Saturday, March 28, 2015

आरोहको पहिलो बार्षिक जन्मदिन मनाउदा

 तारिखको हिसाबले छोरो आरोहको जन्मदिन आज। गतेको हिसाबले जन्मेको भन्दा १ दिन बढी भैसकेछ ।तिथिको हिसाबले चैत्र ४ गते अर्थात मार्च १८,आज भन्दा १० दिन अगाडी नै हुन पर्ने । थाहा छैन कुन हिसाबले गणना गर्ने हो। तर सबैको चलन यही छ कि तारिखको हिसाबले नै गणना गर्ने र जन्म दिन मनाउने।

उसो त यो जन्म दिन मनाउने नै किन? भन्नेमा मलाई खास कारण नै थाहा छैन । आजका दिन सम्म सकुसल बाँचियो भनेर हो कि वा एक बर्ष मृत्युको नजिक पुगिएर यो सांसारिक दुखबाट चाडै मुक्ति मिल्ने भएर हो कि वा अरु नै कुनै खास कारण छन् । मलाई कारण खास थाहा भएन । यद्दपी मेरो अनुमानमा जन्म दिन मनाउनु भनेको
१. आफु खुशी हुन वा खुसी हुन बहाना खोज्न।
२. आफ्नो जन्मको कारणले अरुलाई खुसी दिन ।
३. जन्म दिन मनाईएको कारणले अरुलाई खुशी हुन ।

खासमा भन्नुपर्दा मलाई यो जन्म दिन मनाउने कुरा मलाई त्यति मन पर्दैन । एउटा खास उमेर बाहेक अरु कसैलाई पनि उति रमाइलो होला जस्तो लाग्दैन । उसै पनि यो खुसी भएर मनाउनु पर्ने नै किन हो अहिलेसम्म मैले बुझेको छैन । मैले खास उमेर किन भनेको हो भने कि एउटा उमेर आउछ रमाइलो गरौँ,साथी भाई होउन,सबैले मजाक गरुन,भेला हुन्,आफना नातागोताले सम्झिउन,अलिकति भए पनि गिफ्ट आओस भन्ने । हो त्यो उमेरमा जन्म दिन मनाउनुको मजा अलि बेग्लै हुन्छ होला । अनि अर्को चरण हुन्छ बुढ्यौलीको। जुन उमेरमा आफ्नाले सम्झिउन,छोरा छोरी,नाति नातिना नजिक आइदिउन वा मेरा पनि आफन्त छन् भन्ने एउटा अनुभूति होस्। अनि त्यसले जीवनमा उर्जा र सन्तोष दुवै प्रदान गरोस । यो दुवै उमेरमा जन्म दिन मनाउने कुराले अलि खास महत्व राख्ला । बाँकी जीवनमा मलाई चै खासै मजा होला जस्तो लागेको छैन,कम्तीमा मेरा लागि । हुन त मेरो जीवन भोगाइमा त्यो बाँकी उमेरको रस नै बस्न सकेन होला कि त जिम्मेवारी र कर्तव्यले  जसले गर्दा यो वा त्यो बहानामा रामाउने कला नै म मा रहेन कि त। खयर त्यो अर्कै पाटो हो ।

मेरो १ बर्षे बालखा छोरोमा माथिका १ नं र २ नं  दुवै कारण लागु हुदैनन,जन्म दिन मनाउनको लागि । आफु खुसी हुने वा खुसी हुने बहाना खोज्ने उमेर  त्यसको भएकै छैन। आफुले जानेर अरुलाई खुसी दिने उमेर पनि पनि त्यसको भएको छैन । नजानीकन अबोध हाँसो वा अभिनयले अरुलाई खुसी दिन्छ वा हुन्छन भने त्यो अबोधको बशको कुरा भएन । आफैं अलि बुझ्ने वा विवेक प्रयोग गर्न सक्ने भए पछि उसले कुन कारणले जन्म दिन मनाउछ उसको मर्जी तर अहिले अब बाँकी एउटा मात्रै कारण रह्यो जन्म दिन मनाउने वा मनाई दिने, तेश्रो कारण। उसको जन्म दिन मनाएर वा मनाइदिएर अरु खुसी हुनु खास गरेर बुबा आमा । त्यसैले यहीं तेश्रो कारण खोजेर अर्थात हामी खुसी हुनका लागि उसको जन्म दिन मनाउने।

मनाउन त मनाउने तर कसरी ? मलाई खुसी दिने कुराले उसकी आमालाई खुसी नदिन नि सक्छ अक्सर दिदैन नै किनकी हाम्रो स्वभाव नै त्यस्तै छ । एक हप्ता अघि उसले सोधी छोराको जन्म दिन कसरी मनाउने ? मैले भने खै थाहा छैन । उ ठुस्की । खासमा मैले थाहा नभएर नै थाहा छैन भनेको थिएँ । तर पनि आरोहकी आमाले खास खास मान्छेलाई बोलाएर ,खाना खान दिएर, गिफ्ट लिएर/दिएर र फोटो खिचेर मनाउने विचार गरी। मैले त्यसलाई यो कारणले हुदैन  भन्ने कारण नै थिएन । कार्यक्रम स्वीकृत भयो । उसले मन लागेका मान्छेलाई बोलाई,खुवाई,फोटो खिचाई । राम्रै भो । जन्म दिन आयो गयो सक्कियो ।

यता मलाई भने यही बहानामा अर्को खुसी खोज्नु थियो।अलि अविस्मरणीय बनाउनु थियो । अलि अगाडिको घटना सम्झे ।

अलि अस्ति नै ताकाको कुरा हो । एक जना मित्रले ट्वीटरमा यस्तै आशयको ट्वीट गरेका थिए: "कुनै महिला अर्काको घरमा भाँडा माझेर छोरी पढ़ाउदी रैछन,छोरीले नर्सिंगमा नाम निकालिछन् तर पढ्नका लागि आर्थिक अभाव रेछ, कुनै उपायले सहयोग गर्न पाए कति राम्रो हुन्थ्यो" । कता कता मलाई चिसिक्क भो अनि मैले भने म अलिकति सहयोग गर्न सक्छु । म जस्तै हृदय भएका अरु २-४ जना जम्मा भएछन । ती मित्रले अगुवाई गर्नु भो र ती महिला सम्म कुरा पुग्यो । हामी जस्तै कुनै सहृदयीले भर्ना गर्ने खर्च करीब ७० हजार हो क्यारे दिएछन तर मासिक खर्चको जोहो गर्न गाह्रो भएको कुरा ती दिदीले गरिछन । हाम्लाई पनि हाम्रो गच्छे अनुसार त्यती हुँदा झन् राम्रो भयो । त्यही महीना देखी मासिक ४००० जति पालै पालो दिने सहमति भो । मेरो पालो चैत्रमा परेको थियो । सम्झेको थिए यही नै मेरो छोरोको जन्म दिनको उपहार हुनेछ । त्यही मेरो दिमागमा थ्यो । तर श्रीमतीजीले सोधेको बेला भुसुक्कै बिर्सेछु भन्न ।

अर्को घटना
यो घटना पछि तर अलि अगाडी नै यसो समाचारमा आँखा लगाउदै जाँदा यहाँनिर [ नेपालगञ्ज बसपार्कमा देखियो दारुण दृश्य (चैत्र ६ २०७१ मा प्रकासित)] गएर टक्क अडियो । मनै अमिलो भयो । केही सहयोग गर्न मन आतुर भयो । तर म यहाँ सात समुद्र पारी । के गर्ने कसो गर्ने हुदै जाँदा तिनै मित्रलाई मेसेज गरें । उनले तत्काल खबर गरे कि "त्यो खबर लेख्ने मान्छे मैले चिनेको छु, के रैछ म बुझेर खबर गर्छु" । मन अलि ढुक्क भो । अलि दिन पछि खबर आयो कि उपचार हुदैछ । अरुले पनि सहयोग गरी रहेका छन् । मैले नगद भन्दा पनि औषधी किनीदिए राम्रो भन्ने उनको सुझाव थियो । मैले भने, जे राम्रो हुन्छ म गर्छु । त्यो कुरा त्यतिकै रही रहेको थ्यो । ठ्याक्क आज मित्रले मेसेज गरेर भने "बच्चो राम्रो हुदैछ । औषधी खर्च रु १०००० जति रैछ सहयोग गर्न सक्नुहुन्छ?" मैले हत्त न पत्त हुन्छ तर कसरी भनें। मित्रले उपाय सुझाए ।

मित्रले दिएको सुझाव अनुसार आज उनलाई  करीब उनैले भने जति रकम पठाएं । सोचें पछि छोरो आफै कुरा बुझ्ने भए पछि कुन कारणले कसरी उसको जन्म दिन मनाउछ उसको मर्जी तर मैले (र उसले पनि) उसको पहिलो जन्म दिन उसकी एउटी दिदीलाई पढ्ने खर्च र एउटा दाजुको उपचारको सानो अंश पठाएर मनाएँ,मेरा लागि मेरो छोरोको जन्म दिन तेश्रो कारणले मनाएँ अर्थात् उसको जन्म दिन मनाउदा अर्को खुशी भेट्टाए । र मनमनै ती भविष्य कि नर्सको उत्तरोतर प्रगति र त्यो बालकको स्वास्थ्य लाभको कामना गरें । आशा छ मेरो आरोहसंगै ती दुबैको भविष्य सुन्दर हुनेछ ।

अँ साच्ची मलाई मागेर समाज सेवा गर्नेहरु फिटिक्कै मन पर्दैन। मेनुका थापा, जो मेरो फेसबुक साथी पनि हुन्,ले सानो तिनो माग्ने पसल थापेकी छन्। राम्रो पनि गरेकी छन् । बेला बेला फेसबुकमा कुरा हुन्छ। आज उनलाई सम्झीए। सोचें पछि आरोह जे सुकै गरोस,आज उनलाई पनि सम्झिन्छु । त्यसैले मनिग्राम गएर अर्को $२०० पठाएँ र भने यो तपाईका बच्चालाई। तर मेरो नाम कही कतै नआओस । उनले स्विकारिन। र धन्यबाद पनि दिइन। कुनै दिन आरोह आफै बुझ्ने हुनेछ र मेनुका आन्टिलाई भेट्न मन लागे भेट्नेछ।

अस्तु !!!!

पुन:
आज अर्थात चैत्र २६ गते,२०७१ (अप्रिल ६,२०१५ ) का दिन यो समाचार(समाचार प्रभावः उपचारपछि घर फर्किए रुपेन्द्र) पढें।सार्है खुशी लाग्यो । १२ बर्षका रुपक घर फर्केछन् । मैले नाम उल्लेख नगर्न भनेको थिएँ । मान्ठा साबले (डाक्टर बद्री चापागाईं) ले राम्रो गर्नु भएछ,मेरो नाम उल्लेख गर्न दिनु भएनछ  । मेरो बिचारमा सहयोग वा दान दिने भनेको कुनै शर्त राख्नु वा आफु ठुलो छु वा मैले यसो गरेको छु भनेर दुनियाँलाई देखाउन हैन । कम्तिमा मलाई यो चाहना छैन । मेरो एउटा मात्रै चाहना छ कि पछि आरोह ठुलो भए पछि यो समाचार हेरोस र आफै बुझोस् । अहिलेलाई रुपेन्द्र घर गएर राम्ररी गरी खान सकुन । उनको भविष्य राम्रो बनोस ।
शुभकामना!!!


अस्तु !!!!




No comments:

Post a Comment