1. भूपी सदैव भन्थे, मलाई दुईटा क ले बिगार्यो, कम्युनिष्ट र कविता ।
2. भूपी पोखरा बस्दा एउटै ब्राण्डको चुरुट पिउँथे, त्यो चुरुट थियो क्यारबेन ।
3. भूपी शुरुमा झूर कविता लेख्थे , उनको सारीभित्र नारी कविता पढेपछि उनलाई पोखरामा पढाउँदै बसेका कवि भीमदर्शन रोकाले हप्काएछन्, “ यस्तो वाहियात कविता पनि लेख्यौ भने तिमी म¥यौ । सक्छौ भने......लेख नभए बन्द गर । ”
4. भीमदर्शन रोकालाई भेटेपछि मात्र भूपीले उत्कृष्ट कविता लेखे जसमध्ये धेरै कविता घुम्ने मेचमाथि अन्धो मान्छे मा संगहित छन् ।
5. भूपी र अम्बर गुरुङ घनिष्ठ मित्र थिए तर दुवैको जीवनमा हाकिम र कर्मचारीको दूरी सदैव रह्यो ।
6. भूपीले नाटक पनि लेखेकाछन् , परिवर्तन ।
7. भूपीको वास्तविक नाउँ भूपेन्द्रमान शेरचन भनिए पनि उनको पहिलो नाउँ भाग्यमान शेरचन हो जुन चलनचल्तिमा आएन ।
8. भूपी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुँदै अनेक रोगले सताइएका थिए पछि उनको मानसिक रोग पनि बढ्दै गयो त्यस्तो वेला उनी एउटा गीत गाउँथे, उता कोठामा राजको सिआइडी छन् ...हामी अब भाग्नुपर्छ , भाग्नुपर्छ ।
9. त्यतिवेलाका हरेक साहित्यकार (जस्तो माधव घिमिरे, शंकर लामिछाने, यादव खरेल, राममान तृषित ) को जस्तै भूपीका पनि दुई पत्नी थिए, सजातिय र राणा थरकी ।
10. भूपीका दुई पत्नीबाट दुई छोरा मध्ये दुवैलाई गायनमा असाध्य रुचि छ ।
11. भूपीको पछिल्लो कविता संग्रह भूपी शेरचनका कविताहरु को सम्पादन शिव रेग्मीले गरेका हुन् , संयोगले यसको पहिलो संस्करणमा भूपीको नभएर तीनओटा कविता अरु स्रष्टा बालकृष्ण सम, ईश्वरवल्लभ अनि नगेन्द्र थापाको परेका थिए –यस पंक्तिकारले त्यो त्रुटि देखाएपछि साझाले पछि सच्याएको पाइन्छ ।
12. भूपी कविता राम्रो लेख्ने भएपनि गीतमा उनको मिटर गडबड हुन्थ्यो ।
...
13. भूपीको सेन्स अफ् ह्युमर बेजोड थियो , उनी भन्थे, जब गीत हुन्छ अगमको संगीत अम्बरको , तब हुन्छ गीत एक नम्बरको ।
14. भूपी शंकर पत्नी रत्ना लामिछानेले फ्राइ गरेको आलु खाँदा सँधै भन्थे, मलाई यो आलु भाउज्यू जस्तो र सिन्का शंकर दाइ जस्तो लाग्छ ।
15. भूपीको डेरा प्यूखा टोलमा पाँच तल्लामाथि थियो , उनी घर पस्ने वित्तिकै सब...भन्दा पहिले झ्याल बन्द गर्थे । कारण, रक्सीको मातमा कुनै समय झुक्किएर झ्यालबाट बाहिर नगइयोस् भनेर ।
16. भूपीका ठूली छोरी संगीता विमानसेवा सित आवद्ध थिइन् भने कान्छी छोरी कविता नेपालमा एफएम शुरु हुँदा एफएमसित आवद्ध थिइन् ।
17. भूपीको पछिल्लो प्रेमप्रसँग एउटी गायिकासित लामो समय चल्यो तर त्यो विवाहमा परिणनत हुन सकेन ।
18. भूपीले आफ्नो किताबको नाउँ आफ्ना एक भान्जालाई उपहारस्वरूप नामाकरण गरिदिए , त्यो नाउँ हो निर्झर । निर्झर अहिले थकाली भान्छाघर सञ्चालनमा व्यस्त छन् ।
19. धेरै शेरचन साहित्यकारहरू भूपीलाई आफन्त भन्छन् तर कसैले भूपीलाई त्यो उँचाईमा चिनेकै थिएनन् । भूपीको चर्चित कृति घुम्ने मेचमाथि अन्धो मान्छे शंकर लामिछानेको ताहाचलको घर को ८ बाई ८ कोठामा रचिएको र वाचन गरिएको हो अनि पछि यो रुपरेखामा विशेष अंकको रुपमा प्रकाशित भएको हो ।
20. भूपीले अम्बर गुरुङको परिचय शंकर लामिछानेसित गराइदिए , शंकर लामिछानेले पारिजातको परिचय भूपीसित गराइदिए ।
21. भूपीका प्रायः गीतमा नातिकाजी, शिवशंकर र गोपाल योञ्जनले गाएका छन् भने सर्वाधिक चर्चित गीत अल्झेछ क्यारे पछ्यौरी पहिले नारायणगोपालले संगीत गरेको भए पनि पछि गोपाल योञ्जनको संगीतमा रेकर्ड गरियो ।
22. यो नेपाली शिर उचाली संसारमा लम्कन्छन् भन्ने भूपीको गीत रेकर्ड हुँदा नेपाली जाति अमेरिका, अष्ट्रेलिया जान थालेका थिएनन् ।
23. भूपी र हरिभक्त कटुवाल निकै निकट थिए, भूपी अरुसित उनको परिचय गराउँदा यसो भन्थे, उहाँ कट्टुवाल , म चैँ पाइन्टवाल ।
December 2012
No comments:
Post a Comment