त्यसभित्र पनि अझै २५ वर्गमिटर (झाडीका लागि) र एक वर्गमिटर (बुट्यानका लागि) बनाइएको रहेछ । यसका लागि कति समय र मान्छे लाग्यो ? प्रत्येक रुखको उचाइ उपकरण (क्लिनोमिटर) प्रयोग गरेर नापिएको भनिएको छ । विमानस्थलमा आउने ठूला जहाजले हुने ध्वनिको मात्रा १००–११० डेसीबलसम्म केही क्षणका लागि हुने भनिएको छ ।
तर, अध्ययनले ठूला जहाजको ध्वनिको मात्रा १४० डेसिबल हुने बताउँछ । ६ करोड यात्रीलाई सेवा दिन दिनको करिब १२ सय जहाज चाहिन्छ । दिनको १२ सयजति विमान आउने विमानस्थलमा ५–७ मिनेट मात्र ध्वनि प्रदूषण हुने भनिएको छ ।
दिनको १२ सयवटा जहाज आतेजाते हुने विमानस्थलमा कुन मात्राको ध्वनि प्रदूषण हुन्छ र नजिकैको वन र निकुञ्जका वन्यजन्तुलाई कस्तो असर पर्छ भन्नेमा प्रतिवेदन मौन छ । भूमिगत पानीको गुणस्तर विमानस्थल निर्माणका लागि उपयुक्त छ भनिएको छ । भूमिगत पानी कस्तो भयो भने विमानस्थल बनाउन मिल्दैन त भनेर प्रतिवेदन तयार पार्नेलाई सोध्नुपर्ने हुन्छ ।
कार्यकारी सारांशको निचोडमा वातावरणीय प्रभावको कुनै कुरा उल्लेख नगरी विमानस्थल आर्थिक हिसाबले उपयुक्त छ भनेर टिप्पणी गरिएको छ । जुन विषयवस्तुमा अध्ययन गरिन्छ, त्यही विषयकेन्द्रित निचोड हुनुपर्छ । अध्ययनको कार्यदिशा (टिओआर) बनाउने संस्थाले पनि खासै अध्ययन गरेको देखिँदैन ।
योजनाको वातावरणीय अध्ययन प्रतिवेदन भाका नपुर्‍याई लेखिएको एउटा लामो निबन्धजस्तो मात्रै देखिन्छ, अध्ययन प्रतिवेदनमा पाइने अन्तर्वस्तु यसमा भेटिन्न । नेपाली परामर्शदाता कम्पनीले तयार पारेर सरकारले स्वीकार गरेको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पूर्णतः कर्मकाण्डी छ ।
अन्य अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकनलाई अध्ययन गर्दा ६० भन्दा बढी पारामिटरहरू (वस्तु) को अध्ययन गरेको देखिन्छ । यो प्रतिवेदनमा २०/२२ भन्दा बढी पारामिटरको अध्ययन गरिएको छैन । अन्तिम प्रतिवेदन भनेर उल्लेख गरिएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन गरेर दिएको सुझाबसमेत समावेश गरिएको भनेर उल्लेख छ । विज्ञ टोलीले बनाएको प्रतिवेदनलाई तीनवटा सरकारी निकायले परिमार्जित गर्दासमेत यति निम्छरो देखिनु हाम्रो क्षमता र प्रवृत्ति उजागर हुनु हो ।
विवादित विषय
संरचनाका लागि १३ सय हेक्टर र सहरका लागि ६ सय हेक्टर गरी १९ सय हेक्टरबाहेक अन्त कुनै संरचना बन्ने देखिँदैन । सरकारले दिएको कार्यादेशमा १९ सय हेक्टरमा विमानस्थल र सहर बनाउने प्रस्ट उल्लेख छ, बाँकी करिब ६१ सय हेक्टर जमिनमा कुनै संरचना हुनेछैन । केवल जमिन अधिग्रहण गर्ने मनसाय देखिन्छ ।
जुन क्षेत्रमा कुनै संरचना बन्नेछैन, त्यहाँ रुख काट्ने गरी किन अध्ययन गरियो ? किन करिब ८०४५ हेक्टर नै खाली गर्ने गरी करिब २५ लाख रुख काट्नुपर्ने भनेर उल्लेख गरियो ? प्रतिवेदनमा विमानस्थल र सहरका लागि चाहिने १९ सय हेक्टरका लागि साना–ठूला गरी करिब साढे ४ लाख रुख काट्नुपर्ने उल्लेख छ, जुन वैज्ञानिक र व्यावहारिक पनि छ ।
तर, यसबारे प्रतिवेदनको सारांशमा केही उल्लेख छैन । प्रतिवेदनको सारांश मात्र हेर्ने हो भने २५ लाख रुख काट्नुपर्ने, ८०४५ हेक्टर जमिन चाहिने गरी अध्ययनका अन्य तथ्यांक प्रस्तुत गरिनु अत्यन्त ठूलो लापर्बाही हो । प्रतिवेदनको सारांशमा सर्वोत्तम विकल्प प्रस्तुत गर्नुपर्नेमा, खराब विकल्प प्रस्तुत गरियो । यसैले अहिले विवाद उठिरहेको छ ।
समाधान के त ?
राष्ट्रिय गौरवको भनिएको योजनामा सरकारी र परामर्शदाता दुवैलाई यस्तो निम्छरो प्रतिवेदनको प्रतिरक्षा गर्न सुहाउँदैन । परामर्शदाताले कम्तीमा गुणस्तर निर्धारण योजना बनाउनुपथ्र्यो र सोअनुसार गुणस्तर नियन्त्रण र गुणस्तर सुनिश्चितता गर्नुपथ्र्यो ।
यो प्रतिवेदनमा गुणस्तर योजना पालन गरिएको थियो भनेर विश्वास गर्ने ठाउँ छैन । यसैगरी सरकारी निकायले विज्ञ नभए तेस्रो पक्ष नियुक्त गरेर प्रतिवेदन समीक्षा गर्नुपर्थ्याे । प्रतिवेदन परामर्शदातालाई फिर्ता गरी पुनः अध्ययन र पुनर्लेखन गर्नुको विकल्प छैन । यस्तो गरिए भविष्यका लागि मानक हुनेछ ।
(शर्मा क्यानडामा पिएचडी गरिरहेका सिभिल इन्जिनियर हुन् भने डा. कार्की अमेरिकामा ड्रेनेज विज्ञका रूपमा कार्यरत इन्जिनियर हुन्)

निर्माणस्थल कति सुरक्षित ?



भाद्र ४   २०७५ अ मा कान्तिपुर  दैनिकमा प्रकाशित मित्र रामराजा शर्मा र मेरो विचार जस्ता को तस्तै  कान्तिपुर भाद्र ४ २०७५

काठमाडौँ — काठमाडौंको महाराजगन्जमा गत साउन २७ गते इनार सफा गर्दा २ जनाको मृत्यु भयो । गत वैशाखमा डोल्पाको चिप्लेभिरमा सडक निर्माणका क्रममा ब्लास्टिङ गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दुई कामदारको मृत्यु भयो । गत साल मेलम्ची आयोजनाको पाइप बिछ्याउने ट्रेन्च खन्दा तीन जनाको ज्यान गयो ।



राष्ट्रिय व्यवसाय सुरक्षा र स्वास्थ्य नीति २०७३ ले सम्मानजनक कामको अर्थ सुरक्षित एवं स्वस्थ कार्यस्थल समेत बुझिन्छ भनेको छ । साधारण अवस्थामा मानिसले दैनिक एक तिहाइ समय कार्यस्थलमा बिताउँछ । कार्यस्थलको स्वास्थ र सुरक्षा सर्वसाधारणका लागि पनि उत्तिकै महत्त्वपूर्ण र चासोको विषय हो ।
कानुन अनुसार निर्माण कार्यका लागि स्वास्थ्य र सुरक्षा अधिकृतमात्रै नियुक्त गर्ने हो भने दुर्घटना न्युनीकरण गर्न सकिन्छ । निर्माण कार्यमा संलग्न कामदार, कर्मचारी, बटुवा र प्रभावित सर्वसाधारणको न्युनतम सुरक्षा निर्माण अवधिभर के कसरी गर्न सकिन्छ, सम्भावित दुर्घटनास्थल कुन–कुन हुन्, दुर्घटना भइहाले कसरी समाधान गर्ने भन्ने कार्यविधि तयार पार्नुपर्छ । त्यसलाई स्वास्थ्य सुरक्षा अधिकृतको निरन्तर निगरानीमा कार्यान्वयन गर्नुपर्छ । आ यति त हो, यसरी नै चलिहाल्छ, हिजो केही भएको थिएन, आज ’नि केही हुन्न भनेर केही नगर्ने हो भने हरेक निर्माणस्थल दुर्घटनाको मुहान बन्न सक्छ । निर्माण स्थलमा दुर्घटना जहाँ जतिखेर पनि हुनसक्छ ।
निर्माणस्थल र वरपर सर्वसाधारण तथा बटुवाको सुरक्षा जिम्मा निर्माण व्यवस्थापकको जिम्मेवारी हो । निर्माणस्थललाई चारैतिरबाट घेरेर सर्वसाधारण सजिलै जान नसक्ने बनाउनुपर्छ । बटुवालाई वैकल्पिक र सुरक्षित मार्गको व्यवस्था गर्नुपर्छ । ठाउँ–ठाउँमा जानकारीमूलक साइनबोर्ड राख्नुपर्छ । रातको समयमा चम्किने किसिमका बार अथवा टेप लगाउनुपर्छ ।
यसरी निर्माणस्थलमा किन दुर्घटना दोहोरिरहन्छ ? निर्माण व्यवसायसंँग सम्बन्धित सुरक्षा नीति, नियम कमजोर हो ? यस बारेमा यो लेख केन्द्रित छ ।
कानुनले के भन्छ ?
संविधान प्रदत्त नागरिक हक तथा संविधानमा उल्लिखित निर्देशक सिद्धान्तले गरेको मार्गदर्शन एवं राज्यद्वारा घोषित नीतिले समेत व्यवसाय वा आर्थिक तथा सेवामूलक क्रियाकलापमा संलग्न व्यक्तिको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिएको छ । श्रम ऐन २०७४ को दफा ६८–६९ को व्यवस्था अनुसार श्रमिक र कार्यस्थल सुरक्षाको जिम्मा सम्बन्धित रोजगारदाता वा व्यवसायीको हो । श्रम ऐनमा रोजगारदाताले निर्माणस्थलको सुरक्षा र स्वास्थ्य कसरी व्यवस्थित बनाउने भनी उल्लेख गरिएको छ । रोजगारदाताले आफै नियमावली बनाई सुरक्षा व्यवस्था मजबुत गर्नसक्ने प्रावधान पनि ऐनमा छ । ऐन अनुसार रोजगारदाताले हरेक कार्यालय वा निर्माणस्थलमा सुरक्षा जिम्मेवार व्यक्ति तोक्नुपर्छ ।
दुर्घटना न्युनीकरण
कामदारले कामको प्रकृति अनुसार व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग अनिवार्य गर्नुपर्छ । कामदारले आवश्यक उपकरण प्रयोग गरे–नगरेको निरीक्षण स्वास्थ्य सुरक्षा अधिकारीले गर्नुपर्छ । सेफ्टी हेल्मेट, निर्माण पञ्जा, बुट, निर्माण चस्मा, मास्क, ध्वनि नियन्त्रक हेडफोन, रातमा टल्किने ज्याकेट वा वस्त्रजस्ता सुरक्षाका न्युनतम उपकरण निर्माण कम्पनीले कामदारलाई उपलब्ध गराउनुपर्छ । कामको प्रकृति अनुसार उपकरण पहिरन अनिवार्य गराउनु अधिकृतको जिम्मेवारी हो । केही प्रतिष्ठित र ठूला निर्माण कम्पनीले सुरक्षा अधिकृत राखेर कामदारलाई सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराएका छन् । तर अधिकांश निर्माण कम्पनीले यसमा बेवास्ता गरिरहेका देखिन्छन् । मापदण्ड बनाएर कामदार सुरक्षा उपकरण प्रयोग नगरी कार्यक्षेत्रमा प्रवेश गर्न नपाउने प्रावधान नराख्ने हो भने अहिलेको अवस्थामा सुधार हुने देखिन्न ।
धेरै उचाइका काम (अग्ला भवन), चलायमान उपकरण (एक्स्काभेटर, डोजर र क्रेन) तथा तिनीहरूको आसपास, गहिरो खाल्टो वा ट्रेन्च खन्ने काम, बिजुली सम्बन्धी वा बिजुली लाइन नजिक आदि धेरै दुर्घटना हुनसक्ने निर्माण क्षेत्र हुन् । गह्रौं वस्तु उचाल्नुपर्ने, चर्को आवाज तथा थर्कावट आउने र रासायनिक वस्तु सम्बन्धी कामले स्वास्थ्यमा असर पार्न सक्छन् । यी फरक–फरक कामका लागि कामदारले फरक–फरक सुरक्षा उपकरण पहिरिनुपर्छ ।
अग्लो ठाउँमा काम गर्दा हेल्मेट र सेफ्टी हुक अनिवार्य प्रयोग गर्नुपर्छ । निर्माण सामग्री खस्न सक्ने ठाउँमा जाली राख्नुपर्छ । खाल्टो वा ट्रेन्च धेरै गहिरो खन्नुपरे दुवैतिर बलियो टेको राख्नुपर्छ । पानी भए पानी तान्ने पम्प व्यवस्था गर्नुपर्छ । कतिपय ठाउँमा गहिराइ अनुसार अक्सिजन सिलिन्डर र टर्चलाइट चाहिन्छ । गह्रौं वस्तु उचाल्नु र सार्नुपरे उपयुक्त उपकरण प्रयोग गर्नुपर्छ । चर्को ध्वनिबाट बच्न ध्वनि रोक्ने हेडफोन चाहिन्छ । मास्क पनि चाहिन सक्छ ।
वेल्डिङमा उपयुक्त चस्मा पहिरिनुपर्छ । सुरुङ र साँघुरा स्थानमा काम गराउनु अघि विशेष तालिम दिनुपर्छ । सुरक्षाका उपकरण पनि विशेष निगरानीका साथ प्रयोग गर्नुपर्छ । विद्युत सम्बन्धी कामका लागि विशेष सतर्कता अपनाउनुपर्छ । इनार सफा गर्ने क्रममा अक्सिजन सिलिन्डर, कम्मरमा डोरी र बाहिर सम्पर्क गर्नसक्ने सूचकयन्त्र प्रयोग गर्नुपर्छ ।
निर्माणस्थलमा आधारभूत प्राथमिक स्वास्थ्यका समान अनिवार्य राख्नुपर्छ । कामदारलाई सुविधा हुनेगरी चर्पीको व्यवथा गर्नुपर्छ । स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्छ । निर्माण कार्यमा संलग्न सबैलाई सामान्य निर्माण सुरक्षा र स्वास्थ्यको तालिम चाहिन्छ । सुरक्षा उपकरण नलाउनेलाई निर्माण क्षेत्रमा प्रवेश निषेध गरिनुपर्छ ।
विद्युत आयोजनाको डाइभर्सन ड्यामको संरचनागत बनावट र पहाडी क्षेत्रमा सडक निर्माण गर्दा छेउ र भित्तापट्टिको भूगोलको गहन अध्ययन जरुरी छ । कुनै कारणवश डाइभर्सन ड्याम फेल हुने वा सडकमा पहिरो खस्ने हो भने धेरै क्षति हुनसक्छ । ब्लास्टिङ, ड्रिलिङ, पुराना संरचना भत्काउने तथा वेल्डिङ र विद्युतका काम सम्बन्धित क्षेत्रका दक्ष कामदारलाई पनि सुरक्षा उपकरणको प्रयोग अनिवार्य गराउनुपर्छ । आयोजना, निर्माण कम्पनी, परामर्शदाता र अन्य सरोकारवालाको प्रस्ट जानकारी सर्वसाधारणले देख्नेगरी राख्नुपर्छ । विस्फोटक पदार्थ भण्डारण, विद्युतीय लाइन अन्य खतराजन्य स्थान र वस्तुहरूका लागि अतिरिक्त साइनबोर्ड राख्नुपर्छ ।
सर्वसाधारणको सुरक्षा
सडकमा विशेष ट्राफिक चिह्न राख्ने, कतै खाल्टा छन् भने चारैतिरबाट खाल्टालाई छेक्ने प्रबन्ध मिलाउनुपर्छ । छेकबारमा रातमा टल्किने टेप टाँस्नपर्छ । निर्माण कार्यमा कामदारलाई न्युनतम सुरक्षा उपकरण र वातावरण उपलब्ध गराउन नसक्ने कम्पनीलाई कारबाही गर्नुपर्छ । सबैलाई आफ्नो जिम्मेवारी बहन गर्न कानुनी रूपमै बाध्य पार्नुपर्छ ।
संसारका ठूलठूला निर्माण योजना न्युन जनशक्तिको क्षतिबाट सम्पन्न भएका उदाहरण प्रशस्तै छन् । अग्लो भवन बुर्जखालिफा निर्माणका क्रममा एक जनाको ज्यान गयो । दुई वर्षअघि सम्पन्न अद्भुत पनामा नहर विस्तार आयोजनामा नौ वर्षको अवधिमा सात जनाको मृत्यु भयो । स्वीटजरल्यान्डले बनाएको ५७ किलोमिटर लामो रेल सुरुङ निर्माण क्रममा नौ जनाको मृत्यु भएको थियो । हामी पनि काठमाडौं–निजगढ द्रुतमार्ग, भेरी–बबई डाइभर्सन, बूढीगण्डकी, पश्चिम सेती र कर्णाली जलविद्युत जस्ता ठूला आयोजना निर्माण गर्ने क्रममा छौं । लामा–लामा रेलमार्ग निर्माण गर्ने कुरा छ । स्वास्थ्य र सुरक्षाको मापदण्ड बनाएर कडाइका साथ लागु गर्ने हो भने निर्माण कार्यमा दुर्घटना न्युन गर्न सकिन्छ । निर्माण कार्य सुरक्षित उद्योग बन्न सक्छ ।
निर्माण व्यवस्थापनको महत्त्वपूर्ण पक्ष निर्माण सुरक्षा हो । सरोकारवाला निकायहरू निर्माण सुरक्षाप्रति सम्वेदनशील हुनुपर्छ । यसले निर्माणकार्य बेलैमा पूरा गर्न पनि सहयोग गर्छ ।
सिभिल इन्जिनियर शर्मा र कार्की क्रमश: बेलायत र अमेरिकामा कार्यरत छन् ।