Tuesday, January 27, 2015

नेपाल नाइट २०१५ खबरमा

सेतो पाटीअमेरिकाको डाकोटामा नेपाल सम्झना प्रकाशित मिति: मंगलबार, माघ १३, २०७१ १९:२५:४०
फरक भूगोल र संस्कृतिमा पुगे पनि आफ्नो संस्कृति र रितिथिति भुल्न सकिन्न, ती साथै रहन्छन। अमेरिका, साउथ डाकोटाको ब्रुकिन्ग्स सिटीमा रहेका नेपाली समुदायले  पनि गत आइतबार नेपाली संस्कृति र स्वादको सम्झना गरे । ब्रुकिन्ग्स सिटीमा रहेको साउथ डाकोटा स्टेट यूनिभर्सिटीमा उनीहरुले नेपाली खाना खाँदै नेपाली साँस्कृति झल्किने कार्यक्रम गरे।
कार्यक्रममा त्यहाँ अध्ययन गरिरहेका नेपाली विधार्थी एवम् सो नगरका बासिन्दाहरु गरि करिब ४५० जना कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा सहभागीहरुलाई साउथ डाकोटा स्टेट यूनिभर्सिटीमा  अध्ययन गरि रहेका बिद्यार्थी तथा तीनमा आश्रित परिवारले नेपाली खाना पस्किएका थिए।
डेढ घण्टा चलेको सो कार्यक्रममा विभिन्न गीत तथा नाचका साथमा पृथ्वी नारायण शाहको जीवनीमा आधारित ‘अनेकतामा एकता’ नामक नाटक पनि मञ्चन गरे। कार्यक्रममा साउथ डाकोटा स्टेट यूनिभर्सिटीका अध्यक्ष डेभिड एल चेस्वान, उपाध्यक्ष प्रोभोस लेरी एस निकोल्स तथा सो सहरका उपमेयर केथ कोर्बेट अतिथि थिए।  
यस सहरमा करिब ७५ जना बिद्यार्थी,दुई नेपाली प्रोफेसर र तीनका आश्रित परिवार गरी करिब १३० को संख्यामा नेपाली रहेका छन् ।

पहिलो पोस्ट (अमेरिकामा ‘नेपाल नाइट’) 26th January 2015 | १२ माघ २०७१ |
  • गोविन्द कार्की-
अमेरिकाको साउथ डाकोटामा आइतबार ‘नेपाल नाइट’ कार्यक्रमको आयोजना गरियो। ‘अनेकतामा एकता’ नाम दिइएको नेपाल नाइटमा नेपाली संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम र नेपाली खानाको स्वाद पस्किइयो।
 
साउथ डाकोटा स्टेट युनिभर्सिटीका विद्यार्थी र साउथ डाकोटाका नागरिकहरुलाई नेपाली संस्कृति र खानाको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको नेपाल नाइट विद्यार्थी र नगरबासी गरेर साढे ४ सयभन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा डाकोटामा पढिरहेका विद्यार्थी तथा उनीहरुका आश्रित परिवारले नेपाली खानाका परिकार बनाएर पस्किएका थिए। पुलाउ, कुखुराको मासु, नेपाली स्वादको मिक्स्ड तरकारी, अचार, दही सलाद लगायतका खानेकुराले नाइटमा विशेष चर्चा पाए।
 
साँझ ६ बजेदेखि डेढघण्टा चलेको कार्यक्रममा स्टेट युनिभर्सिटीका अध्यक्ष, सह अध्यक्ष, साउथ डाकोटा स्टेटका  उप-मेयर, नेपाली विद्यार्थी समाजका सभापति, फ्याकल्टी एड्भाजर लगायत विशिष्ट पाहुनाको उपस्थिति कार्यक्रममा थियो।
 
कार्यक्रममा पृथ्वीनारायण शाहको जिवनीमा आधारित अनेकतामा एकता नाटक, १० वर्ष मुनिका बच्चाहरुको नाच, नेपाली ब्याण्डले गीत संगीत प्रस्तुत गरेका थिए।

साउथ डाकोटामा करिब ७५ जना नेपाली विद्यार्थी, नेपाली प्रोफेसर र तीनका आश्रित परिवार गरी एक सय ३० को संख्यामा नेपाली रहेका छन्।




- See more at: http://www.pahilopost.com/content/-2042.html#sthash.vwfcyayo.dpuf

Wednesday, January 7, 2015

समीप


सरलाको मासिक धर्म रोकिएपछि ऊ र पदमले घरबाट भागेर बिहेको औपचारिकता दिइकन सदरमुकाम तिरै बसे । उसो त पदमका तीनै दाजु-भाई र दुवै दिदी-बहिनीको बाउआमाले बिहा गरिदिन परेको थिएन वा भनौं पाएका थिएनन् । या त यस्तै दुर्घटनामा परे पछि सम्हाल्नु परेको थियो या त समाजले अजात भनी दिएकासंग थान्का लागेका थिए ।

सरला र पदम भागेर गएको सातै महीनामा सरलाले घोर्ले छोरो पाई, साढे ४ किलोको । हेर्दै खाइलाग्दो । छोरो नै जन्माई सकेपछि बिहा अघि नस्वीकारेका घर माइती दुवैतिरका भेट्न भने आए । आफ्ना साथी भाई पनि फुर्सत मिलाएर भेट्न आए । आउन नभ्याउनेले फेसबुकमै बधाई दिए । उसो त जन्मेकै दिन उसले फेसबुकमा तस्बिर उपलोड गरी सकेकी थिई । भेट्न आउने सबैले कस्तो ठ्याक्कै आमा जस्तो भन्थे । सरला मक्ख पर्थी । फेसबुक प्रतिक्रिया पनि उस्तै थियो । काटी कुटी आमा गोता, कस्तो आमा जस्तै क्युट ,नाक र आँखा त झन् ठ्याक्कै आमाकै ल हेर.... । ऊ बेला बेला फेसबुकमा लग इन गर्थी र फेसबुकका कमेन्ट हेर्थी । उसो त कमेन्ट आउने बितिकै उसले लाईक ठोक्न भ्याई हाल्थी। तैपनि बेला बेला लग इन गरेर पुन कमेन्ट हेर्थी । जुकेले मल्टी लाइक बटन बना’को भए अरु कति पटक लाईक हान्दी हो । ११औ दिनका दिन पण्डितले नाम “स”बाट जुराउदा सरला कम्ती खुशी भईन । छोराको नाम जुराए “समीप” अर्थात सरलाको “स” र पदम “प” ।

आज सरलाको अर्को खुशी थपियो कारण आज समीपले जानेर नजानेर आमा भन्यो । खुशी हुदै भनी । म यो दिन देख्न कम्ती आतुर थिइन छोरा । पदमतिर फर्केर भनी, देख्यौ! छोराले पहिलो पटक आमा भन्यो । आखिर छोरो कसको? हैन छोरो । उसले चेपारे पारेर छोरालाई म्वाई खाँदै भनी । ....तर मेरो छोरोले पछी चै मामु नै भन्छ है, आमा भन्यो भने त फेरी बाबुलाई साथी भाइले जिस्काउलान नि, तर अहिलेलाई ठिकै छ,.. है बाबु... । उसको चेपारे सिलसिला रोकिएन । छोरोले पनि बुझे जस्तै गरी हिहि गरेर हाँस्द्यो । ऊ अझ मक्ख परी ।

सरला समीपको हरेक आवाज, बोली, चाल ढाल, हिडाई, नखरा आदि इत्यादि सबैमा आफुलाई देख्थी । छोराको सासमा आफु महसुस गर्थी । छोराको चोटमा ऊ रुन्थी, अनि खुशीमा तीन हात माथी उफ्रिन्थी । पदमलाई भन्थी, हेर यो छोरोमा हामी दुबैको आधा आधा रगत छ तर पनि किन हो किन मलाई मेरो चै अलि बढी छ कि जस्तो लाग्छ । पदम मुसुक्क हाँस्थ्यो मात्र ।

समीप बढ्दै गयो । पढ्दै गयो । एसएलसी पास गर्यो र पढ्न सहर पस्यो । छोरो सहर पसे पछि पनि सरला उसंग दैनिक जसो फोनमा कुरा गर्थी । दिनकै हालखबर बुझ्थी । उसो त छोरो र उ फेसबुकमा साथी पनि भैसकेका थिए । फेसबुकमा छोराले राख्ने स्टेटस र फोटाहरुले पनि उसको हालखबर बुझ्न मद्दत गरेको थियो । छोरोले सहरमा के गर्थ्यो उ देख्दिन थिई। तर उसंगको कुराकानी र फेसबुक हेरेर अनुमान लाउथी कि छोरोले राम्रै गरी रा’छ ।

एकदिन सरलाले समीपको फेसबुक देखिन । उसले फेसबुक डिएक्टिभेट गरको थियो । फोन गरी । फोन पनि स्विच अफ थियो । अतालिदै समीपको नजिकको साथी राजलाई फोन गरी र बेली बिस्तार लगाई । उसो त राज र समीपको भेट नभएको हप्ता दिन बढी भै सकेको थियो । राजले सोझै समीपको कोठा गएर कुरा बुझ्ने र सरलालाई फोन गर्ने कुरा गर्यो ।

करीब १ घण्टा पछि सरलाले खबर पाई । समीपले त उनीहरूकै घरपेटी साहुजीको घरमा बिहान बेलुका भाँडा माझ्न सहयोग गर्ने माल्दिदीकी छोरी चन्द्रा बिकलाई तीन महिनाकी दोजिया सहित भित्र्याएछ । खबर सुन्नासाथ फोन काटीदिई र कौसीको गमलामा बडो मिहिनेतले हुर्काएका दुई बोट गोलभेंडामा पानी हाल्दै गरेको पदमतिर धारे लाउदै रिसले मुर्मुरिदै भनी “यस्ताको त सन्तान के गतिलो हुँदो हो ?”

अस्तु !!!!!!      
    


Tuesday, January 6, 2015

शुभानीको करिअर

“शुभानी बिहे गर्ने हैन त अब? अन्डरग्य्राडुएट गरीहालिस, उमेर पनि तेरो र मेरो उस्तै हो केरे, यी मेरो छोरो टुकुर टुकुर हिड्ने भैसक्यो । अब सिंग जुरो पलाउने हैन केरे, के कुरेर बस्छेस ? यो उ गरेर बिहे गर्छु भन्न लागेकी होस् भने बुढीकन्या बस्छेस, यी सब समानान्तर हुँदै जान्छन, सबै कुरा टाइममा गर्न पर्छ, बुझिस्?” सबिनाले अलि अलि जानेको ज्यामितीय भाषा प्रयोग गरेर खर्रर आफ्ना कुरा राखी । शुभानीले झोक्किदै भनी, “भर्खर बुबाको यस्तै गन गन सुनेर यसो मुड फ्रेस हुन्छ कि भनेर यो केटीसंग भेटम भनेर बोलाकी । फेरी यसको नि उही गन गन । हैन यिनीहरुलाई मान्छेको करिअर (Career) सरिअर पनि हुन्छ भन्ने थाहा छैन कि के हो ?” एलिना बेकरीका सबैले सुन्ने गरी कराएको सुनेर सबिनाले चुप लाग्ने इशारा गर्दै भनी । ल भैगो यो टपिक बन्द, भन् के अर्डर गर्ने?

साँझ शुभानी घर गए पछि पनि बुबाको कुरो उही बिहेको । छोरी.. मेरो उमेर कति भयो तिमीलाई थाहा छ? त्यसमा नि दमको रोगी, के भर छ र? अब यहि तिम्रो बिहे त हो । यो गरिदिन पाए मलाई ढुक्क हुन्थ्यो । आरामले सास जान्थ्यो । के तिमी मेरो सास घिटि घिटि भा’को हेर्न चाहन्छेउ ? बरु तिमी जोसंग भन्छौ उसैसंग गरिदिन्छौ । बुबाले एक किसिमको इमोसनल ब्ल्याकमेल गरे । शुभानीले बुबाको अनुहार नै नहेरी भनी। म रातभर सोच्छु र भोली जबाफ दिन्छु ।

शुभानीले रात भर के मात्र सोचिन र? त्यसै पनि उसलाई नानाथरी सोच्न कुनै बहाना मात्र भए पुग्छ । धेरै सोच् पछि उ निस्कर्षमा पुगी । बिहे न हो जोसंग गरी दिंदा नि के नै फरक पर्छ र? आखिर गरी खान आफै सकीहाल्छु, कसैको भर पर्नु पर्ने हैन केरे? बिहे गरे पनि एउटा स्टेटस चेन्ज हुने त हो “ फ्रम अन्म्यारिड टु म्यारिड”, अरु के नै लछारपाटो लाग्ने हो र? अब २५ बर्ख सम्म भोगेको जिन्दगी स्वात्तै अर्को हुने हैन केरे, आनी बानी अर्काको लागि चेंजिने कुरा पनि हैन, जे त होला ।

शुभानीले भोलि पल्ट बुबालाई जबाफ दिई। बुबा म बिहे गर्छु। मेरो कोही केटो छैन ।

पर्सिपल्ट एउटा केटोसंग उसको भेट गर्ने कार्यक्रम बन्यो, घरमै । केटाकेटी दुबैको भेट एउटा कोठामा भयो । शुभानीलाई केटो ल्यांग्रे ल्यांग्रे लाग्यो । तै पनि उसलाई माग्न आउने केटो ठुलै आँट भा’को हुनुपर्छ भन्ने लागेर उसले केटासंग अरु खास कुरा नगरी ओके भनिदीई । केटाले पनि खासै केही सोधेन । कारण उसले पनि बिहे गर्ने मनस्थिति बनाई सकेको थियो । यसै पनि पारिवारिक छनौटमा सोध्नु पर्ने कुरा नै के हुन्छ र? वा भनौ सोधेर नै के हुन्छ र? आफैलाई पिडा दिनु बाहेक । उसको एउटा मात्र चाहना थियो । कुनै इतिहास भए बिर्सेर आओस र घर राम्रो बनोस, बस । त्यसमा किन हो कुन्नी उ कसो कसो कन्भिन्स थियो र कुनै कुरा सोध्ने कुचेस्टा गरेन ।

बिहे गरेको भोलीपल्ट शुभानीले भर्खरै बिहे गरेको पति साइनो लाउन पर्ने त्यो केटालाई भनी । “भर्खर दाजुले फोन गरिसेको थियो । भन्दै होइसिन्थ्यो कि पढाईको चिन्ता नगर । बिस्तारै सबै राम्रो हुन्छ । घर बस्नु ठुलो कुरा हो । त्यो चै ख्याल गरेस् ।" बुझेउ दादालाई मेरो पढाई र करिअरको कति चिन्ता छ । शुभानीले दादाको कुराको अर्थ लगाई कि अनर्थ राम जाने तर पति पवनले अनुमान लगायो कि शुभानी पढ्न चाहन्छे वा भनुम उसकै भाषामा करिअर बनाउन चाहन्छे । उसले कुनै रोकटोक गर्न चाहेन । उसकी पत्नी शुभानीलाई उसले चाहे अनुसार करिअर बनाउन दिनु नै बुद्दिमता देख्यो र भन्यो मैले तिम्रो कुरा बुझें,भलै पवनले बुझेको करीअर अर्कै थियो । शुभानीले पवनको अरु भावभंगी बुझ्ने चेस्टा गरिन। खुसी वा दुख केही व्यक्त गरिन । धन्यबाद पनि भनिन वा भन्न आबश्यक ठानिन । उसलाई त केवल उ आफैद्वारा परिभाषित करिअरको चिन्ता थ्यो। बिहे चै एउटा बाध्यताको एउटा ट्याग, जुन उसंग अब छदै थियो ।

झन्डै एक दशक समय बित्यो । सुभानीले उसकै भाषामा उसले छानेको करिअर बनाउदै गई । शुभानीको पति पवनको समय अफिस र घर धाउदै बित्यो । उसो त उसका जिम्मेवारी र कर्तब्य पनि थिए । बस पति र बाउ हुनुको जिम्मेवारी र कर्तब्य उसले बुझ्न वा बोध गर्न सकेको थिएन वा भनौ पाएको थिएन । एक दिन अचानक सुभानी र सविनाको फेरी एलिना बेकरीमा भेट भयो । भर्खर ना.सु.पदमा मा बढुवा भएकी सबिना आफ्नो १२ बर्से छोरो, १० बर्से छोरी र बैंकर पतिसँग १५ बर्खे म्यारिज एनिभर्सरी मनाउदै थिई भने यता शुभानी चै रिसर्च स्टुडेन्ट मेटसंग ग्रुप मिटिंगमा । सारीमा सजिएकी सबिनासंग सानो हाते ब्याग थियो भने जिन्स र स्पोर्ट्स सुज संग रमाएकी शुभानीसंग पछाडी एउटा लामो झोला अर्थात क्यारियर (Carrier) थियो ।


अस्तु !!!!!!

Monday, January 5, 2015

धनीराम र उनको ट्रक

धनीराम संग यो विन्टरमा एउटा ट्रक थियो सवारीका लागी । उसो त यो ट्रक उनले रहरले हैन बाध्यताले किनेको थिए, $५०० मा, ग्रोसरी जानको लागि । किनकि यहाँ सार्बजनिक सवारी साधन फिटिक्कै पाइदैन । यो हिउँमा १० मिनट परको वाल्मार्ट बाट हिडेर ग्रोसरी गर्न कम कस्ट हुन्छ र? समरमा त उनले र उनकी श्रीमती धन कुमारीले जसो तसो हिडेरै काम चलाएका थिए तर विन्टरको कस्ट पार लगाउन भने धनीरामले यो जोहो गरेका थिए ।

गाम्ले सबैले थाहा पाएका थिए कि धनीरामसंग ट्रक छ । त्यसैले केहि सानो ठुलो सामान यता उता गर्न पर्यो कि धनीरामको ट्रक सम्झिन पुग्थे । धनीराम पनि कसैले सम्झेर फुनाए भने खाँदा खाँदै को भातको गाँस छोडेर पनि हाजीर भै हाल्थे । गाउँलेको मर्का बुझ्न सकेकोमा मक्ख पर्थे । उसो त गाउमा अरुका पनि साना तिना गाडी नभएका हैनन तर गाडी हुने/नहुनेले सबैले किन हो किन धनीरामलाई नै सम्झिंथे । गाउँमा कोही नयाँ आए भने पनि सामान ओसार पसार गर्न सबै जसो धनीरामकै ट्रक सुझाउथे, उनी जहाँ जत्खेर पनि हाजीर भैहाल्थे ।

धनीराम $५०० को यो ट्रकसंग खुशी थिए किनकी यही ट्रकले धनीरामलाई उसकी दोजिया श्रीमतीलाई अस्पताल लान ल्याउन सजीलो बनाएको थियो । र यही ट्रकको सहयोगमा घरमा लक्ष्मी पनि भित्र्याएक थिए, छोरीको रुपमा । यता ट्रक र धनीरामले गाउँको सेवा गर्न जत्खेर पनि हाजिर हुन जाँदा कहिले काँही उनकी श्रीमतीलाई लाग्थ्यो कि यो ट्रक नभईदेको भए नि अलि आनन्द त हुन्थो कि? छोरीले पनि अलि चाकर पाउथिन कि? तर धनीरामलाई यो कुराले खासै छुदैन थियो । धनीरामलाई लाग्थ्यो कि यो ट्रक कारण नै सही, उनले गाम्लेको सेवा गर्ने मौका पाएका छन् अनि थोर बहुत इस्ट मित्र कमाउन पाएका छन् । उनलाई मान्छे कमाउन पाउनु जतिको आनन्द धन कामाउनुमा लाग्दैन थियो । त्यसैले धनीराम र ट्रकको जोडा खुब मिलेको थियो मामलामा ।

हरेकी चिजको सिमित आयु न हुन्छ । जति चाकर गरे पनि बुढो ट्रक एक दिन थला पर्यो । धनीरामलाई पीर पर्यो । मर्मत गरुम कि साल्वेजमा दिम कन्फ्युज भयो । उनले श्रीमतीको र सानी छोरीको तोते बोलीको सल्लाहमा आखिर ट्रक साल्वेज्मा दिए र सानो कार किने । गाम्लेले यो कुरा अलि पछि मात्रै थाहा पाए ।

अचेल धनीराम संग त्यो ट्रक छैन । तर हरेक गाम्लेले धनीरामलाई सानो तिनो कार्जे, बर्थडे,मिठो मसिनो खाना खाँदा वा भनौ मोमो खाँदा उनलाई र उनको परिवारलाई कहिल्यै कसैले छुटाउदैनन । धनीरामलाई थाहा छैन यो उनको कमाइ हो कि त्यो बुढो ट्रकको? कारण जे भए पनि अहिले ऊनी सानी छोरी र श्रीमतीजीलाई सानो गाडीमा राखेर गाम्लेकोमा उपस्थित हुन भ्याई नभ्याई हुन्छ, निम्ता मान्न ।

अनि ......


छोरी पनि मक्ख बाबु झनै मक्ख!!